कागजातविहीन श्रमिकलाई पनि मलेसियामा सामाजिक सुरक्षा

21 Oct, 2024

सविता खड्का

रोजगारीका सिलसिलामा मलेसिया पुगेका कागजातविहीन श्रमिकलाई त्यहाँको सरकारले सामाजिक सुरक्षा प्रदान गर्ने भएको छ। नेपाली श्रमिकको प्रमुख गन्तव्य मलेसियाले रोजगारदाता कम्पनी छाड्नुका साथै वैध आवासीय भिसा नभएका (कागजातविहीन) विदेशी श्रमिक र मृत्यु भएका श्रमिकका परिवारलाई सामाजिक सुरक्षा प्रदान गर्ने भएको हो।

सन् २०१९ देखि मलेसियाले नेपालसहित विदेशी श्रमिकहरूलाई सामाजिक सुरक्षाको दायराभित्र ल्याएको थियो। तर कागजातविहीन विदेशी श्रमिक र पीडित परिवारलाई थप आर्थिक सुरक्षा दिने गरी सामाजिक सुरक्षाको योजना योभन्दा पहिला ल्याएको थिएन। आगामी डिसेम्बरसम्म मलेसियामा कार्यरत सबै श्रमिकलाई अनिवार्य रूपमा सामाजिक सुरक्षाको रकम भुक्तानी गर्न रोजगारदातालाई निर्देशन दिइएको मलेसियास्थित नेपाली दूतावासका श्रम काउन्सेलर भोलाप्रसाद गुरागाईंले बताए।

मलेसियामा कार्यरत आप्रवासी श्रमिकको सामाजिक सुरक्षाका लागि यो निकै ठुलो प्रगति भएको उनको भनाइ छ। कुनै पनि श्रमिकले दुई वर्ष सामाजिक सुरक्षाको रकम भुक्तानी गरेको अवस्थामा कागजविहीन श्रमिकलाई मलेसियाले सामाजिक सुरक्षाको सुविधा दिने हो,’ उनले भने, ‘सन् २०२४ सम्ममा श्रमिकले पैसा जम्मा गरेको दुई वर्ष पुगेको छ भने त्यस्तो श्रमिकलाई जे–जस्तो अप्ठेरो आइपरे पनि सामाजिक सुरक्षा प्रदान गर्ने भएको छ।’

पैसा जम्मा गरेको दुई वर्षपछि श्रमिकसम्बन्धी जस्तोसुकै घटना भए पनि सबै प्रकारका कामदारलाई सामाजिक सुरक्षा कोषले दिने सबै सुविधा मलेसियाले दिने जानकारी गुरागाईंले दिए। उनका अनुसार मलेसियामा सबैभन्दा बढी समस्या भोग्नेमा कागजातविहीन नेपाली श्रमिक छन् । उनीहरूले मलेसियामा धेरै समस्या भोग्नुपरेको छ। कमाउन मलेसिया पुगेका श्रमिकहरू बिरामी परे सरकारी अस्पतालमा उपचार सेवा पाउनबाट वञ्चितसमेत भएको उनी बताउँछन्।

‘मलेसियामा कुनै पनि श्रमिकको मृत्यु भएमा स्वदेशमा शव पठाउन धेरै गाह्रो छ,’ उनले भने, ‘श्रमिकको मृत्यु भए स्वदेश पठाउने जिम्मा रोजगारदाता कम्पनीको हो। मलेसियामा कागजातविहीन श्रमिक सबैभन्दा बढी पीडित छन्।’ मलेसियाले हरेक श्रमिकले सामाजिक सुरक्षा पाउने सुनिश्चिता भने गर्न जरुरी रहेको उनले बताए।

यो नीतिले वैदेशिक रोजगारीमा खटिएका श्रमिक कोही पनि सामाजिक सुरक्षाबाट वञ्चित हुनुपर्ने गुरागाईंले बताए। मलेसियाको यो नीतिले नेपालीसहितको विदेशी श्रमिकको रोजगारसँग सम्बन्धित तीन विषयलाई सम्बोधन गरेको छ। जसमा कार्यस्थल दुर्घटनामा परी घाइते तथा मृत्यु भए सामाजिक सुरक्षाका सुविधाहरू दिइनेछ। मलेसियामा हरेक वर्ष सरदर चार सय नेपालीको रोजगारजन्य दुर्घटना र रोग लागेर मृत्यु भइरहेको छ।

साथै श्रमिक बेरोजगार भई अर्को रोजगार नपाएसम्मको अवधिमा बेरोजगार भत्ता पाइनेछ। रोजगारीका लागि मलेसिया पुगेका श्रमिक कागजातविहीन भएको अवस्थाका उपचारको सुविधा पाउनेदेखि आफ्नो मान्छेको मृत्यु भई आर्थिक सुरक्षा जोखिममा परेका पीडित परिवारका सदस्यलाई मासिक तलबको तीन तिहाइ रकम दिइनेछ। यसले बिरामी वा अशक्तताका कारण काम गर्न नसक्ने श्रमिकहरूलाई समेटेको छ। श्रमिकको तलबबाट ०.५ प्रतिशत सामाजिक सुरक्षा प्रणालीमा योगदान गर्नुपर्छ। यो श्रमिक आफैंले गएर प्रणालीमा योगदान गर्ने होइन। रोजगारदाताले नै जम्मा गरिदिने श्रम काउन्सेलर गुरागार्इंले बताए।

वैदेशिक रोजगारीका लागि गन्तव्य मुलुक मलेसियामा अहिले विदेशी कामदार भित्र्याउने प्रक्रिया बन्द भएको छ। यो प्रक्रिया कहिलेबाट खोल्ने भन्ने अझै यकिन हुन सकेको छैन। आन्तरिक व्यवस्थापन गर्ने भन्दै गत मे ३१ तारिख (२०८१ जेठ १८ गते) देखि मलेसियाले नेपालसहित सबै स्रोत मुलुकबाट कामदार लैजान रोकेको थियो। विदेशी कामदार ल्याउन रोकेपछि हाल मलेसिया जाने श्रमिकको संख्या निकै घटेको छ। अहिले मलेसियामा सुरक्षा गार्डसहित केही सीमित कामका लागि भने श्रमिक जाने गरेका छन्। अब मलेसियाले कामदार भित्र्याउन कहिले खुला गर्छ भनेर सबै स्रोत मुलुकको चासो बढेको छ।

मलेसियाले विदेशी कामदार रोकेर अवैधानिक रूपमा बसेका विदेशी श्रमिकका लागि घर फिर्ती कार्यक्रम पनि ल्याएको थियो। अवैधानिक रूपमा मलेसियामा बस्दै आएका विदेशी नागरिकलाई २०८० फागुन १८ देखि २०८१ पुस १६ सम्म घर फिर्ती कार्यक्रम ल्याएको हो। आर्थिक वर्ष २०७९÷८० मा दुई लाख १९ हजार नेपाली मलेसिया गएका थिए। वैदेशिक रोजगारीमा सबैभन्दा बढी नेपाली मलेसिया गएका थिए। साथै मलेसियामा काम नपाएर बिचल्ली पर्नेहरूको संख्या बढ्दो थियो । उच्च लागत शुल्क तिरेर मलेसिया पुगेका आप्रवासी श्रमिकहरूले उचित तलबसहितको रोजगारी नपाउने अवस्था भएपछि मलेसियाले कामदार ल्याउन रोकेको थियो। त्यसपछि मलेसिया जानेको संख्या ह्वात्तै घटेको छ।

मलेसियामा कागजातविहीन श्रमिकलाई सामाजिक सुरक्षाको दायराभित्र समेट्नुले आप्रवासी श्रमिक र तिनीहरूका परिवारको लागि यो धेरै ठुलो उपलब्धि हो। त्यसले गर्दा मलेसियामा रोजगारका लागि गएका श्रमिक पीडित भएको अवस्थामा ऊलगायत पीडितका परिवारमा आर्थिक सहयोगको भार कम हुने गर्छ। साथै विदेशी श्रमिकको उत्पादकत्वमा थप सुधार पनि हुन्छ।

वैदेशिक रोजगारीका लागि प्रमुख गन्तव्य मुलुक मलेसिया जाने नेपालीको संख्या अत्यधिक मात्रामा छ । वैदेशिक रोजगार विभागको तथ्याकं अनुसार २०८०/८१ मा एक लाख तीन हजार चार सय ४२ जना नेपाली श्रम स्वीकृति लिएर मलेसिया गएका छन्। त्यसमा पुरूष एक लाख एक हजार जना र महिला दुई हजार चार सय २४ जना छन्।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024