काठमाडौं : प्रधानमन्त्री केपी ओलीले ओमानका हिज हाइनेस (राजकुमार) शैयद फहाद वीन महमुद अल सइदसँग फोनवार्ता गरेका छन् ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को प्रभाव र त्यहाँ रहेका नेपालीको अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री ओलीले त्यहाँका उपप्रधानमन्त्रीकोसमेत जिम्मेवारी लिएका सइदसँग कुराकानी गरेका हुन् ।
बुधबार साँझ ओलीले सइदसँग कुराकानी गरेको जानकारी ट्वीटरमार्फत् दिए । ठूलो संख्यामा नेपाली कार्यरत खाडी क्षेत्रका नेतासँग कुराकानी गर्ने क्रममा बुधबार हिज हाइनेस सइदसँग कुरा भएको ओलीको भनाइ छ । कुराकानीका क्रममा उनले त्यहाँ रहेका नेपालीको सुरक्षा र सहयोग रहने कुरामा विश्वास दिलाएको ओलीले बताए ।
‘ठूलो संख्यामा नेपाली कार्यरत खाडी क्षेत्रका नेतासँग संवाद गर्ने क्रममा आज साँझ मेरो ओमान सरकारका हिज हाइनेस शैयद फहाद वीन महमूद अल सइदसँग कुराकानी भयो’, ओलीले ट्वीटरमा लेखेका छन्, ‘त्यहाँ कार्यरत नेपालीहरूलाई ओमानको सुरक्षा र सहयोग रही रहनेमा उहाँले मलाई निश्चिन्त पार्नुभएको छ।’