कुम्भराज राई
ओखलढुंगा — मानेभन्ज्याङ गाउँपालिका–३ केतुकेका डिकबहादुर तामाङ जब कोइलाखानीको कथा हाल्न थाल्छन्, तन्नेरीहरू उनको वरिपरि झुम्मिन थाल्छन् । वैदेशिक रोजगारीमा जाने तरखरमा रहेका युवासँग गफिँदा उनी मेघालयको कोइलाखानीका संघर्ष मात्रै सुनाउँदैनन्, रमाइला किस्सा पनि जोड्छन् ।
काम खोज्दै मेघालय पुगेका उनी सात वर्षसम्म उतै हराएका थिए । भारतीय सेनामा भर्ती भएका कान्छो छोरा कडकबहादुर खोज्दै नगएको भए फर्किने थिए, थिएनन्, भन्न सकिन्न ।
डिकबहादुर त्यसै मेघालय सोझिएका थिएनन् । २०४५ को भूकम्पले घर तहसनहस बनाइदियो । ऋण काढेर जसोतसो घर बनाए । त्यही ऋण तिर्न उनलाई मेघालय जानैपर्ने बाध्यता पर्यो । गाउँकै दुई दौंतरीलाई लिएर उनी कोइलाखानीतर्फ लागेका हुन् । केतुकेदेखि पैदलै उनको टोली एकै दिनमा उदयपुरको कटारी पुग्यो । दोस्रो दिन तावाखोला बगरैबगर ट्रक चढेर सिरहाको मिर्चैया हुँदै सोही साँझ काँकडभिट्टा पुग्यो । २४ घण्टाको बस यात्रापछि तेस्रो दिन उनीहरू मेघालय राज्यको कोइलाखानी ओर्लिए । कोइलाखानीको यात्रा डिकबहादुरको पहिलो थिएन । २०३४ र २०३९ मा दुई पटक ६–६ महिना काम गरी फर्किएका थिए । घर बनाएको ऋण तिर्ने पैसा कमाएर फर्किने सपना बोकेर तेस्रो पटक कोइलाखानी पुगेका उनलाई उतै रस बस्यो । सात वर्षसम्म घरपरिवारसँग सम्पर्क गरेनन् ।
अचानक एक दिन डिकबहादुर बसेको क्याम्पमै उनका कान्छा छोरा कडकबहादुर देखापरे । छुट्टीमा घर हिँडेका कडक धरानमा झोला राखेर बाउ खोज्न मेघालय पुगेका थिए । ‘छोरा खोज्दै आएपछि २०५५ सालमा घर फर्कें तर एक पैसा नि ल्याइएन,’ डिकबहादुर भन्छन्, ‘उता बसुन्जेल मोजमस्ती मात्रै गरियो ।’
त्यतिखेर कोइलाखानीमा काम गर्ने बंगाली, आसामी र नेपाली हुन्थे । दुई–तीन तहमा कोइला काट्नुपर्थ्यो । डिकबहादुरका अनुसार सबैभन्दा तलको कोइला काट्ने कामलाई बाक्सा कटिङ भनिन्छ । तल्लो तहमा काम गर्नेले पैसा पनि धेरै कमाउँथे । तर शारीरिक रूपमा कठिन र जोखिम बढी हुन्थ्यो । सबैभन्दा माथिको तह जमिनदेखि २० फिट जति गहिरो हुन्छ, त्यसलाई सहायक कटिङ भनिन्छ । कामदारले एक बाक्सा कोइला निकालेपछि दुई सय भारतीय रुपैयाँ पाउँथे । ठूलो ठेला गाडीको आठ गाडी बराबर एक बाक्सा हुन्थ्यो । ‘दिनमा एक बाक्सा कोइला भर्नु निकै कठिन हुन्छ । कोइलाको तह थोरैमा एक फिटदेखि बढीमा अढाई फिटसम्म हुन्छ । मोटो तह कोइला हुने ठाउँमा थचक्क बसेर काट्नु सजिलो हुन्छ । पातलो तहमा निहुरेर, सुतेर काट्नुपर्छ,’ उनी सुनाउँछन्, ‘कोइला काटेर खानीदेखि निस्कँदा शरीरभरि पोतिने कालो रङले आफ्नै साथीभाइ चिन्न नि गाह्रो हुन्थ्यो ।’ पहिले हातैले कोइला खन्ने चलन भए पनि पछिल्लो समय माइनिङ गरिन्छ ।
मानेभन्ज्याङ गाउँमा खोजी हिँड्ने हो भने मेघालयको सम्झना बोकेर आएका थुप्रै बुढापाका भेटिन्छन् । कतिपयले त आफन्त उतै गुमाए । डिकबहादुरकै सहोदर भाइ बुद्धिलाल तामाङ पनि मेघालयमै हराएका थिए, १० वर्षअघि उतै बितेको खबर मात्रै आइपुग्यो । उनका ज्वाइँ रामबहादुर तामाङ पनि ३० वर्षदेखि कोइलाखानीबाटै बेपत्ता छन् ।
कोइलाखानी क्षेत्र खसिया जातिको बाहुल्य भएको ठाउँ हो । जहाँ पुरुषको भन्दा महिलाको वर्चस्व चल्ने बुढापाका बताउँछन् । मेघालय बसेर फर्केका मानेभन्ज्याङ–३ कै मुगाधन तामाङले मिहिनेती हुने भएकाले खसिनीले नेपाली केटा बिहे गर्ने गरेको बताए । ‘नेपाली पुरुषहरू खसिनीसँग बिहे गरिसकेपछि हतपती फर्केर आउन सक्दैनन्,’ उनी भन्छन् । डिकबहादुरका अनुसार कतिपय नेपाली कमाएको पैसा मदिरा र मोजमस्तीमा उडाएर उतै जिन्दगी बिताइदिन्छन् ।
सिद्धिचरण नगरपालिका–९ ज्यामिरेका मेखबहादुर खड्काले बहिनीको बिहे मानेभन्ज्याङ–२ बाक्साका भक्तबहादुर कार्कीसँग गरिदिए । बिहे गरेकै साल कोइलाखानी गएका कार्की १२ वर्षसम्म फर्केनन् । ज्वाइँ फर्किने छाँटकाँट नभएपछि खोजी गर्न मेखबहादुर पनि मेघालयतिर लागे । २०५३ को यो घटना उनी अझै सम्झिन्छन् । उनी कोइलाखानी पुग्दा नेपालीको ठूलो संख्या थियो । त्यहीबीचमा उनले ज्वाइँलाई भेटे । ‘म लिन नगएको भए सायद घर फर्किने थिएनन् होला,’ उनी भन्छन्, ‘धन्न बेलैमा पुगेर ल्याइयो, बहिनीको घरपरिवार अहिले राम्रो छ ।’
डिकबहादुर कोइलाखानी जाने समय वैदेशिक रोजगारका विकल्प थिएनन् । कि त भारी बोकेर जीविका चलाउनुपर्थ्यो, कि कोइलाखानी जानुपर्थ्यो । प्रत्येक गाउँबाट कम्तीमा १० देखि १५ जना कमाउन कोइलाखानी गएकै हुन्थे । वैदेशिक रोजगारीका लागि साउदी, कतार, मलेसियाजस्ता देशमा विकल्प सुरु भएपछि मेघालय जाने क्रम घट्न थाल्यो ।
डिकबहादुरकै जेठो छोरो तिलकबहादुर दुई पटक साउदी र मलेसिया गए । खाडी जानका लागि खर्च गर्न नसक्ने र छोटो अवधिमा पैसा कमाएर फर्किनका लागि अहिले पूर्वी पहाडबाट सिक्किम, कालिम्पोङ जाने प्रचलन बढेको छ । ‘कालिम्पोङतिर भारी बोक्नका लागि हाम्रो गाउँबाट पुरुषहरू जान थालेका छन्,’ चिशंखुगढी गाउँपालिका–२ पोखरेका बलबहादुर परियारले भने, ‘त्यहाँका बजारमा भारी बोक्न बर्सेनि सिक्किम, कालिम्पोङ जानेहरू बढेका छन् ।’
ओखलढुंगाको मानेभन्ज्याङ, सुनकोसी, चम्पादेवी, मोलुङ, चिशंखुगढी क्षेत्रका धेरैजसो आदिवासी जनजाति समुदायका पुरुष कोइलाखानी जाने गर्थे । पूर्वमा सबैभन्दा बढी भोजपुरका युवा कोइलाखानीमा भेटिन्थे । ताप्लेजुङ, संखुवासभा, पाँचथर र उदयपुरतिरका पनि हुन्थे । कोइलाखानीका कथा अब बिस्तारै विस्मृतिमा जाँदै छन् । बरु नयाँ पुस्ताले खाडी र मलेसियामा दुःख बिसाउँदाका कथाहरू सुनाउन थालेका छन् ।
डाँडामा समाधिस्थल
चिशंखुगढी–३ का अशोक थापाले २०६३ मा मेघालयका एक साथीलाई गाउँ घुमाउन ल्याएका थिए । विराटनगरदेखि विमान चढाएर रुम्जाटार अवतरण हुनेबित्तिकै ती साथीले भनेछन्, ‘नेपाली साह्रै बाठा हुँदा रहेछन् । आफ्नो ठाउँको पहाड जस्ताको तस्तै राखेर इन्डियाको पहाड खनेर ध्वस्तै बनाउने ।’ साथीको कुरा सुनेर थापा निकैबेर हाँसेछन् । ‘मेघालयको कोइलाखानी ठ्याक्कै नेपालको पहाड जस्तै भूगोल हो,’ कोइला खन्ने मजदुरदेखि ठेकेदार हुँदै नेपालमा कोइलाको व्यापारसम्म गरेका थापाले भने, ‘हाम्रोतिर पहाड मात्रै, उता कोइला पनि छ ।’ करिब नौ वर्ष कोइलाखानीमा बिताएका उनले मेघालयमै बिहे गरेका हुन् ।
मेघालय राज्यभित्रका साउथ गारोहिल्स र खसिया हिल्समा कोइलाखानी सञ्चालनमा थिए । यहाँ हिउँदको छ महिना मात्र काम हुन्छ । मजदुरले बर्खायामको ६ महिना जंगलमा गाई पाल्छन् । त्यहाँको एउटा पहाड कोइलाखानीमै निधन भएका नेपालीको समाधिस्थल बनेको छ । त्यहीँ मृत्युवरण गरेका नेपालीको अन्त्येष्टि गर्ने ठाउँ नभएपछि धेरै पहिले हाउडे काजी नाम गरेका नेपाली ठेकेदारले समाधिस्थलका लागि डाँडा नै लिएका थिए ।
अहिले पनि मेघालयमा कोइलाखानीको मजदुरदेखि मालिकसम्म नेपाली भेटिन्छन् । नेपालका अधिकांश इँटाभट्टामा बाल्न प्रयोग हुने कोइला मेघालयबाटै ल्याइने थापाले बताए ।