ओडिसामा विद्यार्थीमाथि ज्यादती प्रकरण : विश्वविद्यालय फर्किँदा सुरक्षित हुनेमा ढुक्क छैनन् नेपाली विद्यार्थी

20 Feb, 2025

पर्शुराम काफ्ले,कमलराज भट्ट

भारतको ओडिसामा रहेको केआइआइटी विश्वविद्यालयमा उत्पन्न असहज परिस्थिति शान्त बनाउने चौतर्फी प्रयास भए पनि नेपाली विद्यार्थीमा उत्पन्न त्रास यथावत् छ । २० वर्षीया प्रकृति लम्सालको शंकास्पद मृत्युपछि स्वतन्त्र छानबिनको माग गर्दा छात्रावासबाट अमानवीय व्यवहारसहित जबर्जस्ती निकालिएका विद्यार्थी फर्किनका लागि अझै ढुक्क भइसकेका छैनन् । विश्वविद्यालय सुरक्षित रहेकामा विश्वस्त हुन नसकेको भन्दै उनीहरू फर्किन मानेका छैनन् ।

कुटपिट र चेतावनीसहित छात्रावासबाट निकालिएका नेपाली विद्यार्थीमध्ये तीन सयजना कोलकातामा अलपत्र छन् । पीडित विद्यार्थीको गुनासो र प्रश्न छ, ‘जनावरलाई जसरी लात हानेर निकालिएको छ । कसरी कलेज फर्किने ?’ नियमित पठनमा फर्काउन पहल गरेको नेपाल सरकार र सुरक्षाको सुनिश्चितता गरिने विश्वविद्यालयको प्रतिबद्धताप्रति चरम अमानवीय अत्याचार भोगेका नेपाली विद्यार्थी आश्वस्त भएका छैनन् ।

सोमबार बिहान ८ बजे छात्रावासबाट निकालिएका तीनसयभन्दा बढी विद्यार्थी १२ घण्टा स्थानीय रेलवे स्टेसनमा कुरेर मंगलबार कोलकाता रेलवे स्टेसन पुगेका छन् । भोकभोकै त्यहाँ पुगेका उनीहरूले सामाजिक सञ्जालमा सार्वजनिक गरेको भिडियोमा कलेजमा वार्डेनले जनावरसरह व्यवहार गर्दै कुटपिट गरेको बताएका छन् ।

सोमबार आठ सयभन्दा बढी विद्यार्थीलाई धक्कामुक्की गर्दै छात्रावासबाट निकालिएको थियो । निकालिएका आधा विद्यार्थी घरतर्फ लागेका छन् भने भुवनेश्वरमै रहेका आधा विद्यार्थी छात्रावास फर्किने क्रममा छन् । कोलकाता पुगेका नेपाली विद्यार्थीको समूहले भने वातावरण सहज नभएको भन्दै नफर्किने जनाएको छ ।

विश्वविद्यालय प्रशासनले ‘आफ्नो देश जाऊ’ भन्दै गुन्डा लगाएर लात मारेर निकालिएको पीडित विद्यार्थीले बताएका छन् । ‘हामीलाई बिहान भोकभोकै कलेजबाट निकालियो । १२ घण्टा रेलवे स्टेसनमा कुरेर बल्लतल्ल रेल भेटाएर कोलकाता पुग्यौँ । करिब तीन सय नेपाली छौँ,’ एक विद्यार्थीले भनेका छन्, ‘कलेजले लोकल गुन्डा प्रयोग गरेर निकाल्यो । गार्डको ड्रेसमा गुन्डा लगाएर कुटीकुटी निकाल्यो । आधालाई कटक स्टेसन र आधालाई भुवनेश्वर रेलवे स्टेसनमा ल्याएर छाड्यो । आफ्नो देश जा भनेरसबैलाई लात मारेर निकालिएको छ ।’

कोलकाताबाट अगाडि बढ्न समस्या भएको पनि विद्यार्थीको गुनासो थियो । ‘यहाँसम्म (कोलकाता रेलवे स्टेसन) त आयौँ । अब अगाडि के गर्ने,कसरी जाने थाहा छैन। अझै अरू विद्यार्थी पनि आइरहेका छन्,’अर्का विद्यार्थीले भिडियोमा भनेका छन्, ‘हामीमध्ये कतिपयसँग खाने पैसा छैन, अगाडि जाने टिकट छैन । सबैको घर सात–आठसय किलोमिटर टाढा छ । कसरी जाने भन्ने टुंगो छैन ।’

विश्वविद्यालयले फिर्ता आउन भनेको विषयमा पीडितविद्यार्थीले भनेका छन्, ‘तिमीहरू फिर्ता आऊ त भनेको छ । तर, कसको विश्वासमा जाने ? पहिला लात मारेर पठाउने अनि अहिले के ग्यारेन्टी भएर जाने ? सुरक्षाको ग्यारेन्टी के छ ? अलिकति प्रश्न गर्दा कुटियो, रित्तै फालियो । फेरि संरक्षण दिन्छौँ आइज भन्छ, कसरी विश्वास गर्ने ? यो दोहोरो चरित्र कसरी पत्याउने ?’

पीडित अर्का विद्यार्थीले सुनाए, ‘हामीमाथि अमानवीय व्यवहार भएको छ । हिँड्नसमेत गाह्रो भएको छ । छात्राहरूलाई पनि महिला वार्डेनहरूले कुटपिट गरेर निकाले । जनावरजस्तो व्यवहार भयो । यसरी निकाल्नुपर्ने हाम्रो के अपराध थियो ? बुझ्न सकेका छैनौँ ।’

अर्का विद्यार्थीको भनाइ छ, ‘हामी कलेज जाँदैनौँ । होस्टेलबाट निकालेर फालिदिए । वार्डेन, फ्याकल्टी मेम्बर, स्टाफ सबै लागेर निकाले । अब कलेज को जान्छ ? जुन हिसाबले हामीले कलेजलाई सपोर्ट गरेका थियौँ, यो हालतमा निकाले, अब कसरी फर्किने ?’

विद्यार्थीलाई कलेजले अपराधीजस्तो व्यवहार गरेको अर्का विद्यार्थीको गुनासो छ। ‘दुनियाँलाई देखाउनका लागि फिर्ता बोलाएको छ । तर, असुरक्षाबिच हामी कसरी जाने?’ अर्का विद्यार्थीले भिडियोमा भनेका छन् ।

भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माका अनुसार दिल्लीस्थित दूतावासबाट दुईजना सुरक्षा अधिकारी केआइआइटी विश्वविद्यालय पुगेर मंगलबार नेपाली विद्यार्थी र विश्वविद्यालयका अधिकारीसँग छलफल गरेका छन् । दूतावासमा कार्यरत काउन्सिलर नेपाल प्रहरीका एसएसपी सञ्जीव शर्मा दास र राष्ट्रिय अनुसन्धान विभागका एसएसपी नवीन अधिकारी मंगलबार भुवनेश्वर पुगेका छन् । घटनाक्रममाथि नजर राखिरहेका तथा समस्या समाधानको जिम्मेवारी पाएकाराजदूत शर्माले स्थिति शान्त रहेको भन्दै विश्वविद्यालय फर्किन विद्यार्थीलाई अनुरोध गरेका छन् । ‘मैले संस्थापक अच्युत सामन्तसँग कुरा गरेँ, त्यहाँका उपकुलपतिले घटनाप्रति सार्वजनिकरूपमा माफी मागेका छन् । भुवनेश्वरबाट बाहिर गएका नेपाली विद्यार्थीलाई आउने–जाने टिकट वा पैसा उपलब्ध गराउने, नेपालीको छुटेको परीक्षा अलग्गै व्यवस्था गर्ने, सुरक्षा र सम्मानको पूर्ण प्रत्याभूति गर्ने आश्वासन दिएका छन्,’ राजदूत शर्माले दिल्लीबाट टेलिफोनमा भने, ‘भारत सरकारले हाम्रो चासो तदारुकतासाथ सम्बोधन गरेको छ । अहिले विश्वविद्यालयको स्थिति शान्त छ ।अब नेपाली विद्यार्थीलाई समस्या हुँदैन भनेर आश्वस्त तुल्याइएको छ । अब विद्यार्थी फर्केर पठनपाठनमा सामेल हुनुपर्छ ।’ राजदूत शर्माका अनुसार विद्यार्थीलाई दूतावासले आवश्यक परामर्शको पनि व्यवस्था गरेको छ ।

सोमबार छात्रावासबाट निकालिएका र मंगलबार बिहान फर्केका केही नेपाली विद्यार्थीले परिस्थिति शान्त रहेको बताए । ‘हामी डर र अविश्वासकै बिचमा आयौँ । परिस्थिति सहज र शान्त हुँदैछ । दिल्लीबाट नेपाली दूतावासका अधिकारी आएपछि सजिलो भएको छ,’ पाल्पाका एक विद्यार्थीले टेलिफोनमा भने, ‘बिस्तारै अरू साथीहरू छात्रावास फर्किरहेका छन् । अहिले कसैले नराम्रो भनेको छैन । बरु, गेटदेखि भित्रसम्म सबैले हामीसँग माफी मागेका छन् ।’ सोमबार विद्यार्थीलाई छात्रावासबाट जबर्जस्ती निकाल्ने र नेपालबारे जथाभावी बोल्ने दुईजना छात्रावासका वार्डेन जयन्ती नाथ र मञ्जुषापाण्डेलाई विश्वविद्यालयले निलम्बन गरेको छ । उनीहरूले नेपालको बजेटभन्दा धेरै बजेट त्यहाँका विद्यार्थीलाई खुवाउन विश्वविद्यालयले खर्च गरेको भन्दै नेपाली छात्रासामु नेपालबारे नकारात्मक टिप्पणी गरेका थिए । विश्वविद्यालयका उपकुलपति सरजित सिंहले सार्वजनिकरूपमा क्षमायाचना गर्दै तीनजनालाई निलम्बन गरेको जनाएका छन् । ‘घटनाप्रति हामी क्षमायाचना गर्दछौँ । म विश्वस्त तुल्याउन चाहन्छु कि हामी नेपालीलाई भारतीयजतिकै माया गर्छौँ । अब विद्यार्थीलाई फर्केर कक्षामा सामेल हुन अनुरोध गर्छौँ,’ उपकुलपति सिंहले भनेका छन् । नेपालबारे जथाभावी बोल्ने महिला कर्मचारीले पनि सार्वजनिक रूपमा भिडियो सन्देशमार्फत माफी मागेकी छिन् ।

पाँच पक्राउ, ओडिसा सरकारद्वारा जाँचबुझ समिति गठन

उडिसा प्रहरीले केआइआइटी विश्वविद्यालयमा नेपाली विद्यार्थीमाथि भएको दुव्र्यवहार तथा नेपाली छात्रा प्रकृति लम्सालको मृत्यु प्रकरणमा संलग्न भएको आरोपमा एकजना महानिर्देशक, दुई निर्देशक र दुईजना सुरक्षागार्ड गरी पाँचजनालाई मंगलबार साँझ पक्राउ गरिएको छ । राज्य सरकारले घटनाको छानबिनका लागि उच्चस्तरीय जाँचबुझ समिति पनि गठन भएको छ ।

उडिसा प्रहरीले मानव स्रोत हेर्ने महानिर्देशक शिवानन्द मिश्र, प्रशासन निर्देशक प्रतापकुमार चमुपति र छात्रावास हेर्ने निर्देशक सुधिर रथ तथा सुरक्षा गार्ड रमाकान्त नायक र जोगेन्द्र बोहरालाई पक्राउ गरेको हो । आत्महत्या दुरुत्साहन मुद्दामा विश्वविद्यालयका विद्यार्थी अद्विक श्रीवास्तवलाई सोमबारै पक्राउ गरेर अनुसन्धान थालिसकेको छ । नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्युको छानबिन गर्न माग गर्दै अर्का नेपाली विद्यार्थी सिद्धान्त सिग्देलले दिएको जाहेरीका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

ओडिसाका मुख्यमन्त्री मोहनचरण माझीको अग्रसरतामा राज्यसरकारले जाँचबुझ समिति गठन गरेको र आरोपीलाई पक्राउ गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । मुख्यमन्त्री माझीले सोमबार विश्वविद्यालयको अनुगमनसमेत गरेका थिए ।

राज्य सरकारले गठन गरेको समितिले विद्यार्थीमाथि भएको दुव्र्यवहार तथा शक्तिको दुरुपयोगको जाँचबुझ गर्ने जनाएको छ । जाँचबुझ समितिमा गृह विभागका अतिरिक्त मुख्य सचिव, महिला तथा बाल विकास विभागका सचिव र उच्च शिक्षा विभागका अधिकारी सम्मिलित छन् । ‘समितिले विद्यार्थीमाथ विश्वविद्यालय प्रशासनबाट भएको शक्तिको दुरुपयोगसमबन्धी छानबिन गर्ने र उनीहरूलाई कानुनीरूपमा जवाफदेही बनाउनेछ,’ सूचना विभागको विज्ञप्तिमा भनिएको छ,‘राज्य सरकार विद्यार्थीको सुरक्षा, सम्मान एवं हकहितका लागि कार्य गर्न प्रतिबद्ध छ । निष्पक्ष र शीघ्र न्याय सुनिश्चित गर्न आवश्यक सबै कदम चालिनेछ ।’

ओडिसाको विधानसभामा हंगामा, कलेज संस्थापकलाई गिरफ्तार गर्न माग

केआइआइटी विश्वविद्यालयमा भएको नेपाली विद्यार्थीको मृत्यु घटना र दुव्र्यवहारका विषयमा उडिसाको विधानसभामा मंगलबार बहस भएको छ । विधानसभाको शून्य समयमा बोल्दै भाजपा सांसद बाबु सिंहले विश्वविद्यालयका संस्थापक अच्युत सामन्तलाई पक्राउ गर्न माग गरेका छन् । विपक्षी दलका सांसदहरूले विश्वविद्यालयको घटना राज्यसरकारको फितलो कानुनी शासनको कारण भएको पनि आरोप लगाएका छन् ।

बिजु जनता दलका उपप्रमुख तथा सचेतक प्रताव देवले नेपाली विद्यार्थीको दुःखद निधनले विश्वव्यापीरूपमा उडिसाको नकारात्मक छवि उजागर भएको बताए । कंग्रेसका सांसद ताराप्रसाद बाहिनीपतिले नेपाली विद्यार्थीप्रतिको दुव्र्यवहार र दमनको घटनामा न्यायिक जाँचबुझ आयोग गठन गर्न माग गरे । त्यसैबिच दार्जिलिङका लोकसभा सांसद राजु विष्टले भारतीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानसँग घटनामा चासो राख्दै निष्पक्ष छानबिनको माग गरेका छन् ।

कोलकातामा अलपत्र करिब तीन सय विद्यार्थीको बिलौना– हामीसँग न खाने पैसा छ न अगाडि जाने टिकट, घर कसरी पुग्ने थाहा छैन

विश्वविद्यालयको छात्रावासबाट सोमबार जबर्जस्ती निकालिएका करिब तीन सय विद्यार्थी १२ घण्टा स्थानीय रेलवे स्टेसनमा कुरेर मंगलबार कोलकाता रेलवे स्टेसन पुगेका छन् । भोकभोकै त्यहाँ पुगेका उनीहरूले सामाजिक सञ्जालमा सार्वजनिक गरेको भिडियोमा कलेज प्रशासनले जनावरसरह व्यवहार गरेको, कुटपिट गरेको बताएका छन् । विश्वविद्यालय फर्किन सुरक्षित हुनेमा आफूहरू विश्वस्त हुन नसकेको उनीहरूको भनाइ छ । ‘हामीलाई सोमबार बिहान सुरक्षागार्डको ड्रेसमा लोकल गुन्डाहरू लगाएर कुटिकुटी निकालियो । ‘आफ्नो देश जा’ भनेर आधालाई कटक स्टेसन, आधालाई भुवनेश्वर रेलवे स्टेसनमा ल्याएर छाड्यो । सबैलाई लात मारेर निकालियो,’ एक विद्यार्थीले भनेका छन्, ‘१२ घण्टा रेलवे स्टेसनमा कुरेर बल्लतल्ल रेल भेटाएर कोलकाता पुगेका छौँ । करिब तीन सयजना छौँ ।’

कोलकाताबाट अगाडि बढ्न समस्या भएको उनीहरूले बताएका छन् । ‘यहाँसम्म त आयौँ । अब अगाडि के गर्ने, कसरी जाने थाहा छैन । अझै अरू विद्यार्थीहरू पनि आइरहेका छन् । हामीमध्ये कतिपयसँग खाने पैसा छैन, अगाडि जाने टिकट छैन । सबैको घर सात–आठ सय किलोमिटर टाढा छ । कसरी जाने थाहा छैन,’ अर्का विद्यार्थीले भिडियोमा भनेका छन् । ‘हामीमाथि चरम अमानवीय व्यवहार गरियो । केटी साथीहरूलाई महिला वार्डेनहरूले कुटपिट गरे । हिँड्न गाह्रो भएको छ । नेपाली विद्यार्थीलाई जनावरजस्तो व्यवहार गरियो । वार्डेन, फ्याकल्टी मेम्बर, स्टाफ सबै लागेर निकाले । जेलका अपराधीजस्तो व्यवहार गरियो । यसरी निकाल्नुपर्ने हाम्रो के अपराध थियो ? बुझ्न सकेका छैनौँ,’ अर्का एक विद्यार्थीले भनेका छन् । कलेजले फिर्ता बोलाएको विषयमा उनीहरूले भिडियोमा भनेका छन्, ‘तिमीहरू फिर्ता आऊ त भनेको छ । तर, कसको विश्वासमा जाने ? पहिला लात मारेर पठाउने अहिले के ग्यारेन्टी भएर जाने ? सुरक्षाको ग्यारेन्टी के छ ? अलिकति प्रश्न गर्दा कुटियो, दुव्र्यवहार गर्दै निकालियो । अहिले फेरि संरक्षण दिन्छौँ आइज भन्छ, कसरी विश्वास गर्ने ? यो दोहोरो चरित्रलाई कसरी पत्याउने ?’

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024