एनआरएनएको कागजपत्र दुरूपयोग गरी जापान लैजाने भन्दै ठगेको आरोपमा एक जना पक्राउ

30 Jul, 2024

एनआरएनए जापानका कागजपत्र दुरूपयोग गरी गैरकानुनी रूपमा मानिसहरूलाई जापान लग्ने भन्दै ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

सोमबार दिउँसो ३ बजे नेपाल एयरलाइन्सको फ्लाइटमार्फत् जापानबाट काठमाडौं आएका समीर लामालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो।

मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले सोमबार उनलाई पक्राउ गरेको एसएसपी ओम रानाले जानकारी दिए।

उनले रकम लिएर विभिन्न व्यक्तिहरूलाई जापान पुर्‍याउने आश्वासन दिएको सूचना ब्युरोले पाएको एसएसपी रानाले बताए। यद्यपि यसबारे यकिन गर्ने र सोधपुछको काम सुरू भएको उनले बताए।

‘उनले १० देखि १५ लाखसम्म लिएर मानिसहरूलाई जापान पुर्‍याउने भनेको खबर छ। यकिन गर्ने र सोधपुछको काम हामीले अघि बढाएका छौं,’ उनले भने।

पीडितहरू पनि प्रहरीको सम्पर्कमा आउन थालेको उनले बताए।

एनआरएनए जापानको कागजात नै प्रयोग गरी मानिसहरूलाई जापान लैजाने काम गरेको भन्दै आलोचना हुँदै आएको थियो। आलोचना भएपछि एनआरएनए जापानले गत मंगलबार पत्रकार सम्मेलन गरी एनआरएनएको संलग्नता नरहेको भन्दै प्रष्टीकरण दिएको थियो।

उक्त पत्रकार सम्मेलनमा विभिन्न व्यक्तिहरूलाई एनआरएनएको फर्जी कागजात प्रयोग गरी पर्यटन भिसामा जापान ल्याएको भन्दै समीर लामाले पनि स्वीकारेको उपाध्यक्ष सुभास लामिछानेले जानकारी दिए।

एनआरएनए जापानले जापानस्थित नेपाली दूतावासमार्फत केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)लाई निवेदन पठाइएको थियो।

उक्त पत्रअनुसार नै लामालाई नेपाल फर्काएर प्रहरीको जिम्मा लगाएको उपाध्यक्ष लामिछानेले बताए।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024