कतारमा क्लिनर भिसामा जाने नेपाली महिला श्रमिक विभिन्न खालका शोषणमा पर्ने गरेका छन् । नेपालका म्यानपावर कम्पनीले क्लिनर भिसामा पठाए पनि कतारका एजेन्टले आप्रवासी महिला श्रमिकलाई ‘अन कल क्लिनर’को काममा पठाउन थालेका छन् । ‘अन कल क्लिनर’मा श्रमिकले व्यक्तिको घरमा नै गएर सरसफाइको काम गर्नुपर्छ । घरमालिकको इच्छाबमोजिम निश्चित समयका लागि श्रमिक हायर गरिएको हुन्छ । कतिपय गलत नियत भएका व्यक्तिले सरसफाइको काम भनेर महिला श्रमिक हायर गर्न खोजेको पनि देखिएको नेपाली संघ कतारका प्रथम उपाध्यक्ष कृष्ण पन्थीले जानकारी दिए ।
नेपाली श्रमिकलाई कतारलगायत मध्यपूर्वमा रोजगारीका लागि जान क्लिनर भिसा सबैभन्दा सहज हो । क्लिनर भिसामा कुनै सीप र दक्षता नचाहिने हुँदा नेपाली महिला र पुरुष श्रमिक यस्तो भिसामा कतार आइपुग्ने गरेका छन् । जसमध्ये महिला श्रमिक भने जोखिममा पर्ने गरेको उनले बताए । कतारले क्लिनर र घरेलु श्रमिकका रूपमा आप्रवासी कामदार भित्र्याउँदै आएको छ । तर, नेपालले भने घरेलु श्रमिक भिसालाई बन्द गरेको छ । जसका कारण अधिकांश नेपाली महिला श्रमिक क्लिनर भिसामा कतार आउने गरेका छन् ।
कतार सरकारले सरकारी, अर्धसरकारी निकायहरूजस्तै विद्यालय, हस्पिटल, बालबालिका स्याहार केन्द्र, सपिङ मललगायका स्थान सरसफाइका लागि क्लिनर भिसामा आप्रवासी श्रमिक भिœयाउने गरेको छ । नेपालबाट यस्तै कामका लागि महिला श्रमिक आए पनि कतारस्थित एजेन्टले ‘अन कल क्लिनर’मार्फत निजी घरको सरसफाइको काममा खटाउने गरेको संघका प्रथम उपाध्यक्ष पन्थीले बताए । ‘अस्पताल, मललगायतका क्षेत्रमा काम गर्ने भनेर महिला श्रमिकलाई कतार ल्याइन्छ । तर, यहाँ आएपछि निजी घरको सरसफाइमा पठाउने गरेका छन्,’ उनले भने । निजी निवासमा नै पुगेर काम गर्नुपर्दा महिला जोखिममा परेको उनको भनाइ छ ।
कतारका राजदूत डा. नरेश ढकालले महिला श्रमिकका लागि कतार सुरक्षित मुलुक रहेको र यहाँ महिलाको अनुमतिविना कसैले केही गर्न नसक्ने बताए । उनले भने, ‘अन कल क्लिनरको विषयमा सुनेको छु । तर, कतार सरकारले यस्ता भिसा दिँदैन । एजेन्टले क्लिनर भिसामा आएकालाई यस्तो खालको काममा पठाउने गरेको सुनिन्छ । तर, यस्तो समस्या भएमा दूतावासमा आएर उजुरी दिनुपर्छ । म सबैलाई आग्रह गर्छु । लिखित रूपमा उजुरी दिनुस् । उजुरी भएपछि नै हामी घटनाको छानबिन गर्छाैँ ।’
सातामै २७ जनाले महिलाले मागे सहयोग
कतारमा ‘अन कल क्लिनर’को काममा आएका नेपाली महिलाहरू शोषणमा परेपछि गैरआवासीय नेपाली संघसँग सहयोग माग्न थालेका छन् । गत साता मात्रै २७ जना नेपाली महिला श्रमिकले रोजगारदाताबाट दुव्र्यवहार भएको भन्दै संघमा गुनासो गरेको संघका प्रथम उपाध्यक्ष पन्थीले जानकारी दिए ।
संघको श्रमिक संयोजक पनि रहेका पन्थीले समस्यामा परेको श्रमिकको गुनासो सुनुवाइका लागि टोल फ्री नम्बर सञ्चालन गरेको बताए । गुनासो गर्ने सबै श्रमिक क्लिनर भिसामा नै कतार आएका हुन् । तर, कतारको एजेन्टले भने ‘अन कल क्लिनर’को काममा लगाएको पीडित महिलाले गुनासो गरेका छन् । कतारमा ३ लाख ६४ हजार नेपाली श्रमिक छन् । जसमध्ये १५ हजार महिला छन् । अधिर्काश महिला क्लिनरका रुपमा कार्यरत रहेको उनको भनाई छ । यो बाहेक करिब ५० हजार नेपाली अबैधानिक रुपमा कतारमा रहेको संघको अनुमान छ ।
कतारमा यस्तो काममा खटाउने १५ हजार क्लिनर कम्पनी छन् । केही नेपालीले सञ्चालन गरेका कम्पनी पनि छन् । ‘क्लिनर भिसामा महिला श्रमिक कतार ल्याएर अन कल क्लिनरको काममा पठाउने चारवटा कम्पनीलाई नेपाली दूतावासलाई अनुरोध गरी ब्लक लिस्टमा राखेका छौँ,’ उनले भने । तर, कतिपय नेपाली महिला श्रमिक शोषणमा परे पनि उजुरी गर्दैनन् । आर्थिक तथा रोजगारीको प्रलोभनले पनि महिलाहरू जोखिम मोलेरै काम गर्ने गरेको संघको भनाइ छ । ‘कतिपय महिला दिदीबहिनीहरू खर्च गरेर कतार आइयो । उजुरी गरियो भने रित्तो हात फर्कनुपर्ला भन्ने डरले पनि बोल्नुहुन्न,’ उनले भने ।
उजुरी गर्न हिचकिचाउँछन् श्रमिक
कतार सरकारले आप्रवासी श्रमिकका लागि कडा कानुन ल्याएको छ । कुनै पनि रोजगारदाताले नियमविपरीत जबरर्जस्ती काममा लगाउन पाउँदैनन् । कतार सरकारले तोकेको पारिश्रमिक र सेवा–सुविधा अनिवार्य भुक्तानी गर्नुपर्ने हुन्छ । कतार सरकारले समय–समयमा कम्पनीहरूको अनुगमन गरी आप्रवासी श्रमिकको गुनासोसमेत सुन्ने गरेको छ । तर, श्रमिकहरूले स्वयं नै समस्या सुनाउन नचाहेको संघको दाबी छ ।
कतार सरकारको नीति राम्रो भएकाले विश्वका विभिन्न मुलुकका नागरिकले व्यवसाय सञ्चालन गरेका छन् । तर, रोजगारदाताले बदमासीले गर्दा श्रमिक जोखिममा पर्छन् । रोजगारदाताले श्रमिक मन नपरेमा विभिन्न आरोप लगाएर जेलमा समेत हाल्ने गरेका छन् । त्यसैले पनि नेपाली श्रमिक समस्या सुनाउनुभन्दा सहेर बस्न चाहने सामाजिक अभियन्ताहरू बताउँछन् ।
नेपाल र कतार सरकारबीच पहिलोपटक सन् २००७ मा श्रम सम्झौता भएको थियो । सुरुवातमा रोजगारदाता कम्पनीले श्रमिकलाई नगद नै पारिश्रमिक दिने व्यवस्था गरेको थियो । नगदमा नै पारिश्रमिक दिने समयमा रोजगारदाताबाट धेरै आप्रवासी श्रमिक ठगिएको कतारमा लामो समयदेखि व्यवसाय गर्दे आएका रोबिन्द महर्जनले बताए । तर, अहिले भने कतार सरकारले बैंक खाताबाट नै भुक्तानी गर्नुपर्ने व्यवस्था गरेको छ । यसले श्रमिकलाई राहत मिलेको उनले बताए ।
‘अन कल क्लिनर’ भनेको के हो ?
‘अन कल क्लिनर’ सेवाग्राहीको मागबमोजिम घरमा नै पुगेर निश्चित अवधिका लागि गरिने सरसफाइको काम हो । यो कामका लागि क्लिनर कम्पनी र सेवाग्राहीबीच अनलाइनमा नै सम्पर्क हुन्छ । यस्ता कम्पनीले एप्लिकेसन तथा अनलाइन विज्ञापन गर्छन् । सेवाग्राहीले पनि एप्लिकेसन वा अनलाइन विज्ञापन हेरी कम्पनीसँग श्रमिकको माग गर्छन् । सेवाग्राहीले निश्चित घन्टा वा निश्चित दिनका लागि पनि श्रमिकको माग गर्दै अनलाइनमार्फत नै शुल्क भुक्तानी गर्छ । क्लिनर कम्पनीले श्रमिकलाई सेवाग्राहीको घरमा नै पुर्याउँछ । तोकिएको अवधिपछि लिन जान्छन् । सेवाग्राहीको घरमा नै पुगेर काम गर्नुपर्ने हुँदा महिला श्रमिक शोषणमा पर्ने सम्भावना अधिक हुने संघको भनाइ छ ।