कम्बोडियाको क्यासिनो भवनमा आगो लागिरहँदा झ्यालबाट झापामा परिवारसँग भिडिओमा लाइभ कुरा गरे, अनि हामफाले

30 Dec, 2022

कम्बोडियाको एउटा क्यासिनोमा आगलागी हुँदा कम्तीमा १९ जनाको मृत्यु भएको छ। दर्जनौ बेपत्ता भएका छन्।थाइल्याण्डको सिमानामा रहेको पोइपेट सहरस्थित ग्राण्ड डायमण्ड सिटी होटल र क्यासिनोमा भएको आगलागीमा परी ७० जना घाइते भएका छन्।

उद्धारकर्ताहरूले भवनमा फसेका पीडितहरूको खोजी गरिरहेकाले मृतकको सं‌ख्या अझै बढ्न सक्ने अनुमान गरिएको बन्तेय मेन्चे प्रान्तका प्रवक्ता सोखोमले सिएनएनलाई जानकारी दिए।सो आगलागीमा परेर झापाको बिर्तामोड घर भएका ४० वर्षीय निराकार पाण्डेको पनि मृत्यु भएको छ।

क्यासिनोमा आगो लाग्दै गएपछि पाण्डेले सो क्यासिनोको १२ औं तलाको कोठाबाट परिवारसँग भाइबरमा लाइभ भिडिओ कुराकानी गरेको परिवार सदस्य खगेन्द्र उप्रेतीले सेतोपाटीलाई बताए।

‘भुइँ तलामा लागेको आगो माथिल्लो तलामा सर्दै गएपछि निराकारले भाइबरमा फोन गरेर परिवारका धेरै सदस्यसँग कुरा गरे। ‘अब मेरो बाँच्ने स्थिति हुन्न म यहाँबाट हामफाल्नुपर्ने हुन्छ’, उप्रेतीले पाण्डेलाई उद्धृत गर्दै भने।

पाण्डेले आफ्ना बुबा अग्नि पाण्डे, आमा, श्रीमती, दाइ र भाइहरूसँग कुरा गरेको उप्रेतीले बताए। उनले परिवारसँग लगभग एक-डेढ घन्टा भिडिओमा कुरा गरेको उप्रेतीले बताए।अग्नि पाण्डे बिर्तामोड नगरपालिका वडा नम्बर १ का अध्यक्ष हुन्।

‘निराकारले भिडिओमा कुरा गरेपछि परिवारमा रूवाबासी भयो। परिवारले हाम नफाल्न बरू माथिल्लो तलामा जान सम्झाएको थियो’, उप्रेतीले भने, ‘हतोत्साही भइसकेकाले हो वा के कारण निराकार माथिल्लो तलातिर गएनन्।’

कम्बोडियामै रहेको निराकारको साथीले पनि हाम नफाल्न र छतमा जान सुझाएको उप्रेतीले बताए।सो क्यासिनोमा १८ तला छ।

निराकारले हेटौंडामा रहेका भाइ-बुहारीलाई पनि फोन गरेको उप्रेतीले बताए। भाइसँग कुरा हुन नसकेपछि बुहारीलाई ‘म अब रहन्नँ, मेरो सानो छोरा (९ वर्षको) लाई तिम्रो छोरासँगै हुर्काउनू, २ जना छोरा ठानेर हुर्काउनू’ भनेको उप्रेतीले बताए।

परिवारसँग कुरा गरिसकेपछि पाण्डेले झ्यालबाट हामफालेको र उनको मृत्युको पुष्टि भएको उप्रेतीले बताए। कम्बोडियामै रहेका उनका साथी सुरेन्द्र श्रेष्ठले पाण्डेको मृत्यु भएको पुष्टि गरेको उप्रेतीले बताए। ‘सुरेन्द्रले अस्पतालमा गएर निराकारको पहिचान गरेर फोटो पठाएका छन्’, उप्रेतीले भने।

निराकार र उनका साथी घुम्न केही समय अघि कम्बोडिया पुगेको उप्रेतीले बताए। आगो निभाउन १२ घण्टाभन्दा बढी समय लागेको थियो। थाइल्याण्डका वारूणयन्त्र पनि आगो निभाउन पोइपेट पुगेका थिए।

सामाजिक सञ्जालमा राखिएका तस्बिरमा पीडितहरू छानाबाट खसिरहेका, सहयोगका निम्ति याचना गरिरहेका र आगोको ज्वालाबीच फसेका देखिन्छन्।

ज्यान जोगाउन आगलागी भइरहेको भवनबाट केहीले हाम फालेका थिए। अरण्यप्रथेत उद्धार फाउन्डेसनका पीरापान श्रीसाकोर्नका अनुसार ज्यान जोगाउन हामफालेकामध्ये दुई जनाको तत्कालै मृत्यु हुनुका साथै अन्य ४-५ जना घाइते भएका छन्।

आगोको चपेटामा होटलका कर्मचारी र छिमेकी थाइल्याण्डका ग्राहक परेका छन्। प्रवक्ता सोखोमले होटलले कोठामा धेरै मानिसहरू अड्किएर भाग्न नसकेको बताए।अधिकारीहरुका अनुसार करिब ७०० थाई नागरिकहरुलाई उद्धार गरी थाइल्याण्डका अस्पतालमा पठाइएको छ।

घटनास्थलमा करिब ३०० प्रहरी, ११ दमकल र केही हेलिकप्टर तैनाथ गरिएको बन्तेय मेन्चे प्रान्तीय प्रहरी प्रमुख मेजर जनरल सिथी लोहले जानकारी दिए। आगलागीको कारण भने खुल्न नसकेको उनले बताए।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024