कालापहाडबाट फर्कंदै जुम्ली, सिमानामा सास्ती उस्तै

8 Mar, 2022

धनबहादुर बुढा 

रोजगारीका लागि भारत पसेका जुम्लावासी फर्कंने क्रम सुरु भएको छ। दैनिक नेपालगञ्जको रुपैडिया नाका हुँदै नेपाल फर्कंने जुम्लावासीको घुइँचो लाग्न थालेको हो। गाउँमा रोजगारी नमिलेपछि कामका लागि उनीहरु कालापहाड जाने गर्दछन्।  

दशै लगतै कालापहाड पसेका जुम्लावासी फागुन महिना लागेपछि घर फर्कंन थालेका हुन्। ‘घरमै बसौँ रोजगारीका अवसर छैनन्। बेरोजगार भएर नाङ्गो परिवार टुलुटुलु हेरेर बस्न सकिने अवस्था हुँदैन,’ स्थानीय बिर्षबहादुर बुढाले भने,‘कालापहाड रहर होइन, बाध्यता हो।’ 

हिउँदको सुख्खा सिजनमा खेतिपातीका लागि कुनै काम हुँदैन। बालीनाली लगाउनको लागि फागन महिनमै फर्कंने गरेका छन्। घर फर्कंदा सीमा नाकामा निकै सास्ती खेप्नु परेको गुनासो उनीहरुको छ। जुम्लाका एक नगरपालिका र सात वटै गाउँपालिकाबाट युवा जनशक्ति कालापहाड जाने गरेका छन्।

‘गाउँमा रोजगारीको कुनै अवसर छैन। कालापहाड जानुको विकल्प पनि हुँदैन’, बिर्खबहादुरले भने,‘कर्णालीका सबै जसो जिल्लाबाट मजदुरीको लागि कालापहाड जाने गरिएको छ। भारतका अधिकांस सहरमा कर्णालीवासी भेटिने गरेका छन्।

कर्णालीबाट हजारौँ युवा शक्ति कालापहाडको यात्रामा लाग्ने गरेका छन्। कालापहाडमा सामान्य काम समेत गर्न बाध्य छन्। ‘अर्काको देशमा काम गर्दाको पीडा त छँदैछ’, सिँजा गाउँपालिका ६ का नरबहादुर बुढाले भने,‘हरेक वर्ष सिमानामा निकै सास्ती हुने गरेको छ। कालापहाडमा चार महिना लगाएर कमाएको रकम सीमा नाकामा रहेका भारतीय सुरक्षाकर्मीले डरधम्की दिएर असुल्ने गरेका छन्।’ 

घर पुगिन्छ भनेर खुसी मुद्रामा फर्केका नेपालीले सिमानामा सास्ती बेहोर्नु परिरहेको दुखेसो गरेका छन्।

प्रदेश सरकारले कर्णालीका जनताको लागि परेको र  प्रदेशमै रोजगारी सिर्जना गर्ने कुरा भाषणमै सीमित छ। उनले भने,‘सरकार आश्वासन मात्र दिन्छ। रोजगारी दिँदैन। बाटोमा आफ्नो नागरिक लुटिँदा हेरेर बस्छ।’

गाउँमा आउने विकास निर्माणका काम पहुँचवालाको हातमा जान थालेपछि सर्वसाधारण कालापहाड रोज्न विवश छन्। यहाँका नागरिकको रोजगारीको प्रमुख गन्तब्य भारत हो। महत्वपूर्ण चाँडपर्व र खेतिपाती छोडेर हजारौँ युवाहरु भारत पस्छन्। 

सबै युवा जनशक्ति भारतमा जान थालेपछि गाउँमा बालबालिका, महिला र बुढाबुढी मात्र देखिन्छन्।

गाउँमा जिउँदाको जन्ती र मर्दाको मलामी जाने मान्छे समेत भेटिँदैनन्। अहिले संघीयता कार्यान्वयन पछि गाउँगाउमा स्थानीय सरकार छन्। तर स्थानीय सरकार पहुँचवालाको लागि मात्र छन्। न कुनै रोजगारीको अवसर सिर्जना गर्छन्। न त जनमुखी कुनै कार्यक्रम ल्याउँछन्। चिल्ला गाडी चढ्नेदेखि व्यक्तिगत स्वार्थमा लिप्त छन्। 

कालापहाडबाट अटोरिक्सावालाले पनि दोब्बर रुपैयाँ असुलिरहेका छन्। बर्सेनि कालापहाड जान्छौँ, ज्याला मजदुरी गर्छौँ।  कालापहाडमा कमाएको पैसाले परिवारको लुगाफाटो फेर्छौँ। तर पनि सुख शान्तिपूर्वक बस्न पाउँदैनौँ। अर्का हरि रावतले भने,‘घरमा बसेर खानाखर्च र लुगाफाटो फेर्न सकिँदैन। बाध्यताले कालापहाड हानिन्छौँ। घरमा हिँउदको महिना खाली बस्नु भन्दा कालापहाडमा गएर काम गरेर रुपैयाँ कमाएपछि परिवारको लुगाफाटो फेर्न सकिने अवस्था रहन्छ।’

दुई छाक भए पनि मिठोमसिनो खान पाइन्छ। कालापहाड गएका कर्णालीवासी फर्कंन थालेपछि   कर्णाली राजमार्गमा चल्ने सवारीलाई यात्रु बोक्न भ्याइनभ्याइ छ। सुनसान गाउँमा अहिले चमक देखिएको छ। कालापहाडमा मजदुरी गर्दा निकै कष्ट हुने गरेको छ। कुनै पनि स्थानीय सरकारले युवाको रोजगारीका लागि नयाँ कार्यक्रम ल्याएका छैनन्। व्यवस्था परिवर्तन भएपनि दैनिकी फेरिएको छैन।

यहाँबाट रोजगारीका लागि पुरुषहरु कालापहाड जान्छन् नै। त्यो संगै कतार, दुबई, मलेसिया लगायतका ठाउँमा समेत जाने गरेका छन्।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024