देवेन्द्र भट्टराई
बागलुङ घर भएका रत्नाकर जैसी कतारको सहानिया उँट रेस क्षेत्रमा पालिएका उँटहरूको रेखदेख गर्ने काम गर्छन् । उँटलाई दानापानी, नुवाइ-धुवाइदेखि रेसमा दौडने काममा समेत जैसी खटिने गर्छन् ।
तर योभन्दा पर्तिर उँटको दाना राखिएको ठाउँमा बग्रेल्ती आउने मुसा मार्ने कामसमेत उनले नसोचेको कार्यक्षेत्रमा पर्ने गरेको छ ।
बाँके, नेपालगन्ज घर भएका तेरमबहादुर रावल कतारको सहानिया उँटरेसमा दुई वर्षदेखि कार्यरत छन् । पछिल्ला दिनमा तेरमबहादुरको काम दुइटा नागा -पोथी) उँट रेखदेख गर्नु रहेको छ । त्यो पनि रेसमा एक नम्बरमा आएको बेर -भाले) उँटसँग युएईको दुबईमा लगेर संसर्ग गराइएका दुई उँटहरूको गर्भवती सेवामा तेरमबहादुर दिनरात खटिएका रहेछन् । यस्ता उँटलाई धेरै हिंडडुल गर्न दिनु पनि भएन, खानपिन पनि खटाएर र पोषणयुक्त दिनुपर्यो । उँट १३ महिनामा ब्याउने भए पनि भर्खरै चार महिनाका मात्रै गर्भवती भएकाले अबका ९ महिना यिनै नागाको स्याहार गरेर समय कटाउनुपर्ने स्थिति उनको रहेछ । रावलसँगै नेपालगन्जकै मिलन ठकुरीको दैनिकी भने आफ्नो जिम्मामा रहेका ३२ उँटको डिबिन -दिसा) सोहर्ने रहिआएको छ ।
महोत्तरीका रामबालक मण्डल जमेलिया गार्डेन र गोर्खाका देवेन्द्र ढकाल समाल गार्डेनमा बिहानदेखि बेलुकैसम्म गधा जोत्ने काम गरिरहेका हुन्छन् । ट्रयाक्टर लगाउन सकिने ठूलै हिस्साको मरुभूमि भए पनि मजरा -बगैंचा) ठेक्कामा लिने इरानी कपिल -मालिक) ले श्रमिकलाई तह लगाउने उपायमा गधा जोत्ने काम दिएका हुन् । नेपालमा आफ्ना गाउँ छँदा कहिल्यै गोरु वा राँगा जोत्ने अनुभवसम्म नसँगालेका मण्डल र ढकालका लागि बितेको दुई वर्ष यताको गधा जोत्ने कामको भोगाइ जीवनमा कहिल्यै कल्पना नबेहोरेको श्रमको रुपमा रहिआएको छ ।
१२ वर्षदेखि कतार बस्दै आएका झापा -ताराबारी) का दलबहादुर विश्वकर्मा र ६ वर्षदेखि खाडी रोजगारीमा रहेका मोरङ -विराटनगर) का बद्रीप्रसाद पराजुली ‘नाथुर’ -बन्दै गरेका वा खाली घरको चौकिदारी) काममा खटिएका छन् । ५० डिग्रीको तातोमा पनि यी दुईले न एयरकन्डिसन न कुलरकै अनुहार देख्न पाएका छन् । हरेक साँझ मोबाइल ब्याट्री-चार्ज गर्ने क्रममा मरुभूमिका बिभिन्न मजरा र क्याम्पमा भेटिने उनीहरूले सुरुमा आफू के-कुन श्रम सम्झौतामा यता काममा आएका थियौं भन्नेसमेत भुलिसकेका छन् ।
यस्तै लमजुङका शंकर तामाङ र नुवाकोटका रामचन्द्र ढकाल मजराभित्रको खेतीपाती, भातभान्सादेखि भेडाबाख्रालाई दानापानी र नियमित दूध दुहेर इरानी मालिकलाई सेवामा लगिदिने गर्छन् । दाङका वीरबहादुर बुढा र झापा -दुधे) का दीपक सिलवाल उँटको रेखदेखदेखि दूध दुहुने काममा संलग्न छन् । अझ १० वर्षदेखि लगातार कतार बस्दै आएका ५८ वर्षे वीरबहादुर त उँटको नागा र बेर -भाले-पोथी) लाई यौन-संसर्ग गराउने अनौठो ड्युटीमा समेत छन् । संखुवासभाका चेतमान जिमी राई कतारी मालिकको बाँदर, मयूर, घोडा र परेवाको रेखदेखमा खटेका छन् । के कम्पनी, के काम भनेर कसैले सोधेमा हाकाहाकी यी पात्रहरू भनिरहेका हुन्छन्— ‘बाख्री कम्पनी, काम पनि भेडाबाख्राकै ।’
नसोचेको श्रम सहानिया उँट रेसमा कार्यरत नवलपरासीका नारायणप्रसाद भट्टराईका अनुसार यही रेसमा मात्रै २५ हजारभन्दा बढी नेपाली श्रमिक कार्यरत छन् । यो संख्यामा अधिकांश भने गैरकानुनी हैसियतमा छन् । कतारमा रहेका १२ सयभन्दा बढी मजरा र भेडीगोठहरूको स्थिति पनि उही छ । यस्ता नेपालीको मासिक आय औसतमा १५ हजार रुपैयाँ छ, खाने र बस्ने सुविधाबाहेक । यहाँ नेपालीसहित भारतीय वा बंगाली श्रमिकहरू भगौडा हैसियतमा लुकेर काम गरिरहेका भेटिन्छन् । प्रतिव्यक्ति आय र क्रयशक्तिका आधारमा संसारकै एक नम्बर सूचीमा उभिएको कतारमा सन् २०२२ मा हुन लागेको विश्व कपका कारण यहाँको विकास पूर्वाधार र संरचना आशा गरिएभन्दा निकै द्रुतत्तर गतिमा अघि त बढेको छ, तर श्रम बजारमा कायम रहेको सुरक्षा र मर्यादाका अनेक विषयवस्तुहरू एकैचोटि बहसमा बाहिर आउने क्रममा छन् । आकारमा काठमाडौंजत्रो मुलुक कतारका भौतिक र आर्थिक संरचनाहरू दिन दुगुना रात चौगुना फेरिने क्रममा छन् । चौतर्फी रुपमा सडकका संजाल, बहराइन-कतार सामुदि्रक पुल र गतिला खेल स्टेडियमहरूका खाका धमाधम कोरिन थालेका छन् । झन्डै चार लाख नेपाली श्रमिक अब एक वर्षमै यहाँ एक नम्बरमा रहेको भारतीय श्रमिकको संख्यालाई उछिनेर अघि बढ्ने अनुमान गरिंदैछ । फेरि पनि रोजगारी सुरक्षा र मर्यादाको प्रश्न भने जहींको त्यहीं छ ।
श्रम बजारलाई अव्यवस्थित र अमर्यादित पार्ने नयाँ उपायहरू पनि एकैसाथ आइरहेका छन् । ठगी र तस्करीमा बिगतमा देखिने आफन्तजनहरूको जालो कम भएको छैन । साडुभाइ र साडुदाइ, साला र भिनाजु, मामा र भान्जा, काका र भतिजहरूको उस्तै ‘मानवतस्करी संजाल’ अहिले पनि व्याप्त छ । कतारको सुधारिएको श्रम नीतिमा कुनै पनि कम्पनीमा ‘गैरकानुनी कामदार राख्न नपाइने’ भनिए पनि ‘ओपन-सेक्रेट’झैं रहेका मजरा, भेडीगोठ र उँटका स्याहार-सुसारमा अनेक परिबन्दबाट कागजातहीन बनाइएका नेपालीको संख्या उत्तिकै छ । नेपाली दूतावासका एक अधिकारीका अनुसार अहिले कतारको घरफिर्ती केन्द्र भरिभराउ बनेको छ, झन्डै एक हजार नेपाली घर र्फकने दिन पर्खेर बसिरहेका छन् । ‘सकेसम्म आश्रय नदिने’ भन्ने कडाइका साथ नेपाली दूतावासको सेल्टर हाउसमा अहिले पनि केही पुरुष र दुई महिला कामदार बिचल्ली-दैनिकी बेहोरिरहेका छन् । वैदेशिक रोजगार विभागको पहलकदमी र सुरक्षित आप्रवासनको अभियान केही हदमा प्रभावकारी बनेर यहाँसम्म आइपुगेको छ । तर हाउसमेडको कार्यविधि पालनादेखि श्रम सम्झौतामा भए अनुरुपको काम उसले गर्न पाउने अडानहरूमा ‘फलोअप’ हुनसकेको छैन ।
यसबेला हाम्रा रोजगारीका सपना र आकांक्षालाई सम्बोधन गर्नसक्ने एउटा खबर सामुमा छ । नेपाल-कतारबीच चार वर्षअघि सम्पन्न श्रम सम्झौताको कमी-कमजोरी औंल्याउन र यसमा विषयगत मुद्दा थप गर्न आगामी महिना (जुलाई) काठमाडौंमा द्विपक्षीय प्राविधिक समितिको बैठक बस्दैछ । यो बैठकमा कतारमा फेरिन लागेको भनिएको ‘स्पोन्सरसिप’ (काफला) पद्धतिदेखि मजरा, भेडीगोठ र उँटका बथानमा बस्ने ५० हजारभन्दा बढी नेपाली श्रमिकको सुरक्षा र मर्यादामाथि पनि आवाज उठाउने काम गरियोस् । सधैं ठूला एजेन्डा र सम्झौता पर्खेर बस्नुको सट्टा साना तर अर्थपूर्ण यी कामहरू अघि बढाउने पक्षमा नेपाल सरकारको स्वर सुन्न सकियोस् । र राज्यको पद्धतिगत संयन्त्र अथवा आफ्नै लापरबाहीले जे-जसरी भए पनि भगौडा बनेका यी नागरिकहरूलाई सम्बोधन गर्न सकियोस् । राज्य स्वयम्ले उनीहरूलाई घर फिर्ता बोलाउन नसकेको हो |