कागजातविहीन ८ नेपालीलाई अमेरिकी चार्टर विमानबाट काठमाडौं उतारियो

5 Mar, 2025

Suraj Kunwar

आधिकारिक कागजातविहीन आप्रवासीलाई अमेरिकाबाट निष्कासन गर्ने नीति लिएको ट्रम्प प्रशासनले ८ जना नेपालीलाई चार्टर विमानबाट नेपाल पठाएको छ । उनीहरूलाई केहीबेर अघि त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा उतारिएको हो ।
नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार सात जना पुरुष र एक जना महिला बोकेर आएको अमेरिकी वायुसेवा कम्पनी ग्रिफोन एयरको जहाज गल्फजेटस्ट्रिम बिहान ९ बजेर ५३ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।
चार्टर विमान अमेरिकाको न्यु ह्याम्पसर राज्यको पोर्टसमाउथ अन्तर्राष्ट्रिय विमानस्थलबाट आएको हो । अल्बानियाको तिराना अन्तर्राष्ट्रिय विमानस्थलमा त्यहाँका केही नागरिकलाई ओरालेपछि उक्त विमान सोझै नेपाल आएको हो । उनीहरुलाई अल्बानियासम्म हत्कडी लगाइएको थियो ।
ट्रम्पको कार्यकारी आदेशपछि यसअघि नै २७ नेपालीलाई अमेरिकाबाट निकाला गरिसकिएको छ । माघ ७ मा ट्रम्पले दोस्रो कार्यकाल सम्हालेयता नियमित अन्तर्राष्ट्रिय उडानबाट कागजातविहीन नेपाली आउनेक्रम जारी छ । अध्यागमनसम्बन्धी अमेरिकी निकाय ‘इमिग्रेसन एन्ड कस्टम इनफोर्समेन्ट’ (आइस) ले जनवरीमा ६ जना, फेब्रुअरीमा २० जना र मार्चमा १ नेपाली फर्काइसकेको छ । आइसले तीन नेपालीलाई भने पानामा डिपोर्ट गरिएको जनाएको छ । तर उनीहरूलाई पानामा पुर्‍याउनुको कारण खुलेको छैन ।
कागजातविहीन विदेशीलाई आइसका अधिकारीले उनीहरूकै देशमा लगेर छाड्ने गरेका छन् । ‘कस्टम एन्ड बोर्डर प्रोटेक्सन’ (सीबीपी) ले मेक्सिको सीमाबाट बिनाभिसा छिर्न खोज्ने विदेशी नागरिकलाई पक्राउ गरेर मेक्सिको नै फिर्ता पठाउने गरिरहेको छ।

‘डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी’ का अनुसार तत्कालीन राष्ट्रपति जो बाइडेनको चारवर्षे कार्यकालमा करिब ९ हजार नेपाली बिनाभिसा अमेरिका छिरेका थिए । तीमध्ये २ हजार ८ जना आइसको हिरासतमा परेका थिए । अमेरिकाले पहिलो चरणमा १४ लाख ४५ हजार ५ सय ४९ जना आधिकारिक कागजातविहीन आप्रवासीलाई देश निकाला गरिने जनाएको छ । सूचीमा १ हजार ३ सय ६५ जना नेपाली छन् ।
पहिलो चरणमा अमेरिका निकालाको सूचीमा रहेकामा होन्डुरसका सबैभन्दा बढी २ लाख ६१ हजार ६ सय ५१ जना छन्। ग्वाटेमालाका २ लाख ५३ हजार ४ सय १३, मेक्सिकोका २ लाख ५२ हजार ४४ र एल साल्भाडोरका २ लाख ३ हजार ८ सय २२ जना छन्। सूचीमा चीनका ३७ हजार ९ सय ८ र भारतका १७ हजार ९ सय ४० जना छन् । आइसका अनुसार यो सूचीमा २४ नोभेम्बर २०२४ सम्म डिपोर्टका लागि अन्तिम आदेश भइसकेका तर पक्राउ नपरेका समावेश छन् ।

ट्रम्प प्रशासनले गत फेब्रुअरीमा गैरकानुनी रूपमा अमेरिका पस्न खोज्नेको संख्या ८ हजार ३ सय २६ रहेको जनाएको छ। जुन डिसेम्बरको तुलनामा ९७ प्रतिशतले कम हो । उनीहरूलाई तत्काल निष्कासन वा आवश्यकताका आधारमा अमेरिकी कानुनअनुसार कारबाही गरिएको आइसले जनाएको छ।

राष्ट्रपति ट्रम्पले फेब्रुअरीमा गैरकानुनी रूपमा सीमा पार गर्न खोज्नेको संख्यामा कमी आएको भन्दै सामाजिक सञ्जाल एक्समार्फत सीमा सुरक्षामा खटिएकालाई धन्यवादसमेत दिएका छन्। गत डिसेम्बरमा ३ लाख आप्रवासी गैरकानुनी रूपमा अमेरिका प्रवेश गरेका थिए । अमेरिकाले सन् २०२४ मा अवैध रूपमा सीमा पार गर्न खोज्नेमध्ये २ लाख ७१ हजार २ सय २४ लाई सीमाबाटै फर्काएको थियो ।

‘प्यु रिसर्च सेन्टर’ को रिपोर्टअनुसार अमेरिकामा हाल आधिकारिक कागजातविहीन आप्रवासी करिब १ करोड १० लाख छन्। तीमध्ये सबैभन्दा बढी मेक्सिकोका ४० लाख छन् । दोस्रोमा एल साल्भाडोरका ७ लाख ५० हजार छन् । तेस्रोमा भारतका ७ लाख २५ हजार जना छन् । त्यस्तै ग्वाटेमालाका ६ लाख ७५ हजार, होन्डुरसका ५ लाख २५ हजार र भेनेजुएलाका २ लाख ७० हजार छन् । अमेरिकामा रहेका आधिकारिक कागजातविहीन नेपालीको संख्या भने यकिन छैन ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024