कोरियन भाषा परीक्षा सुरु

3 Jun, 2022

काठमाडौँ, जेठ २० गते । रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत कोरिया जान लिइने कृषि तथा पशुपालन क्षेत्रको भाषा परीक्षा बिहीबारदेखि सुुरु भएको छ । वैदेशिक रोजगार विभाग ईपीएस शाखाले पहिलो चरणमा कृषितर्फ १० हजार ८५८ आवेदकको परीक्षा सुुरु गरेको हो । भाषा परीक्षा तीन सिफ्टमा युबीटी (युविक्युट्स बेस टेस्ट) ट्याबमार्फत गरिएको छ ।

यसअघिको भाषा परीक्षा पेपर बेस टेस्ट (पीबीटी) रूपमा गरिँदै आएको थियो । सो शाखाका अनुसार बुधबार नै बायोमेट्रिक लिइसकेका परीक्षार्थीलाई बिहीबारको परीक्षामा सामेल गराइएको हो । तीन सिफ्टमा सञ्चालित परीक्षामा प्रत्येक सिफ्टमा दुई सयको दरले छ सय जना सहभागी भएका छन् ।

दक्षिण कोरियाले ईपीएसअन्तर्गत विगत पाँच वर्षयताकै सबैभन्दा बढी श्रमिक नेपालबाट लैजाने गरी पहिलो छनोट चरणको भाषा परीक्षाको आवेदन माग गरेको थियो ।ईपीएस शाखाका अनुसार सन् २०२२ मा ईपीएसमार्फत कोरिया जानका लागि ४४ हजार ८५३ जनाले आवेदन दिएकोमा कृषितर्फ १० हजार ८५८ र उत्पादनमूलक क्षेत्रमा ३३ हजार ९९५ जना रहेका छन् ।

सन् २०१९ पछि दुुई वर्ष रोकिएको भाषा परीक्षा सन् २०२२ का लागि नौ हजार ६५४ जनालाई छनोट गर्ने योजनासहित वैशाखबाट गर्न आवेदन माग गरिएको थियो ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024