पर्शुराम काफ्ले
अफगानिस्तानमा अड्किएका ३४ नेपाली स्वदेश फर्कन बुधबार बिहान काबुलस्थित विमानस्थल पुगेका थिए । तर अफगानी अधिकारीरूले कागजात नपुगेको भन्दै ३२ जनालाई रोकेका छन् । दुईजना नेपाली भने काठमाडौं आइपुगेका छन् ।
रोजगारीका लागि काबुल पुगेका, तर बेरोजगार अवस्थामा रहेका ३४ जना पूर्वसैनिकलाई इरानको तेहरान हुँदै बुधबार काठमाडौं ल्याउने तयारी थियो । स्रोतका अनुसार काबुलस्थित हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलमा दिनभर राखेर उनीहरूलाई पुनः संयुक्त राष्ट्रसंघीय हाता (ग्रिनजोन)मा लगिएको छ । राष्ट्रसंघीय कार्यालयलाई सुरक्षागार्ड उपलब्ध गराउने बेलायती सुरक्षा प्रदायक कम्पनी आइडिजीले विमानस्थलबाट उनीहरूलाई फर्काएको हो ।
आइडिजी ग्रुपका अपरेसन तथा योजनासम्बन्धी म्यानेजर कालम एलिस्टर जोन्सले नयाँ पत्रिकालाई बिहीबार इमेलमा प्रतिक्रिया दिँदै दुई नेपाली बुधबार काठमाडौं फर्किएको र ३२ जनालाई चाँडै स्वदेश फर्काउने प्रयास जारी रहेको जानकारी दिएका छन् । ‘हामीकहाँ शरण लिएका शरणार्थीहरूमध्ये आधिकारिक कागजात भएका दुईजनालाई काबुलबाहिर जान दिइएको छ र उनीहरू काठमाडौं पुगिसकेका छन्,’ जोन्सले नयाँ पत्रिकासँग भने, ‘बाँकीमध्ये पासपोर्ट नभएका दुईजना र भिसा नभएका बाँकीलाई अफगानिस्तानका अधिकारीहरूले रोकेका छन् । हामी बाँकी शरणार्थीहरूलाई जतिसक्दो चाँडो स्वदेश फिर्ती सुनिश्चित गर्न स्थानीय अधिकारीहरूसँग निरन्तर काम गरिरहेका छौँ ।’
सरकारी स्रोतका अनुसार इरानको महान एयरलाइन्सको चार्टर उडानमार्फत बुधबार ३४ जना नेपालीलाई सुरुमा तेहरान लैजाने र त्यहाँबाट उनीहरूसँगै संयुक्त राष्ट्रसंघीय कार्यालय काबुलको सुरक्षामा खटिएका थप ८५ जना नेपाली सुरक्षाकर्मी पनि बिदामा काठमाडौं ल्याउने तयारी थियो । उद्धार भएर आउने ३४ मध्ये ३२ जना नेपालीको हवाई भाडा, काबुलमा बढी समय बसेको शुल्क, पिसिआर परीक्षणको शुल्क नेपालले व्यहोर्ने पत्राचार नेपाल सरकारबाट भइसकेको छ । बिदामा आउन लागेका नेपाली सुरक्षाकर्मीको हवाई भाडा भने सुरक्षा प्रदायक कम्पनी आइडिजीले व्यहोर्नेछ ।
‘काबुलस्थित आइडिजी कम्पनीले युएनमा कार्यरत ८५ जना अन्य नेपाली सुरक्षाकर्मीलाई बिदामा काठमाडौं ल्याइदिने क्रममा ३४ जना पनि समावेश गरेर जहाजमा ल्याइदिने वचन दिइएको थियो । हामी आफैँले खर्च व्यहोरेर उनीहरूलाई उद्धार गर्ने तयारीमा थियौँ, तर अफगान अधिकारीहरूले विमानस्थलबाट फर्काइदिएको खबर आएको छ,’ सरकारी स्रोतले नयाँ पत्रिकासँग भन्यो । करिब १३ सय अमेरिकी डलर हवाई भाडा, प्रतिव्यक्ति ६५ अमेरिकी डलरका दरले ओभर स्टे शुल्क र पिसिआर परीक्षणको थप शुल्क नेपाल सरकारले व्यहोर्नेछ ।
१८ महिनादेखि बेरोजगार भएका नेपाली उद्धारको पर्खाइमा
उद्धार गर्नुपर्ने नेपालीहरूमध्ये कोही पाँच महिनाअघि पुगेर बेरोजगार भएकाहरू छन् भने कोही १८ महिनादेखि बेरोजगार भएका नेपालीहरू छन् । उनीहरूलाई सुरुमा सुरक्षा प्रदायक कम्पनीका बिचौलियाहरूले काबुलका विभिन्न होटेलमा खानपिन र बसोवासको बन्दोबस्तसहित राखेका थिए । तर, उनीहरूले जागिर पाएका थिएनन् ।
तालिवानले शासन लिएसँगै काबुलबाट विदेशी नागरिकको उद्धार हुने क्रममा उनीहरू विमानस्थल पुगेर पनि उद्धार हुन पाएका थिएनन् । त्यसपछि काबुलमा रहेका शिख समुदायका गुरुद्वारा हुँदै उनीहरू काबुलस्थित संयुक्त राष्ट्रसंघीय कार्यालयको सुरक्षा प्रदायक कम्पनी आइडिजीको व्यवस्थापनमा राष्ट्रसंघीय हाता (ग्रिनजोन)मा बसेका थिए । उनीहरूलाई काठमाडौं नआउन्जेलसम्मका लागि आइडिजीले खानपिन र बसोवासको प्रबन्ध गरेको छ ।
सुरुमा १७ जना भारतीय, ८५ जना बिदामा आउनुपर्ने सुरक्षाकर्मी तथा उद्धार गर्नुपर्ने ३४ जना नेपाली पूर्वसुरक्षाकर्मीलाई ४ असोजमा काबुलबाट दिल्ली हुँदै काठमाडौं ल्याउने तयारी थियो । आउनुपर्ने सूचीमा १७ जना नेपाली मूलका भारतीय सुरक्षाकर्मी पनि भएकाले दिल्लीमार्फत उडानका लागि आइडिजीले प्रयास गरेको थियो ।
काबुलस्थित संयुक्त राष्ट्रसंघीय कार्यालयको सुरक्षा प्रदायक कम्पनी आइडिजीले ४ असोजमा इरानको महान एयरलाइन्सबाट तेहरान भएर नेपालीहरूलाई काठमाडौं उडान भर्ने तय गरेको थियो । तर, त्यो प्रयास नभएपछि विभिन्न विकल्पमा छलफल भएको थियो । सुरुमा २ असोजमा ल्याउने भनेको आइडिजीले प्राविधिक कारण देखाएर दुई दिन पछि सारेको थियो । अफगानिस्तानबाट उडान भर्ने भनिएका एयरलाइन्सहरूले अन्तर्राष्ट्रिय नियम पालना गरेका छैनन् । भारतमा एयरपोर्टको बक्यौता तिर्न बाँकी र कतिपय कालोसूचीमा रहेका एयरलाइन्सबाट आइडिजीले सुरक्षाकर्मी र उद्धार गर्नुपर्ने नेपालीहरूलाई दिल्ली ल्याउन खोजेका कारण दिल्लीले अनुमति नदिएको एक जानकार अधिकारीले बताए ।
उद्धार गर्नुपर्ने ३४ जना नेपालीमध्ये ३० जनासँग भएको पासपोर्टमा भिसाको म्याद सकिएको थियो । उनीहरूले तिर्नुपर्ने विलम्ब शुल्क सुरुमा आइडिजीले नै व्यहोर्ने भनेको थियो । तर, आइडिजी पन्छिएपछि सरकारका तर्फबाट उक्त रकम तिर्ने वचन दिइएको थियो । दिल्लीस्थित दूतावासले पासपोर्ट नभएका दुईजनालाई काबुलबाट एकतर्फी नेपाल आउन दुईपटक ट्राभल डकुमेन्ट जारी गरिसकेको छ । एक महिना म्याद रहेको ट्राभल डकुमेन्ट दूतावासले दोस्रोपटक जारी गरेर पठाएको छ ।
असोज पहिलो साता अफगानिस्तानको काम एयरलाइन्सले दिल्लीमा उडान भर्न अनुमति मागेको थियो । आइडिजीमार्फत अनुमति माग भएकोमा भारतीय पक्षले अनुमति दिने जवाफ दिएको थियो । तर, अफगानिस्तान सरकारलाई मान्यता नदिएका कारण भारतले काम एयरलाइन्सलाई अनुमति दिने प्रक्रिया अघि बढाएन । काम एयरलाइन्स आफैँमा अन्तर्राष्ट्रिय रूपमा कालोसूचीमा रहेका कारण भारतले अनुमति दिएन । काबुलबाट उद्धार भएर आउने ३४ मध्ये २२ जना नेपाली सेनाबाट र १२ जना भारतीय सेनाबाट सेवानिवृत्त भएकाहरू छन् ।