ओमान पुर्‍याएर यौन व्यवसायमा लगाएको आरोपमा एक जना पक्राउ

26 Mar, 2024

ओमानमा पुर्‍याएर यौन व्यवसायमा लगाएको आरोपमा एक जना पक्राउ परेका छन्।

मानव बेचबिखन अनुसन्धान ब्युरोले एक जनालाई पक्राउ गरेको एसपी गौतम मिश्रले जानकारी दिए।

पक्राउ पर्नेमा पाल्पा घर भई काठमाडौंको तार्केश्वर नगरपालिका वडा नम्बर ६ बस्ने ४० वर्षीय विष्णुबहादुर राना छन्।

उनले एक महिलालाई आकर्षक तलब हुने भन्ने प्रलोभन देखाएर काठमाडौंबाट भिजिट भिसामा महिलालाई ओमानको मस्कटमा पुर्‍याएका थिए। आर्थिक अवस्था कमजोर र साधारण लेखपढ गर्न जान्ने ती महिलालाई मासिक ८० देखि ९० हजार रुपैयाँ पाइने भनेर प्रलोभनमा पारेका थिए।

ती महिला भदौ २६ गते काठमाडौंबाट मस्कट पुगेकी थिइन्।

ओमानमा पुगिसकेपछि विष्णुबहादुरका साथीहरूले ती पीडित महिलालाई विमानस्थलमा रिसिभ गरेका थिए। तर त्यहाँ ती पीडितको मोबाइल र पासपोर्ट जफत गरिएको एसपी मिश्रले बताए। पासपोर्ट पनि च्यातिदिएका थिए।

पीडित महिलालाई उनीहरूले लिएर एउटा घरको कोठामा राखेका थिए। जहाँ नेपालसहित अन्य देशका महिलाहरू पनि फेला परेका थिए।

पीडित महिला त्यस कोठामा ३६ दिन सम्म बसिन्। त्यहाँ बस्दा जबरजस्ती यौन व्यवसायमा लगाएको, नमानेमा कुटपिट गर्ने, खाना पानी नदिने, एसी चिसो र तातो बनाएर शारिरिक यातना समेत दिने गरेको एसपी मिश्रले बताए।

पीडितले आफूलाई नेपाल फिर्ता गरिदिन पनि अनुरोध गरेका थिइन्। त्‍यसका लागि एजेन्टहरूले साढे २ लाख माग गरेका थिए। नेपालमा रहेका श्रीमानले पहल गरी उक्त रकम समेत तिरिएको थियो।

जसअनुसार गत कात्तिक २ गते ती पीडित महिला नेपाल फर्किएकी हुन्। नेपाल फर्किएर पीडित महिलाले प्रहरीलाई जाहेरी दिएपछि यसमा संलग्नलाई पक्राउ गरेको हो। पक्राउ परेका अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका विष्णुबहादुरमाथि पाँच दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024