कहाँ छन् अमेरिकाबाट डिपोर्ट भएका ७ भुटानी ?

1 Apr, 2025

पर्वत पोर्तेल

विराटनगर — गत शनिबार अमेरिकाबाट डिपोर्ट भई भुटान आएका १० मध्ये तीन भुटानी नेपालमा पक्राउ परेका थिए । हाल उनीहरूलाई अध्यागमन विभागले अनुसन्धान गरिरहेको छ ।

तर, उनीहरूसँगै डिपोर्ट भई आएका बाँकी ७ जना भुटानीको भने अत्तोपत्तो छैन । उनीहरूलाई पनि भुटानले भुटान–भारत सीमानाका फुन्चोलिङ–जयगाउँमा छाडेको थियो । जयगाउँबाट उनीहरू कता लागे कसैलाई थाहा छैन ।

उनीहरू भारतमै रहेको अनुमान गरिएको छ । सिलिगुडी वा पानीट्यांकी क्षेत्रमा आफन्तको शरणमा उनीहरू रहेको अनुमान गरिएको छ ।

झापाका प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले तीन जनालाई प्रहरीले अनियन्त्रमा लिएर अनुसन्धान गरिरहेको तर उनीहरूसँगै डिपोर्ट गरिएका अन्य ७ जनाबारे कुनै सूचना नभएको बताए । अधिकारीले भने,‘७ जना आएका हुन् वा होइनन् यसबारे हामीलाई कुनै जानकारी छैन, नेपाल पसेकालाई हामीले पक्राउ गरिसकेका छौँ ।’

अन्तर्राष्ट्रिय मानवाधिकार संस्थाहरूले अमेरिका र भुटानका अधिकारीहरूले निर्वासित भुटानी शरणार्थीहरूलाई कानुनी हैसियत प्रदान नगरेको तथा नेपाल र भारतका अधिकारीहरूले पनि उचित मानवाधिकार सुरक्षा प्रदान नगरेको आरोप लगाएका छन् । शरणार्थीहरूको सुरक्षा सुनिश्चित गर्न अधिकारकर्मीहरुको माग छ ।

‘डिपोर्ट भएका भुटानी दाजुभाइ अहिले बेघर भएका छन्,’ अधिकारकर्मी दिल भुटानीले भने,‘उनीहरूलाई मानव अधिकारको रक्षा पहिलो प्राथमिकता हो ।’ भुटानीका अनुसार अहिलेसम्म सम्पर्कमा नरहेका ७ जना भुटानीहरूको सुरक्षाको ग्यारेन्टी गर्न समेत माग गरे । ‘सात जना भुटानी कहाँ र कुन हालतमा छन् मानवताका नाताले पनि खोजबिन गर्न जरुरी छ,’ उनले भने ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024