कन्सल्टेन्सीको ठगी धन्दा

6 Jan, 2023

सविता खड्का

काठमाडौंको वनस्थलीमा कार्यालय रहेको ग्लोबल प्रा.लि.ले करिब ५० जना युवालाई विदेश पठाउने भन्दै प्रतिव्यक्ति २० हजारदेखि ७ लाखसम्म असुल गरेको छ। नेपालका विभिन्न जिल्लाका युवाहरूबाट असुल गर्ने उक्त कन्सल्टेन्सीले अहिले आफ्नो कार्यालय बन्द गरेर त्यसका सञ्चालक बेपत्ता भएका छन्।

कुवेत, कतार, माल्टा, मलेसिया, जापान लगायत अन्य विभिन्न देश पठाइदिने आशा देखाएर युवाहरूबाट पैसा असुली विदेश नउडाएको भन्दै गत मंगलबार लगभग ५० जना पीडितले वैदेशिक रोजगार विभागमा उजुरी दिएका छन्।

कैलालीका सञ्जय कठरियाले आफूलाई मलेसिया लैजाने पक्कापक्की गरेपछि कम्पनीका सञ्चालकले ३ लाख असुल गरेको बताए। उनका अनुसार ‘उक्त कन्सल्टेन्सीमा कार्यरत रिसेप्सनिष्ट अनु श्रेष्ठ र सञ्चालक सुवास अधिकारीले हामीलाई विदेश पठाइदिने भनेर कहिले हान्ड क्यास लिए, कहिले मोबाइल ब्याङकिङ गर्न लगाए र कहिले बैङ्क खातामै पैसा हाल्न लगाए।

उनी भन्छन्, ‘मलाई आउने बुधबार उडाउँछु भनेको थियो। मेरो पासपोर्ट पनि उनीहरू सँगै छ तर अहिले न बनस्थलीमा त्यो कन्सल्टेन्सीको कार्यालय छ न ती सञ्चालकहरूको फोन लाग्छ। छेउछाउमा बुझ्दा शुक्रबार नै कन्सलटेन्सीको सामानसहित फरार भएको जानकारी पायौं।’

नवलपरासी जावाका भूपनारायण चौधरी, पुष्पा चौधरी, सुनसरीको तरहराका मदन पुरी, विष्णु सुब्बा र सुवास अधिकारी उक्त कन्सल्टेन्सीका सञ्चालक रहेको जानकारी पीडित युवा सञ्जय कठरियाले दिए।

चितवनका दिपेन्द्र अर्याल, लक्ष्मण परियार र उमेश अर्याल, गोरखाकी लक्ष्मी दानकुटी र अरू साथीभाइलाई पनि विभिन्न खाडी मुलुक तथा युरोप पठाइदिन्छु भन्दै त्यो कन्सलटेन्सीले लाखौं असुल गरेको कठरियाले बताए।

पीडित युवाहरूका अनुसार उक्त कन्सल्टेन्सीले विदेश उडाउने भन्दै लगभग ५० जनाबाट अन्दाजी १ करोडभन्दा बढी ठगी गरेको छ। ‘यही बुधबार विदेश उडाउने भनेका थिए,’ उनले भने, ‘तर यही आइतबार बनस्थलीमा जादा उक्त कन्सलटेन्सि बन्द थियो। छेउछाउमा बुझ्दा त शुक्रबार नै कन्सल्टेन्सीको सामानसहित फरार भएको जानकारी पायौं।’

चितवनका लक्ष्मण परियारका अनुसार उनलाई कुवेत पठाउने आश्वासन दिएर ८० हजार ठगी गरेको बताए। ‘मलाई कुवेतमा ड्राइभिङका लागि पठाउने भनेको थियो तर म ठगिए,’ उनले भने। परियारका अनुुसार ‘ग्लोबल कन्सल्टेन्सीलका सञ्चालक र कर्मचारी मिलेर म्यानपावर कम्पनी भन्दै दुनियाँलाई ठगी गर्दै आएका रहेछन्।’ परियारले भने ‘ग्लोबल प्रा.लि. म्यानपावर कम्पनी नभएको मंगलबार मात्र थाहा भयो।’

कन्सल्टेन्सीका सञ्चालकहरूले नक्कली राहदानी बनाउँदै व्यक्तिअनुसार बुधबार, बिहीबार र शुक्रबार उडाउने भन्दै बाँकी रहेको पैसा तत्काल दिन प्रोत्साहित गरेका गुनासो पीडित युवाले गरेका छन्। उक्त कन्सल्टेन्सीका सञ्चालक र कर्मचारी बेपत्ता भएसँगै पीडित युवाहरूको राहदानी के हुन्छ भन्ने अन्योल बढेको छ।

उक्त कन्सल्टेन्सीले दर्ता नम्बर २३१९८८/०७६/०७७ पनि उल्लेख गरेको छ। तर विभागमा दर्ता भएका म्यानपावरहरूको सूचीमा यो कम्पनी छैन।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024