कतारमा नेपाली युवकको हत्या

6 Dec, 2021

कान्तिपुर संवाददाता

रोल्पा — वैदेशिक रोजगारको लागि कतार पुगेका रोल्पाका एक युवकको हत्या भएको छ । रोल्पा लुंग्री गाउँपालिका–५ पुरोनोबोज्याङ बडाचौरका ओमबहादुर घर्तीमगरको गत कात्तिक २८ गते हत्या भएको परिवारले जनाएको छ ।

ओमबहादुरकी पत्नी नवीनाका अनुसार कात्तिक २८ गतेदेखि श्रीमान सम्पर्कविहीन भएको र त्यसै दिन हत्या गरिएको हुनसक्ने आशंका गरेकी छन् । घटनाबारे थप जानकारी पाउन र दोषीमाथि कारवाही गर्न माग गर्दै नवीनाले काठामाडौंस्थित परराष्ट्र मन्त्रालय अन्तर्गत कन्सुलर सेवा विभागमा उजुरीसमेत दिएकी छन् ।

उनका अनुसार रोल्पा मिझिङ घर भएका श्रीमानसँगै एउटै कोठामा बस्दैआएका गोपाल घर्ती क्षेत्रीसँग सामान्य विवाद भएको र त्यसै कारणले भान्सा अलग गरेको ओमबहादुरले पहिल्यै जानकारी दिएका थिए ।

‘पहिले श्रीमानसँग साथै बसेको र पछि विवाद भएपछि भान्सा र कोठा अलग्गै गराएको खबर गर्नुभएको थियो’ निवेदनमा उनले भनेकी छन्, ‘कात्तिक २९ गते सोही व्यक्तिबाट चक्कु प्रहार गरी हत्या भएको जानकारी आयो ।’ 

ओमबहादुरले सरकारबाट २०७७ फागुन १७ मा श्रम स्वीकृति लिई कतारको दोहास्थित ताडमुर रुफ्स एन्ड पुल्स डब्लु एल एल भन्ने कम्पनीमा काम गर्न पुगेका थिए । करिब सात महिनाअघि ओमबहादुर राजधानीस्थित गल्फ एशिया म्यान पावर कम्पनी प्रालि मार्फत् कामदार भिसामा कतार पुगेका थिए ।

तर हत्याको खबर पाएपछि घरमा रहेका श्रीमती, साना छोराछोरी र बृद्ध बाआमा मुर्छित् छन् । ओमबहादुरका ठूलोबाका छोरा सुन्दर घर्तीमगरले ओमबहादुरको हत्या भएको खबर पाएपछि परिवार र गाउँ नै शोकमा डुबेको बताए ।

ओमबहादुरकी पत्नी नवीनाले कन्सुलर विभागलाई पत्र लेख्दै मृतकको शव नेपाल ल्याइदिन र दोषीमाथि कारवाही गर्न माग गरेकी छन् । सुन्दरका अनुसार मृतकको शव नेपाल पठाउन कतारस्थित नेपालीहरूको संस्था रोल्पाली सेवा समाज र नेपाली दूतावासले पहल गरिरहेका छन् ।

हत्याको आरोप लागेका गोपाल घर्ती क्षेत्रीलाई त्यहाँको प्रहरीले नियन्त्रणमा लिइसकेको छ भने अनुसन्धान गरिरहेको सुन्दरले बताए । गोपालले ओमबहादुरको हत्या गरेको स्वीकारसमेत गरिसकेको नवीनाले बताइन् ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024