एनओसी नै नलिई भारत पढ्न जान्छन् विद्यार्थी

20 Feb, 2025

दिनेश गौतम

७ फागुन, काठमाडौं । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्ड्रस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा १ हजार २ सय नेपाली विद्यार्थी अध्ययनरत रहेको पाइएको छ ।

नेपाली छात्रा प्रकृति लम्सालको रहस्यमय मृत्यु भएपछि केआईआईटीमा ठूलो संख्यामा नेपाली विद्यार्थी अध्ययनरत रहेको सार्वजनिक भएको हो । भारतभरि कति नेपाली विद्यार्थी छन्, त्यसको भने यकिन तथ्यांक छैन ।

विदेशमा उच्च शिक्षा अध्ययन गर्न जाने विद्यार्थीले वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) लिनुपर्छ । तर धेरैजसो विद्यार्थीले एनओसी नलिई भारतमा पढ्न जाने गरेको पाइएको छ ।

शिक्षा मन्त्रालयको एनओसी शाखाले गत आर्थिक वर्ष २०८०/८१ मा भारतका लागि २ हजार ३ सय ८९ वटा एनओसी स्वीकृत गरेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को फागुन २ गतेसम्म २ हजार १७ वटा एनओसी स्वीकृत गरेको शाखाका प्रमुख रमेश घिमिरे बताउँछन् ।

‘भारतको हकमा कतिपय विद्यार्थी एनओसी नलिई गएको देखिन्छ । खुला सिमानाका कारण इमिग्रेसनमा समस्या हुँदैन । विश्वविद्यालय पुगेर पढ्न थालेपछि माग्ने गरेको अवस्था छ,’ शाखा प्रमुख घिमिरेले भने, ‘कतिपयलाई एनओसी चाहिन्छ भन्ने थाहा पनि छैन ।’

भारतभरिका लागि वार्षिक २ हजारको हाराहारीमा एनओसी स्वीकृत भएको देखिन्छ । एनओसी लिएका पनि सबै विद्यार्थी अध्ययनका लागि जान्छन् भन्ने पनि हुँदैन । केआईआईटीमा मात्र १ हजार २ सय विद्यार्थी छन् । यसले भारत पढ्न जाने धेरै विद्यार्थीले एनओसी लिएका हुँदैनन् भन्ने देखाउँछ ।

‘ठ्याक्कै विद्यार्थीको संख्या र एनओसीको म्याच हुँदैन,’ प्रमुख घिमिरेले भने, ‘बैंकबाट पैसा पठाउनु परेपछि मात्र एनओसी खोज्ने गरेको पाइन्छ ।’

शैक्षिक परामर्श संघ-संस्थाका अधिकारीहरू पनि खुला सिमानाका कारण नेपाली विद्यार्थी एनओसी बिना नै भारत जाने गरेको बताउँछन् ।

‘भारत जान डलर पनि साट्नु पर्दैन । बैंक एटीएम कार्ड पनि सहज हुन्छ । भारु साटेर जान सकिने भएकाले एनओसी बिनै विद्यार्थी जान्छन्,’ नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का पूर्वअध्यक्ष प्रकाश पाण्डले भने ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशमा उच्च शिक्षा अध्ययन गर्न एनओसी अनिवार्य गरेको छ । तर भारतले अनिवार्य गरेको छैन । ‘एनओसी भारतले अनिवार्य गरेको छैन । काठमाडौं नै आएर एनओसी लिनुपर्ने बाध्यता छ । काठमाडौं बाहिरका विद्यार्थी उतैबाट भारत जाने गरेको पाइन्छ,’ पाण्डेले भने, ‘एनओसी चाहिन्छभन्दा पनि विद्यार्थी र अभिभावकले फलो गरेको पाइँदैन ।’

एनआसी लिएर गएमा भारतको कुन विश्वविद्यालयमा कति विद्यार्थी छन्, कुन विषय पढ्न गएका हुन् भन्ने तथ्यांक राख्न सहज हुने पाण्डे बताउँछन् ।

विद्यार्थीले एनओसी लिएर गएमा सम्भावित दुःखबाट मुक्त हुने निष्कर्ष शिक्षा मन्त्रालयको छ । ‘विदेशको शिक्षण संस्थामा विद्यार्थीले पढ्न प्रक्रिया अगाडि बढाएको हुन्छ । के पढ्न खोज्दैछ, नेपालमा के पढेको हो, कुन संस्थामा जान लागेको हो, त्यो कानुनी प्रक्रिया पूरा गरेको संस्था हो होइन सबै हेरेर एनओसी स्वीकृत गर्छौं,’ एनओसी शाखाका प्रमुख घिमिरेले भने, ‘नेपालमा पढेको र विदेशको शिक्षण संस्थामा पढ्न खोजेको विषयको तालमेल हेरेर एनओसी दिने गरेका छौं ।’

विदेशको शिक्षण संस्थामा अध्ययनका लागि शुल्क पठाउन पनि र डलर सटहीका लागि पनि एनओसी चाहिने घिमिरे बताउँछन् । उच्च शिक्षा अध्ययन पूरा गरेर फर्किएपछि समकक्षता ( इक्युभ्यालेन्ट) गर्न पनि एनओसी लिएको भएमा सहज हुन्छ । एनओसी नलिई जाने र पछि फर्किएपछि इक्युभ्यालेन्ट गर्न विद्यार्थीले समस्या झेलिरहेका छन् ।

‘विद्यार्थीलाई एनओसी अनिर्वाय लिन भनेका छौं । फर्किएपछि इक्युभ्यालेन्टका लागि सहज हुन्छ । मेडिकलका विद्यार्थी पनि पढ्न विदेश गएका हुन्छन् । फर्किएपछि मेडिकल काउन्सिलमा दर्ता गर्न सहज हुन्छ । त्यसैले उच्च शिक्षा अध्ययनका लागि बाहिर जाँदा अनिवार्य एनओसी लिएर जानुपर्छ,’ उनले भने ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले केआईआईटीमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु भएपछि भारतका लागि एनओसी रोक्ने चेतावनी दिएको छ ।

‘उक्त घटनाबाट सिर्जित समस्याको न्यायपूर्ण र वैधानिक रूपमा समाधान नगरिए भविष्यका लागि भारतको ओडिसा राज्यका विश्वविद्यालय शिक्षण सस्थानमा अध्ययनका लागि प्रदान गर्दै आएको वैदेशिक अध्ययन अनुमतिपत्र एनओसी प्रदान गर्ने कार्य स्थगित गर्न सकिने व्यहोरा पनि सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ,’ मन्त्रालयले भनेको छ ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024