कुवेतमा महिला कामदार रोकिए

16 Jun, 2012

कुवेतस्थित नेपाली दूतावासले कुवेतमा घरेलु कामदार (हाउसमेड) ल्याउन अनुमति दिने कार्य स्थगन गरेको छ । त्यहाँ झन्डै ५५ हजार महिला कार्यरत छन् ।

व्यक्तिगत प्रयासमा श्रम स्वीकृति लिएर जाने महिला कामदार ह्वात्तै बढेपछि उनीहरू ‘मानव तस्कर’ को सिकारमा पर्न सक्ने भन्दै दूतावासले हाललाई अनुमति दिन रोकेको हो । गत साउनदेखि दलालमार्फत ८ हजार महिला व्यक्तिगत श्रमस्वीकृति लिएर त्यहाँ पुगेका छन् ।

 

‘कुवेत र नेपाली एजेन्सीबीच सम्झौता हस्ताक्षर गराएर रोजगार माग (जब डिमान्ड) द्वारा मात्रै नेपाली महिला कामदार पठाउन/ल्याउन पाउने व्यवस्था गर्न केही दिनका लागि मात्रै स्थगन गरिएको हो,’ कुवेतका लागि नेपाली राजदूत मधुवन पौडेलले भने, ‘यसो भए तस्करी नियन्त्रण हुन सक्छ ।’

 

सरकारले खाडीका दूतावास स्थापना भएको मुलुकमा दूतावासको जिम्मेवारीमा महिला कामदार जान पाउने व्यवस्था गरेपछि दलालहरू ‘व्यक्तिगत जिम्मेवारी’ मा कुवेत पठाउन सक्रिय छन् । विभागबाट दैनिकजसो कम्तीमा सय महिला श्रमस्वीकृति लिएर त्यता गइरहेका छन् । भित्रभित्रै दलाल र केही म्यानपावर एजेन्सीको संलग्नतामा व्यक्तिगत प्रयासमा जाने भएकाले महिलाहरू थप जोखिम र बेचबिखनमा पर्ने सम्भावना बढेको छ ।

 

कुवेतमा अन्य देशहरूले प्रतिबन्ध लगाउनु, उमेर हद तोक्नु र एजेन्सीहरूबीच सम्झौता गराएर मात्रै अनुमति दिन थालेकाले नेपालका घरेलु कामदारको माग वृद्धि भएको छ । वैदेशिक रोजगार विभागका महानिर्देशक पूर्णचन्द्र भट्टराईले भने, ‘व्यक्तिगत प्रयासमा जाने अवस्था हटाएर संस्थागत जिम्मेवारीमा पठाउन प्रयास भइसकेको छ ।’ 

 

त्यसका लागि दूतावासले एजेन्सीबीच हुने सम्झौताको मस्यौदा तयार गरेर अन्तिम निर्णयका लागि परराष्ट्र र श्रम मन्त्रालय पठाइसकेको छ । घरेलु काम जोखिमपूर्ण भएकाले संस्थागत रूपमा महिला पठाउने काम वैदेशिक रोजगार व्यवसायीले गरिरहेका छैनन् । तर, आफू नदेखिने गरी भित्रभित्रै महिलालाई पठाइरहेका छन् । ‘कुवेतको स्थानीय एजेन्सीमार्फत हाउसमेड पठाउन हामी राजी छौं,’ नेपाल वैदेशिक रोजगार संघका अध्यक्ष बलबहादुर तामाङले भने, ‘यसबारे सरकारले बनाएको कार्यविधिप्रति सकारात्मक छौं ।’

 

तामाङका अनुसार यो प्रयासले महिला कामदारहरू सुरक्षित र व्यवस्थित हुनेछन् । ‘संस्थागत रूपमा नपठाउँदा झन् वैदेशिक रोजगारको क्षेत्र बदनाम भयो,’ उनले भने, ‘संस्थागत रूपमा पठाउँदा समस्यामा परेको महिलाको उद्धार हुनुका साथै सुरक्षित हुन्छन् ।’ 

 

कुवेतमा महिला कामदार ल्याउन लाइसेन्स प्राप्त एजेन्सीहरू छन् । अरू देशबाट ती एजेन्सीले सरकारी निकाय वा स्थानीय एजेन्सीमार्फत ल्याउने गर्दछन् । ‘हाम्रोमा त्यस्तो भइरहेको छ्रैन,’ राजदूत पौडेलले भने, ‘दलालहरूको सक्रियता बढ्दै जाने खतरा भएकाले अब छिट्टै संस्थागत रूपमा पठाउन सुरु हुन्छ ।’

 

हाल घरमालिकले हाउसमेड माग गर्दै निवेदन दिएपछि आर्थिक हैसियत हेरी बिमा गरेपछि मात्रै महिला कामदार ल्याउन दूतावासले अनुमति दिने गरेको छ । दूतावाससँग ती महिला कसको घरमा काम गरिरहेकी छन् भन्ने रेकर्ड हुन्छ ।

 

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024