कोरियाली भाषा उत्तीर्ण रोष्टरका युवाले सेवा क्षेत्र परिवर्तन गर्न पाउँने

29 Apr, 2024

कोरियाली भाषा परीक्षा उत्तीर्ण भई रोस्टरमा रहेका युवाले आफ्नो सर्भिस सेक्टर (सेवा क्षेत्र) परिवर्तन गर्न सक्ने भएका छन्।

इपिएस कोरिया शाखाले शुक्रबार एक सूचना जारी गर्दै कृषि तथा पशुपालन र उत्पादनमूलक क्षेत्रतर्फ रोस्टरमा रहेकाहरूले सेवा क्षेत्र परिवर्तन गर्न सक्ने जनाएको हो।

सूचना अनुसार रोस्टरको अवधि २०२४ डिसेम्बर ३१ भित्र समाप्त हुने इच्छुक व्यक्तिहरूले रोस्टर परिवर्तन सक्नेछन्।

मानव संसाधन विकास (एचआरडी) कोरियाले रोस्टर परिवर्तन गर्न सक्नेहरूको नामावलीसहितको तालिका बिहीबार पठाएको इपिएस कोरिया शाखाले जनाएको छ। शाखाका अनुसार ९ हजार ४ सय २८ जनाको नाम प्राप्त भएको छ।

इपिएस कोरिया शाखाको सूचना अनुसार कसैले पहिले नै रोजगारदाताले करार सम्झौता गरिसकेको वा रोस्टर अवधि समाप्त भइसकेको वा कुनै कारणले अयोग्य भएमा सेवा क्षेत्र परिवर्तन गर्न भने पाइने छैन। सेवा क्षेत्र परिवर्तन गरिए पनि रोस्टरको अवधि भने थप हुने छैन। अघिल्लो रोस्टरको बाँकी अवधि बराबर नै हुने सूचनामा उल्लेख छ।

त्यस्तै भाषा परीक्षा पास गरेर कोरिया जान पर्खेर बसेका हजारौँ युवाहरुले आफूहरूको समस्या समाधानका लागि पहल गर्न श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याललाई अनुरोध गरेका थिए। गुनासो प्राप्त भएपछि श्रम मन्त्री अर्यालले कोरियाका सम्बन्धित निकायका पदाधिकारीसँग पटक पटक छलफल गरेका थिए।

कोरिया जान पर्खेर बसेका हजारौँ युवा तथा सरोकारवालाहरूले नेपाल सरकारको यस प्रकारको पहलकदमी तथा कोरिया सरकारको निर्णयलाई सकारात्मक रुपमा लिनुपर्ने प्रतिक्रिया दिएका छन्।

पछिल्लो पटक बुधवार मात्रै मन्त्री अर्यालले एचआरडी कोरिया मुख्यालयका प्रतिनिधि, एचआरडी कोरियाका नेपाल प्रतिनिधि, इपिएस शाखा र कोरिया रिटर्नी एवं रोस्टरमा रहेकाहरूबिच छलफल गराएका थिए। सो छलफलमा कोरिया पक्षले शीघ्र निकास निकाल्ने प्रतिबद्धता व्यक्त गरेको थियो। त्यसको भोलिपल्ट (बिहीबार) नै कोरिया पक्षले रोस्टर परिवर्तन गर्न सकिने निर्णय गरेको हो।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024