केआईआईटीको समस्या समाधान नभए ओडिसामा ‘एनओसी’ रोक्ने शिक्षा मन्त्रालयको चेतावनी

19 Feb, 2025

काठमाडौँ — शिक्षा मन्त्रालयले भारतको ओडिसा राज्यस्थित कलिंगा इन्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा भएको घटना र समस्याको न्यायपूर्ण समाधान नगरिए वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) रोक्ने चेतावनी दिएको छ ।

शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले मंगलबार विज्ञप्ति जारी गर्दै ओडिसा राज्यका विश्वविद्यालय र शिक्षणसंस्थामा अध्ययनका लागि प्रदान गर्दै आएको एनओसी रोक्न सकिने जनाएका हुन् । मन्त्रालयले त्यहाँ समस्यामा परेका विद्यार्थीलाई सहयोग गर्न सहायत कक्षसमेत स्थापना गरेको जनाएको छ । मन्त्रालयका उपसचिवको नेतृत्वमा कक्षा स्थापना गरिएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उक्त विश्वविद्यालयमा अध्ययरत छात्रा प्रकृति लम्सालको रहस्यमय मृत्यु र त्यसपछि नेपाली विद्यार्थीप्रति गरिएको व्यवहारका सम्बन्धमा मन्त्रालयले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । ‘विद्यार्थीहरुले सम्बन्धित विश्वविद्यालयले निर्धारण गरेको नियम पालना गरी नियमअनुसार बुझाउनुपर्ने शुल्क बुझाई अध्ययन गर्न पाउने विश्वव्यापी मान्यताविपरीत अध्ययनरत विद्यार्थीमाथि विश्वविद्यालय प्रशासनबाट भएको व्यवहार निन्दनीय छ,’ विज्ञप्तिमा भनिएको छ ।

मन्त्रलायले घटना सार्वजनिक हुनेबित्तिकै कूटनीतिक पहल गरिदिन परराष्ट्र मन्त्रालयलाई अनुरोध गरेको जनाएको छ । मन्त्रालयले भारतका विश्वविद्यालयमा पढ्ने हजारौं नेपाली विद्यार्थीमा उत्पन्न हुन सक्ने त्रास, अन्योल, मनोविज्ञानमा पर्ने प्रभावलाई समेत ख्याल गरी केआईआईटीको पठनपाठन पूर्ववत् सञ्चालन गराउने व्यवस्था मिलाउन भारत सरकारको समेत ध्यानाकर्षण गराएको छ ।
बी–टेक तेस्रो वर्षमा पढ्ने लम्साल आइतबार साँझ होस्टेलमा मृत भेटिएकी थिइन् ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024