कालीमाटी तरकारी बजारका एक मजदुरको हत्या, चार जना पक्राउ

20 Feb, 2025

काठमाडौँ — काठमाडौँको कालीमाटी तरकारी बजारमा बुधबार बिहान मृत भेटिएका मजदुरको उनकै साथीहरूले हत्या गरेको खुलासा भएको छ । प्रहरीका अनुसार तरकारी बजारमा काम गर्ने ४१ वर्षीय रामकृष्ण दाहालको हत्या भएको हो ।

टाउको र शरीरका विभिन्न भागमा घाउचोट लागेको अवस्थामा कालीमाटीस्थित उनको कोठानजिकै शव फेला परेको थियो । बुधबार बिहान कोठा नजिकै शव भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौँ प्रहरी परिसरको टोलीले अनुसन्धानको क्रममा दाहालको उनकै चार साथीहरूले कुटपिट गरी हत्या गरेको खुलेको हो ।

प्रहरीले उक्त घटनामा संलग्न भएको आरोपमा बुद्ध लामासहित चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । लामा भने घाइते अवस्थामा नेपाल मेडिकल कलेज जोरपाटीमा उपचार गराइरहेको अवस्थामा पक्राउ परेका छन् ।

दिनभर कालीमाटी बजारमा काम गर्ने उनीहरू राति एकसाथ बस्दै आएका थिए । प्रहरीका अनुसार उनीहरू पाँचै जना ठेकेदारमार्फत् तरकारी बजारमा काम गर्न लिइएका मजदुर हुन् ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024