केआइआइटीका २२२ विद्यार्थी घर आइपुगे : सुरक्षाको पूर्ण सुनिश्चितता नभएसम्म कलेज नफर्कने

20 Feb, 2025

गणेश लम्साल,तिवारी यादव

भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) प्रशासनले कुटपिट गर्दै जबर्जस्ती निकालेका २२२ नेपाली विद्यार्थी घर आइपुगेका छन् । विश्वविद्यालयमा अध्ययनरत प्रकृति लम्सालको आइतबार शंकास्पद मृत्युपछि न्यायिक छानबिनको माग राखी आन्दोलनमा उत्रिएका नेपाली विद्यार्थीमाथि कलेज प्रशासनले दमन गरेपछि उनीहरू दुःख–कष्टका साथ नेपाल आइपुगेका हुन् । जसमध्ये ८० जना जोगबनी नाका र १४२ जना वीरगन्ज नाकाबाट आएका हुन् ।

विश्वविद्यालयको होस्टेलबाट निकालिएका विद्यार्थी कोही बसबाट, कोही रेलमार्ग हुँदै जोगवनी नाका भएर आइपुगेका हुन् । जोगबनी नाकाबाट आउनेमा धेरैजसो मोरङ, सुनसरी र सप्तरी जिल्लाका विद्यार्थी छन् । विभिन्न कष्ट सहँदै स्वदेश आइपुगेको उनीहरूको भनाइ छ । केआइआइटी बिटेक तेस्रो वर्षमा अध्यनरत सप्तरी राजविराज नगरपालिका– ८ का छात्र नवीन रौनियारले भने, ‘कलेजले एक्कासि होस्टेल छाडेर जाओ भन्दै जबर्जस्ती निकालेपछि धेरै मानसिक यातना भोग्यौँ । कोलकाताबाट कटिहार हुँदै रेलमार्ग भएर चार दिनमा नेपाल आइपुगेका छौँ । धेरैजना भएकाले यात्रामा असुरक्षा त भएन, तर सबैसँग पैसा नहुँदा चाहेजस्तो खान पाएनौँ ।’

कलेजले बोलाए पनि सुरक्षाको पूर्ण ग्यारेन्टी नभएसम्म ओडिसा नफर्कने उनले बताए । उनका अनुसार कलेजमा प्रकृति लम्सालको रहस्यमय मृत्यु भएपछि नेपाली विद्यार्थीले न्यायको माग गरेका थिए । तर, कलेज प्रशासनले प्रहरी बोलाएर विरोध गर्ने विद्यार्थीमाथि लाठीचार्ज गराएको थियो । १६ फेबु्रअरी बिहान सबैलाई ‘नेपाली विद्यार्थीजति सबै निस्क’ भन्दै कोठाकोठा पुगेर प्रहरी लगाएर कलेज प्रशासनले कसैलाई भुवनेश्वरको बस र कसैलाई रेलवे स्टेसनको खुला मैदानमा लगेर छाडिदिएको थियो । त्यसपछि नेपाली विद्यार्थी समूह बनाएर कोलकाता आइपुगेका थिए । त्यहाँबाट कोही बस त कोही रेलबाट तीन दिनपछि जोगबनी आइपुगेका थिए ।

विराटनगर आइपुगेका एक विद्यार्थीले कलेजले फर्काएपछि होस्टेल पुगेका विद्यार्थीलाई घरमा खबर गरेको भन्दै शारीरिक र मानसिक यातना दिने गरेको आफूहरूलाई जानकारी आएको बताए । विराटनगर महानगरपालिका– १० का एक विद्यार्थीले भने, ‘के थाहा भोलि फर्केपछि हामीलाई पूर्वाग्रह राखेर यातना दिने काम पो हुन्छ कि ?’

नेपाल फर्केका विद्यार्थीका अनुसार केआइआइटीमा करिब १५ सय विद्यार्थी चारवर्षे बिटेक इन्जिनियरिङ कोर्स पढिरहेका छन् । केही भारतीय दूतावासको छात्रवृत्तिमा गएका हुन् भने धेरैजना चारवर्षे कोर्सका लागि आवासीय व्यवस्थासहित १२ लाख २५ हजार भारु तिरेर गएका हुन् । विद्यार्थीका अनुसार घटनापछि कलेजले थ्रेट गरेपछि अध्ययनरत प्रायः सबै विद्यार्थीले कलेज छाडिसकेका छन् ।

सुनसरीको झोक्राहा नर्सिङ गाउँपालिका– ७ का राकेश यादव र उनका १५ जना साथी बुधबार दिउँसो जोगबनी नाकाबाटै नेपाल आइपुगेका छन् । कलेजले गेस्टहाउसबाट निकालेपछि १६ फेब्रुअरीमा भुवनेश्वरबाट बसमा कोलकाता र कोलकाताबाट रेलमार्ग हुँदै घर फर्केका थिए । चार दिनपछि नेपाल आइपुगेको उनीहरूले बताए । बिटेक दोस्रो वर्षमा अध्ययनरत विराटनगर– १४ का रितेश यादवले कलेजमा पढाइ धमाधम भइरहेकाले ‘अब के होला’ भन्ने चिन्तामा परेको सुनाए । सुरक्षाको अवस्था सुनिश्चित नभएसम्म ओडिसा नफर्कने उनले बताए । काठमाडौंका सुमन दासले कलेजले प्रहरी लगाएर हतारहतार निकालेकाले कपडासमेत राम्ररी लगाउन नपाएकाले एकसरो कपडामै नेपाल आइपुगेको बताए ।

विद्यार्थी आउने क्रम जारी रहेको र सबैको नाकामा विवरण लिएर नजिक भएकाले आफैँ र टाढा भएकालाई प्रहरीले विराटनगर बसपार्कसम्म छाडिदिने गरेको सीमा प्रहरी चौकी रानीका सइ सुभाष अधिकारीले बताए । नेपाल फर्केका विद्यार्थीहरू धेरैजसो ओडिसाबाट भारतको कोलकातासम्म बसमा र कोलकाताबाट कटिहार हुँदै जोगबनी आउने क्रम जारी छ ।

वीरगन्ज नाकाबाट आइपुगेका विद्यार्थी पर्सा, बारा, रौतहट र मकवानपुरका

किट कलेजबाट निकालिएका १४२ विद्यार्थी वीरगन्ज नाकाबाट घर फर्किएको पर्साका प्रहरी प्रमुख गौतम मिश्रले बताए । जसमध्ये २५ जना छात्रा छन् । फर्किएकामध्ये करिब ८० प्रतिशत विद्यार्थी पर्साकै हुन् । अन्य विद्यार्थी बारा, रौतहट, मकवानपुरलगायत जिल्लाका छन् । बाहिरी जिल्लाका विद्यार्थी आफ्नै हिसाबले घरतर्फ लागेको उनको भनाइ छ ।

वीरगन्जको शंकराचार्य गेटमा आएका विद्यार्थीलाई स्थानीय साउथजोन स्कुलले व्यवस्थापन गरेको दुईवटा स्कुल बसको सहायताले सिमरासम्म पुर्‍याइएको हो । स्वदेश फर्किएका विद्यार्थीले विश्वविद्यालयबाट अत्याचार भएको बताएका छन् । न्यायको माग गर्ने विद्यार्थीलाई विश्वविद्यालय प्रशासनले गुन्डा र सुरक्षा गार्ड लगाएर कुटपिट गर्दै होस्टेलबाट निकालेको उनीहरूको भनाइ छ ।

वीरगन्ज महानगरपालिका ब्रह्मचोकका पिन्टुकुमार यादवले निकै कष्टका साथ घर आइपुगेको बताए । किट कलेजमा बिटेक सिभिल दोस्रो सेमेस्टरमा अध्ययनरत उनी कलेज प्रशासनको अत्याचार सहन नसकेर फर्किएको बताए । ‘कलेजका सुरक्षा गार्ड, गुन्डा र शिक्षकसहितका कर्मचारीले कुटेर नेपाल फर्कन आदेश दिएका हुन्,’ उनले भने । कलेजमा भएको व्यवहार आफूले जीवनमा कहिल्यै नबिर्सने उनको भनाइ छ ।

बाराको जितपुर सिमरानिवासी एके साहले कलेजमा प्रकृति लम्सालको दुःखान्तले नेपाली विद्यार्थीमाथि अमानवीय व्यवहार भएको बताए । न्याय दिनेभन्दा पनि दबाउने काम भएको उनले बताए । ‘न्यायका लागि आन्दोलन गर्दा धेरै दुःख भोग्यौँ,’ उनले भने । पर्साका बिरिन्चिवर्वाका वेदप्रकाश गुप्ताले प्रकृति लम्सालको शंकास्पद मृत्युपछि आक्रोशमा आएका विद्यार्थीले सडकमा आन्दोलन गरेपछि कलेज प्रशासनले नेपाली विद्यार्थीलाई निर्घात कुटपिट गरेको बताए ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024