किरिया गरेको चौथो दिनमा खबर आयो-राजकुमार जिउँदै छन्

23 Sep, 2024

६ असोज, काठमाडौं । जुन महिनाको पहिलो हप्ता परिवारसँग फोन संवाद भएपछि राजकुमार निरौला सम्पर्कमा आएनन् ।

त्यसमाथि सञ्चारमाध्यममा अत्यासलाग्दो खबर दिनदिनै आइरहेको थियो । लामो प्रयास गर्दा पनि निरौला परिवारको सम्पर्कमा नआएपछि परिवारको मनमा चिसो पसिसकेको थियो ।

परिवारसँग सम्पर्क विच्छेद भएको करिब २० दिनपछि राजकुमारसँगै रुसी पल्टनमा भएका साथीले खबर पठाए, ‘लडाइँमा राजकुमार युक्रेनीबाट मारियो । अब ऊ रहेन ।’

केही हप्ता अगाडिमात्रै फोनमा चाँडै घर फर्किने वाचा गरेका राजकुमार अब कहिल्यै नफर्किने गरी युद्धमा मारिएको खबरले परिवारमा खैलाबैला मच्चियो । घरछिमेकमा रुवाबासी चल्यो ।

परदेशबाट, त्यो पनि अर्काबाट आएको खबर अपुष्ट थियो । तर परिवार केही दिन ‘लास हेर्ने’ पर्खाइमा बस्यो । ‘हामीलाई त विश्वास नै थिएन ।

त्यही भएर जे को भए पनि उसलाई चिनाउने फोटो पठाइदिनुस्, यता बरु त्यही अनुसार धर्मकर्म पूरा गर्छौं भन्यौं’, राजकुमारकी भाउजु कृष्णा भण्डारीले भनिन्, ‘तर सँगै भएको साथीले नै मरिसक्यो भनेपछि विश्वास नगरिरहन पनि सकेनौं ।’

त्यसपछि परिवारले राजकुमारको सम्झनामा एउटा कुशको लास बनाए । गाउँभरिका करिब ५०० जना मलामी जम्मा भए । श्रीमतीको सिउँदो पुछियो ।

उनको नाममा कुशको शव दाहसंस्कार गरिसकेपछि हिन्दु परम्पराअनुसार काजकिरिया सुरु गरे । दुई छोरा (क्रमशः ११ र ५ वर्ष) सानै भएकाले राजकुमारका बुबा र श्रीमती कोरा बसे । किरिया बसेको चौथो दिन राजकुमारकी श्रीमतीमा ह्वाट्सएपमा अचानक खबर आयो, ‘राजकुमार ज्युँदै छ है !’

‘सँगैको साथीले नै मरिसक्यो भनेको बेला नयाँ नम्बरबाट आएको म्यासेजबाट उहाँ जिउँदै हुनुहुन्छ भन्दा कसले पत्याउँछ होला ?’ कृष्णाले भनिन्, ‘फेरि पनि फोटो नै पठाउन भन्यौं ।’

सम्पर्कविहीन भएको २९ औं दिनमा राजकुमारले रुसको एउटा अस्पतालको बेडबाटै एउटा फोटो पठाए ।

‘सुरुमा त परिवारलाई आफ्नो मान्छे मरिसक्यो भनेकै पत्याउन गाह्रो हुन्छ । बल्लबल्ल मनलाई सम्झाउँदै बुझाउँदै विश्वास गरिन्छ’, राजकुमारका फुपुका छोरा दाजु दुर्गा भण्डारी भन्छन्, ‘मरिसकेको भनेको मान्छेले फेरि फर्किएर आफू ज्युँदो छु भन्दै आउँदा कस्तो भयो होला ?’

युद्धमा बमको छर्रा लागेर राजकुमारको बायाँ हातमा चोट लागेको थियो । उनले परिवारलाई दुख नहोस् भनेर त्यो हात नदेखिने गरी फोटो पठाएका थिए । तर परिवारले चित्त बुझाएन ।

भिडियो कलमा आउन भयो । २९ जुन ०२४ मा राजकुमारसँग भिडियो कल भएपछि शोकमा डुबेको परिवारमा खुसी छायो । ‘तर, मलाई मेरो भाइ ज्युँदै छ भन्ने लागेको थियो’, दाजु दुर्गाले भने, ‘उसको फोन आउनुअघि पनि श्रीमतिलाई भाइ त जंगलतिरै भाग्दै होला है भनेको थिएँ, ठ्याक्कै भयो ।’


कोरोना महामारीपछि विराटनगरका राजकुमार निरौलाले ललितपुरमा मास्क कम्पनी सुरु गरेका थिए । माग उच्च भएकै बेला उद्यममा हात हालेपछि पछाडि फर्केर हेर्नुपरेको थिएन । परिवारका सदस्य सबै मिलेर मजैले उद्यम चलाएका थिए ।

तर त्यहीबेला उनका पूर्वतिरकै एकजना साथीले रुसी सेनामा भर्ती लिइरहेको सुनाए । सुरुमा त निरौला वैदेशिक रोजगार, त्यसमा पनि रुसी सेनाबारे भर्ती हुने सोचेकै थिएनन् । तर मन न हो, उनले थिरमा राख्न सकेनन् ।

उनकै शब्दमा भन्ने हो भने ‘ठूलो भाग’ खोज्दै रुसी सेनामा भर्ती भएर आफ्नो तकदिर अज्माउने बाटोमा लागे । गत असोजमा उनी नेपालबाटै भिजिट भिसामा रुसका लागि उडेका थिए । ‘भिसाको म्याद सकिन लागेको भनेर दुबईमा रोकियो ।

३७/३८ घण्टा त्यहाँ राखेपछि नेपाल फर्काइयो’, आइतबार अनलाइनखबरसँगको कुराकानीमा राजकुमारले भने, ‘नेपाल आएर पनि फेरि दुई दिनमै पासपोर्ट बनाएर रुस पुगें ।

दुबई हुँदै रुससम्म पुगेका उनलाई एजेन्टहरुले नै रुसी सेनाका ब्यारेकसम्म पुर्‍याए । गत नोभेम्बरमा रुसी सेनामा भर्ना भए । सुरुमा उनी वाग्नर समूहमा जोडिए । तर यो समूहमा भएकाहरुलाई युद्धको अग्रमोर्चामा पठाउने सुनेपछि उनले १४ दिनमै छाडे र, त्यहाँको स्टेट आर्मीमा भर्ना भए ।

सुरुका दिनमा उनलाई हाउस क्लिनिङ, ग्रिनेट प्रहार, टार्गेटिङ, ट्यांक क्लिनिङ लगायतका काम सिकाइयो । उनका अनुसार पहिलो जंगल ट्रेनिङ २२ दिन गरे । त्यही ट्रेनिङ गर्दै अगाडि बढ्ने क्रममा रेड जोनमा पुगेको बताउँछन् ।

‘रेड जोनमा अलिक सचेत हुनुपर्थ्यो । तर, त्यस्तो खतरा भन्ने हुँदैन थियो’, उनी भन्छन्, ‘सुरुका ६/७ महिना त कुनै समस्या भएन, रमाइलो नै भयो ।’

तर जसै युद्ध चर्किँदै गयो, अघिल्लो चरणमा भर्ना भएका नेपालीहरुले अवस्था खतरापूर्ण हुँदै गएको सूचना दिए । राजकुमारसहित ८ जनाले नेपाल फर्किन खोजे । ‘त्यहाँ के भइराखेको छ भन्ने यथार्थ त भोगिएको थिएन । तर होहल्ला सुन्दाखेरि हो कि क्या हो भनेर निक्लिएका थियौं’, उनले भने, ‘बोर्डरसम्म आइपुगेका थियौं । तर हामी त्यहाँ समातियौं र कमान्डर आएर लग्यो ।’

अत्यासलाग्दा दिनहरु

त्यसको केही समयपछि राजकुमार संलग्न सैन्य पल्टनलाई पहिलो पटक ‘वारजोन’मा पठाइयो ।

उनीहरु पुगेको ठाउँको आकासमा चराझैं फन्को मारिरहेका ड्रोनको अत्यासलाग्दो लस्कर थियो । बारुदको दुर्गन्ध अनि बम, गोलीको चर्को आवाज थियो ।

‘यस्तो ठाउँमा जाँदैछौं नभनेरै यहाँ ल्याइहाले । बाँचिएछ भने नेपाल फर्कौंला, दुईजनामध्ये एकजना मरेछौं भने घरमा खबर पुर्‍याउनुपर्छ है’, युद्ध मैदानमा चारैतिरबाट ड्रोनले घेरिएपछि सहयोद्धा हरि वलीलाई ढाडस दिँदै राजकुमारले भनेका थिए, ‘त्योबेला एकले अर्काको परिचयपत्र घर पठाइदिनुपर्छ ।’

धेरै जना भए सँगसँगै हिँड्न मनाही थियो । २/२ जनाको समूहमा करिब ५० मिटरको फरकमा लुक्दै हिँड्नुपथ्र्यो । ‘त्यहाँ ड्रोनहरु जतिबेला पनि तैनाथ हुन्छन् । देख्यो कि आक्रमण गरिहाल्थ्यो,’ उनी भन्छन्, ‘कमाण्डरको आदेशबिना केही गर्न सक्ने स्थिति नै थिएन । दिउँसोभरि बंकरमा लुकेर रातिरातिमात्रै हिँड्थ्यौं ।’

तर राति पनि डोन र ‘माइन’बाट छुटकारा भने मिल्दैनथ्यो ।

राजकुमारका अनुसार अगाडि उनीहरुको टोलीलाई ड्रोनले घेरेपछि हरि निकै आत्तिएका थिए । त्यहीबेला ड्रोनबाट प्रहार गर्न सुरु भइहाल्यो ।

ड्रोनबाट हानिएको बमको छर्राले अग्रपंक्तिमा रहेका निरौलालाई नै लाग्यो । उनको केहीपछि रहेका हरि त्यति बेलासम्म सुरक्षित थिए । उनी घस्रिँदै नजिकैको झ्याङतिर सोझिए । ‘अब त मरिन्छ भन्ने लागेर बाँच्ने प्रयास गर्दै लुक्न खोजें’, उनी सुनाउँछन् ।

त्यसको केही समयपछि हरि वलीमाथि ड्रोन अट्याक भयो । हरिले छट्पटाउँदै पानी माग्न थाले । दुर्भाग्य ! त्यहाँ उनले साथीलाई अन्तिम बिदाइमा पानीसम्म खुवाउन सकेनन् । न त परिचय पत्र नै घर नेपाल पठाइदिन सके ।

त्यहाँ त रुसी कमाण्डरसहित सबै एक चिहान भइसकेका रहेछन् । उनका अनुसार पल्टनमा उनी र हरिसहित १४ जना नेपाली थिए ।

‘कमाण्डरसहित सबै साथी सकिएपछि ज्यान बचाउन पनि झाडीमा नहल्लिई बसें’, उनी भन्छन् ।

सहयोद्धा साथीहरुको लासक बीचमा आफूलाई लुकाएर उनले त्यहाँको रणमैदानमा ४ दिन बिताए । गस्ती हिँडेको सेनाजस्तो बेलाबेलामा ड्रोन आउँथ्यो । उनले ड्रोनको तिखो आँखाबाट आफूलाई बचाउन हरसम्भव प्रयास गरे । ड्रोन अट्याक घट्न थालेपछि बाहिर निस्किने बाटो खोज्न थाले ।

राजकुमार बमको छर्राले घाइते थिए । तर त्यहाँ हार मान्नुको अर्थ मृत्यु स्वीकार्नु थियो । उनले आफूमा जीजीविषाको दियो निभ्न दिएनन्, लासहरुबाट छेकिँदै, ड्रोनबाट बच्दै गन्तव्य पहिल्याउनतिर लागे । ‘म त झन् युक्रेनी सेनाको क्षेत्रतिर पो गइराखेको रहेछु । त्यहाँ पनि लुकेर नै ज्यान बचाउन सफल भएँ’, उनले भने, ‘त्यहीबेला पानीका बोत्तल भेट्टाएर आफ्नो तिर्खा मेटाएँ ।’

१४ दिन त्यसरी नै युद्ध मैदानमा बिताएका उनलाई सबैभन्दा बढी याद पानीको आएको थियो । ‘छैटौं दिनदेखि रुसी पक्षबाट २ बातत्तल पानी र एउटा स्निकर चकलेट आउन थालेको थियो । तर त्यतिले कहाँ प्यास मेटिन्थ्यो र ?’, उनी सम्झन्छन् ।

उनलाई १४ दिनपछि मात्रै रुसी सेनाको रेस्क्यु टोलीले फेला पारेको थियो । उनीहरुलाई देखेपछि राजकुमारलाई बाँचिन्छ जस्तो लागेको थियो ।

तर त्यो खुसी पनि धेरैबेर टिक्न पाएन । ‘मलाई रेस्क्यु गर्न आएका टोलीका दुई जना नै फेरि ड्रोन अट्याकमा परेर बित्नुभयो । त्यतिबेला त मेरो पनि यति नै रहेछ भन्ने सोचेको थिएँ’, उनी भन्छन्, ‘काल नआएको रैछ, त्यहाँ पनि म बाँचें ।’

युद्ध भूमिमा रहेका बेला उनीसँग मोबाइल त थियो, तर ड्रोन ट्र्याकिङ हुने भएकाले खोल्न पाएनन् ।

जति दिन मृत्युबाट भाग्दै हिँडे, त्यति नै दिन राजकुमार परिवारसँग सम्पर्कविहीन रहे । युद्ध भूमिमा गएको २९ औं दिन र घाइते भएको २० औं दिनमा मेडिकल टिमले रेस्क्यु गरेर उनलाई अस्पताल पुर्‍यायो ।

आफ्नो मोबाइल अफ रहेकाले हतारहतार त्यहाँ भेटिएका अर्का नेपालीसँग मोबाइल मागेर घरमा खबर पठाएका थिए ।

परिवारले नपत्याएपछि उनको मोबाइलमा आफ्नै सिमकार्ड हालेर ह्वाट्सएप खोले, अनि फोटो पठाए ।

त्यहीबेला उनले घरमा आफ्नै काजकिरिया थालेको ४ दिन भइसकेको थाहा पाए । ‘मान्छे बल्लबल्ल बाँचेर आएको छ, घरमा त काम (काजकिरिया) सुरु गरिसकेछन्’, राजकुमार भन्छन्, ‘आफ्नै काजकिरिया भइरहेको थाहा पाउँदा कहाँ सम्हालिन सक्नु ? न म बोल्न सकें, न घरका मान्छे ।’

अब फेरि जाने छैन

मृत्यु भइसकेको भनेर काजकिरिया थालेका राजकुमार जिउँदै भएको थाहा पाएपछि परिवारमा खुसी छायो । विधि पुर्‍याएर काजकिरिया अन्त्य गरे, अनि राजकुमार पनि नेपाल फर्किए ।

रुसी सेनामा ४५ दिनको घाइते बिदा पाइन्छ । त्यही बिदामा उनी ५ भदौमा काठमाडौं आइपुगे । ‘काजकिरिया भइसकेपछि घरमा छिर्न पनि नपाइने रहेछ । गुह्येश्वरीमा सत्यनारायण पूजा गर्‍यौं । फेरि पनि बिहे गर्नुपर्ने रैछ, त्यो सबै गरिसकेपछि मात्रै घर छिर्न पाएँ’, उनी भन्छन्, ‘यहाँ आएर पनि करिब १५/१६ दिन अस्पताल बसेर उपचार गरें । अहिले बल्ल बाहिर निस्किँदैछु ।’

रुसी सेनामा खतरा रहेको थाहा पाएपनि जीवनै धरापमा पर्ने जोखिमबारे आफूलाई थाहा नभएको राजकुमार दाबी गर्छन् । ‘नेपालजस्तै होला, १/२ जनालाई त टोकेरै भएपनि हराइन्छ भन्ने भ्रम थियो । तर त्यहाँ पुगेपछि थाहा भयो, हामीले पानी पनि भन्न नपाउने स्थितिको लडाइँ रहेछ’, उनी भन्छन् ।

अब उनी रुसी सेनामा फर्किने पक्षमा छैनन् । पुनर्जन्म पाएको बताउँदै बाँकी जीवन पनि परिवारसँगै बिताउने र नेपालमै फेरि उद्यममा जोडिने उनको सोच छ । ‘त्यहाँ पुगेपछि मरिन्छ नै भन्ने होइन, तर, बाँचिन्छ भन्ने पनि छैन’, राजकुमार भन्छन्, ‘विदेश पनि देखियो, लाहुरे पनि भइयो । अब फर्किन्नँ ।’

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024