कामदारको सुरक्षा प्राथमिकतामा राख्न सुझाव

23 Apr, 2024

कतारी राजाको नेपाल भ्रमणमा आप्रवासी कामदारको सुरक्षालाई प्राथमिकताका साथ समेट्नुपर्ने माग अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था ह्युमन राइ्टस वाचले गरेको छ।

‘पुरानो श्रम सम्बन्धका कारण गरिने कूटनीतिक आमोप्रमोदबाट माथि उठेर कतार, नेपाल र बंगलादेशले कतारमा श्रमिकमाथि भइरहेको गम्भीर दुर्व्यवहारलाई सम्बोधन गर्ने सार्वजनिक प्रतिबद्धता व्यक्त गर्नुपर्दछ,’ उक्त संस्थाका मध्यपूर्व तथा उत्तर अफ्रिका क्षेत्रका निर्देशक माइकल पेजले सोमबार जारी एक वक्तव्यमा भनेका छन्।

उनले कतारका अमिरले राज्यका प्रमुखलाई मात्र नभई कतारबाट फर्केका तथा कतारमा श्रम सुरक्षाको अभावमा बिरामी भएका कामदारले उपचार गराइरहेका नेपालका डायलाइसिस केन्द्रमा समेत भ्रमण गर्नुपर्ने र कतारमा ज्यान गुमाएका कामदारका परिवारजनसँग भेटनुपर्ने बताएका छन्।

कतारको विकासमा नेपाल तथा बंगलादेशका आप्रवासी कामदारको ठूलो भूमिका छ। विशेषगरी सन् २०२२ मा कतारमा आयोजित विश्वकपको तयारी तथा सञ्चालनको क्रममा यी दुई देशका कामदारले ठूलो योगदान गरेका थिए।

आप्रवासी कामदारले कतारबाट आफ्नो देशमा विप्रेषण पठाउने गरे तापनि कतिपय कामदार सुरुको आर्थिक अवस्थाभन्दा झन् दयनीय रूपमा फर्कने गरेको सो मानव अधिकारवादी संस्थाले जनाएको छ।

कतारमा कामदारले कमाएको सम्पत्ति चोरी हुने, काम गर्ने सम्झौता उल्लंघन हुने तथा कार्यस्थलका प्रतिकूल अवस्थाका कारण बिरामी पर्ने घटना सामान्य रहेको उक्त संस्थाको भनाइ छ। ‘नेपाल सरकारले विप्रेषणको महत्त्व मात्र नभई यो कमाइ गर्ने कामदारले चुकाउनु पर्ने मूल्यको विषयसमेत उठाउनुपर्छ,’ विज्ञप्तिमा भनिएको छ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024