कमाउन र रमाउन विदेश नै जानुपर्छ भन्ने छैन : अर्थमन्त्री महत

4 Mar, 2024

अर्थमन्त्री डा. प्रकाशरण महतले ग्रामीण क्षेत्रको विकासका निम्ति सरकार प्रतिबद्ध रहेको बताएका छन्। देशमा रोजगारीका अवसरको सिर्जना तथा शैक्षिक रूपान्तरणका माध्यमबाट उन्नयनको मार्गमा अग्रसर हुन सहज हुने भन्दै उनले कमाउन र रमाउन विदेश नै जानुपर्छ भन्ने मान्यताबाट मुक्त हुनुपर्नेमा जोड दिए।

नुवाकोटको शिवपुरी गाउँपालिका–४ सिक्रेस्थित स्याउरीभूमे माध्यमिक विद्यालयको ४१औँ वार्षिकोत्सव तथा अभिभावक भेलालाई आइतबार सम्बोधन गर्दै अर्थमन्त्रीले गाउँगाउँमा विकास र शैक्षिक गुणस्तरमार्फत युवा वर्गलाई रोजगारीमा केन्द्रित गराउने योजना तथा बजेट कार्यान्वयनमा सरकार केन्द्रित रहेको प्रस्ट पारे।

‘गाउँगाउँमा उत्पादन बढाएर गाउँका सामान सहरमा पुर्‍याउनुपर्छ,’ उनले भने, ‘पूर्वाधारको विकास र प्राविधिक–आधुनिक शिक्षामार्फत नयाँ फड्को मार्ने प्रयासमा सरकार केन्द्रित छ।’ युवालाई आफ्नै गाउँमा टिकाउन रोजगारको सिर्जनाका लागि पूर्वाधार विकास र गुणस्तरीय शिक्षा नै पहिलो आधार भएकाले सोहीअनुसार सरकारले नयाँ–नयाँ योजना कार्यान्वयनमा ल्याएको अर्थमन्त्रीले जानकारी दिए। ‘अहिले विकासको रफ्तार सुरु भएको छ। गाउँगाउँमा सडकसहितको पूर्वाधारको विकास र कृषिको आधुनिकीकरण र यान्त्रीकरणबाट उब्जनीलाई बढावा दिँदै ती सामग्री सहरमा पुर्‍याउनुपर्छ,’ उनले भने।

अर्थमन्त्री महतले लामो समयसम्म शिथिल बनेको देशको अर्थतन्त्रमा सुधार हुँदै गएको तथा गाउँमै केही गर्न सकिन्छ भन्ने उद्यमी पनि रहेका उल्लेख गरे। ‘कमाउन र रमाउन विदेश नै जानुपर्छ भन्ने छैन,’ उनले भने, ‘परिवार पाल्न र सन्ततिको भविष्य सुनिश्चित हुने वातावरण नेपालमा नै हुनेछ भन्नेमा विश्वास गर्न आग्रह गर्दछु।’

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024