कामको खोजीमा बिदेसिनेको संख्या बढ्दै

11 Jan, 2023

सविता खड्का

राजनीतिक दलहरूले चुनावका बेला स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्ने भने पनि रोजगारीको खोजीमा विदेशिनेको संख्या भने दिनप्रति दिन बढ्दै गएको छ। प्रदेश र प्रतिनिधिसभा निर्वाचनपछि नयाँ सरकार गठन भए पनि जनताले मुलुकभित्रै रोजगारीको अवसर खडा हुन्छ भन्नेमा आस्वथ हुननसक्दा विदेशीनेहरूके संख्या बढिरहेको हो।

चालु आर्थिक वर्षको कात्तिक महिनामा ७१ हजार ३४ जना पुरुष र ७ हजार ३ सय ३६ जना महिला गरेर जम्मा ७८ हजार ३ सय ७० जना युवायुवतीले श्रम स्वीकृति लिई विभिन्न मुलुकमा गएको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाएको छ।

त्यस्तै चुनाव सम्पन्न भएको महिना मंसिरमा ६२ हजार ७ सय १३ जना पुरुष र ५ हजार ८ सय ५१ जना महिला गरी जम्मा ६८ हजार ५ सय ६४ जना नेपाली वैदेशिक रोजगारीमा गएका छन्। यही पुस १२ गतेसम्मका तथ्यांक अनुसार २२ हजार ७ सय ५३ जना पुरुष र २ हजार ८७ जना महिला गरी जम्मा २४ हजार ८ सय ४० जना वैदेशिक रोजगारीमा गएका छन्। निवार्चनपछि पनि वैदेशिक रोजगारीमा जानेको संख्यामा कमी नआएको वैदेशिक रोजगार विभागका सूचना अधिकारी कृष्ण प्रसाद भुसाल बताउँछन्।

श्रम स्वीकृति लिएर मलेसिया जान लागेका सोलुखुम्बुका दीपेन्द्र राना मगरले त्रिभुवन विमानस्थलमा बिदा हुँदै गर्दा भने, ‘भोट त हालियो तर अझै देशमा राम्रो काम होला भन्ने विश्वास छैन।’ उनले त्यही कारणले विदेशिन लागेको बताए।

विदेशको रोजगारीले आफू लगायत परिवारलाई पनि केही राहत मिल्ने उनको आशा छ। नयाँपनको खोजीको आशा रहे पनि अधिकान्स जनताहरू भोट चाहिँ तिनै पुरानो नेतालाई नै दिएका राना मगरको तर्क छ। केही नेताको जीवनस्तर त माथि उक्लेको छ तर जनताको जीवनस्तर झन् तल तल खस्केको उनको कथन छ। ‘नेताहरूले सुनको कचौरा हातमा लिएर भिख माग्दै गर्दा पनि यहाँ हुनेवाला केही छैन,’ उनले भने, ‘यति सुन्दर र प्रकृतिको धनी देशबिना अर्थमा नै सकिने भयो। हामी जस्तो बेरोजगारले आफ्नो बालबच्चा पाल्नको लागि र बिहान वेलुका हातमुख जोड्नको लागि यहाँ धेरै गाहे हुने भएकोले विदेश जानुबाहेक अरू विकल्प केही छैन।’

‘दिन प्रतिदिनको महँगी बढेको बढ्यै छ। झन् सहज होला भन्यो झन् धेरै बाच्न गाह्रो हुँदैछ। दिनभरि ज्याला गरेर कमाएको पैसाले एक छाक भात खान पुग्दैन। नेता सधैं नेता नै गरिब सधैं गरिबी नै, अनि यो देश कहाँ उकालो लाग्छ र!,’ उनले भने, ‘गन्तव्य मुलुक दिनदिनै फस्टाउँदै गएको छ तर हाम्रो देश नेपाल ओहिलाएको कर्कलोेको पात झैं भएको छ।’

देश उन्नति प्रगतितिर नभई दुर्गतितिर गएको उनको गुनासो छ। ‘यस्तो देशको के आशा छ र अब विदेश नगएर के गर्नु?,’ मगरले भने, ‘हामी गरिबीको आशा र सुझाव भनेकै महँगी घटाऊ भन्ने हो, तर यहाँ त एक दुई रूपैयाँ घटाए झैं गर्दछन् तर १०/१५ रूपैयाँ बढाएको कसैले देख्दैनन्।’

त्रिभुवन विमानस्थ्लमा भेटिएका सिन्धुपाल्चोकका सोम तामाङ पनि चुनावपछि स्वदेशमा कामको केही भरोसा नलागेपछि उनी पनि पुस १२ गते मलेसिया गए। उनको पनि राना मगरको जस्तै गुनासो रहेको छ। उनले भने, ‘भोटहाल्दा सम्म हरेक आश्वासन दिलाएर भोट हाल्न लगाउँछन्, जितेर गएपछि मान्छे हराउँछन्,’ विदेश जानुको बाध्यता गरिबीको कारण नै रहेको उनले बताए।

स्वदेशमा २५/३० वर्ष हुँदासम्म पनि केही प्रगति गर्न नसकिने उनको भनाइ छ। विदेशमा गएर थोरै पैसा कमाउन सकिएला तर त्यो पैसा सुरक्षित हुनसक्ने उनको अनुमान बताए। यहाँ साथीभाइ, चाडपर्व सबै मनाउँदै गर्दा आफूसँग त्यो चाडबाड मान्न पनि पैसा नहुने खान बस्नलाई नै धौधौ भएको अनुभव तामाङको छ।

‘आफ्नै स्वदेशमा काम गर्न, परिवारसँग बस्न पाउनुको छुट्टै आनन्द छ नै तर त्यो सेवा सुविधा छैन यहाँ,’ तामाङले भने, ‘सोझा साझा गरिबी जनतालाई प्रलोभनमा पारेर चुनावी ताका उम्मेदवाहरू भोजभत्तेर खुवाएर हुन्छ कि घर परिवारका सदस्यलाई रोजगार दिने जस्ता प्रोत्साहान गरेर भोट दिलाउने बनाउँछन्। तर त्यो आशावादी भाषण केही दिनलाई मात्र सीमित हो।’

यसरी देश र जनताको प्रगती नेताहरूले नदेख्दा गरिबीको पेट पाल्न भए पनि वैदेशिक रोजगारीमा जानुवाहेक अरू विकल्प केही नभएको तामाङले गुनासो गरे।

तामाङले भने, ‘कतिपय अवस्था त परिवारको खुसी हेर्नको लागि पनि विदेश जानुपर्ने हुन्छ।’ कहिलेकाहीँ त बाँचुन्जेल पैसा र सम्पत्ति भएन, फलानोले यति कमायो, फलानाको छोरो अमेरिकामा छ, फलानोले घडेरी खारिसक्यो, फलानोको घर गाडी भन्दै परिवारबाट पनि विदेश जानै पर्ने परिस्थिति आएको तामाङले बताए।

उनले भने, ‘हुन त नेपालमा परिश्रम गरेर कमाएको पैसाले खानै पुग्दैन, कहाँ घडेरी घर किन्न सकिन्छ र? चाहिएको बेलामा ५ रूपैयाँ दाम गोजीबाट निकाल्न सकिँदैन।’ मान्छे विदेश रहरले कहाँ जान्छन् र बाध्यताले गएको हो, तामाङको भनाइ छ। नयाँ सरकार बने पनि युवाहरूलाई सरकारप्रति केही भरोसा नभएको र विदेशिनेको लर्को उस्तै रहेको तामाङले सुनाए। उनले भने, ‘कठै मेरो देश सरकार जो आए पनि कुरा मुखैको मात्र हो, व्यवहारमा लागु हुन सकेको छैन।’

‘देशको भ्रष्टाचार प्रवृत्ति अन्त्य गर्नुपर्‍यो, गरिबी निवारण गर्नुपर्‍यो, आफ्नै देशमा परिश्रम गर्छु भन्नेलाई पारिश्रमिकअनुसारको ज्याला दिलाइदिनुपर्‍यो, यो नयाँ सरकारलाई मेरो सुझाव छ,’ तामाङले भने। यसरी देश विकास सँगसँगै जनता मौलाउने बाटो पनि विकास गरिदिए दिनप्रतिदिन हजारौं युवा विदेशिन नपर्ने उनले बताए।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024