कतारमा श्रमिक सुरक्षा र सचेतनामूलक कार्यक्रम सम्पन्न

16 Jan, 2021

गोरखापत्र अनलाइन

काठमाडौं, माघ ३ गते । कतारस्थित नेपाली राजदूतावास दोहाले नेपाली महिलाका लागि श्रमिक सुरक्षा र सचेतनामूलक अन्तरक्रिया कार्यक्रम गरेको छ ।

दूतावासले हिजो ( शुक्रबार) कतारको अल डल्ला कन्टयाटिङ कम्पनीमा कार्यरत ३० जना नेपाली महिलालाई श्रमिक सुरक्षा र सचेतनामूलक कार्यक्रम गरेको दूतावासले जानकारी दिइएको हो ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै कतारका लागि नेपाली राजदूत डा. नार नाथ भारद्वाजले विभिन्न पेशा, व्यवसायमा आवद्ध कतारमा रहनुहुने सबै नेपाली नागरिकहरूले स्थानीय संस्कृति, धर्म र प्रचलित कानून प्रतिकूल नहुने गरी सजक रही आफ्नो पेशा प्रति इमान्दार रहन अनुरोध गर्नुभयो ।

राजदूत भारद्वाजले सहभागी नेपाली सबै महिलाहरुलाई नेपालको ईज्वत र आफ्नो स्वाभिमान र आत्मसम्मानलाई मनमा राखेर कार्य गर्न अनुरोध गर्नुभयो ।

उक्त कार्यक्रममा वैदेशिक रोजगारीका सिलसिलामा कतारमा आउनु अघि र आएपछि गर्न हुने,नहुने कामहरु र कतारको कानूनका विषयमा प्रस्तुतीकरण गरिएको थियो ।

कोभिड १९ को संक्रमणको विद्यमान परिस्थितिमा कतार सरकारद्वारा अवलम्बन गरिएका सुरक्षा र सतर्कताका उपायहरूको पालना गर्दै सबैले थप सजग र सुरक्षित हुनुपर्नेमा जोड दिइएको थियो ।

साथै, राजदूतावासले जारी गर्ने राहदानी र ट्राभल डकुमेन्ट लगायत कन्सुलर सेवाका बारेका पनि सहभागीहरूले उठान गरेका विविध प्रश्नहरूको जवाफ दिइएको थियो ।

उक्त सचेतना कार्यक्रममको उदेश्यबारे द्वितीय सचिव भुवन भट्ट, श्रमसँग सम्वन्धित बिषयमा श्रम काउन्सेलर कृष्णप्रसाद खनाल, राहदानी तथा ट्राभल डकुमेन्ट सम्बन्धी सेवाको वारेमा द्वितीय सचिव श्रचा भट्टराईले प्रस्तुति गर्नुभएको थियो भने द्वितीय सचिव प्रवीण भट्टराईले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।

सहभागीहरुले उठाउनु भएका जिज्ञासाहरूको नियोग उपप्रमुख लक्ष्मण खनालले जबाफ दिनुभएको थियो । कार्यक्रममा राजदूतावासका कूटनीतिक र स्थानीय कर्मचारीहरूको समेत उपस्थिति थियो ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024