एनआरएनए स्पेनले सुरु गर्‍यो दोस्रो चरणको राहत वितरण

18 May, 2020

५ जेठ, बार्सीलोना । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) स्पेनले दोस्रो चरणको राहत वितरणलाई तीव्रता दिएको छ । कोरोना भाइरस (कोभिड-१९) का कारण समस्यामा परेका नेपालीहरुलाई लक्षित गरी संघले शुक्रबारदेखि राहत वितरणलाई सुरु गरेको हो। यसअघि संघले पहिलो चरणमा स्पेनका विभिन्न सहरहरुमा गरी २३० जनालाई खाद्यान्न समाग्रीहरु वितरण गरेको थियो।

दोस्रो चरणमा पनि आइतबार साँझसम्म १२३ जनाले राहत बाडेको संघले जनाएको छ। बार्सिलोनामा ४६ जना र म्याड्रिड,पाइसभास्को र ग्रानक्यानेरिया गरी तीनवटा क्षेत्रीय समितिमार्फत ७७ जनालाई राहत बाँडेको संघका अध्यक्ष दिनेश गुरुङले जानकारी दिए। एनआरएनए केन्द्रले समेत स्पेनका लागि ५ हजार डलर आर्थिक सहयोग पठाएकाले दोस्रो चरणको राहत वितरण गर्न सहज भएको उनले बताए।

राहत वितरण समितिको संयोजकमा शालिकराम डुम्रे रहेका छन् । सदस्यहरु हिरालाल सापकोटा (डायमण्ड) बिदूर गौतम र लक्ष्मण शर्मा छन्। अर्जुन आचार्यको संयोजकत्वमा  व्यवस्थापन समिति रहेको छ। 

व्यवस्थापन समितिका सदस्य सन्तोष पौडेल र स्पेनका गठित कोभिड-१९ आपतकालीन मूल सहयोग समितिका सल्लाहकार गंगाप्रसाद भुसालको विशेष पहलकदमीमा स्थानीय संस्थाबाट खाद्यान्न उपलब्ध भएको छ। बाङ्को दे आलिमेन्तोबाट ( खाद्यन्न राहत संस्था) १ सय जना ब्यक्ति तथा २० जना बालबालिकाका लागि खाद्यान्न सहयोग प्राप्त भएको हो। यी सबै खाद्यान्न समाग्रीहरु पनि एनआरएनए स्पेनमार्फत नै बितरण भइरहेको छ। 

संघले भर्खर स्पेन आएका,काम नभएका, रेसिडेन्सी कार्ड नभएका नेपाली दाजुभाई दिदीबहिनीलाई लक्षित गर्दै राहत वितरण गर्ने जनाएको छ। राहत प्याकेजमा चामल,दाल,तेल,नुन,पास्ता लगायतका खाद्य सामग्रीहरु रहेका छन्।

यसअघि राहत वितरणमा एनआरएनए स्पेन र नेपाली जनसम्पर्क समितिबीच विवाद देखिएको थियो । उनीहरुले छुट्टाछुट्टै रुपमा परामर्श समितिहरुसहित राहत वितरणको प्रक्रिया थालेका थिए । तर अन्तत संघसंस्थाहरु एकजुट हुँदै एकद्वार प्रणालीमार्फत राहत वितरण गर्न जुटेका छन्।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024