एघार जना महिला र बालबालिकाको उद्धार

22 Jul, 2024

बाजुरा, साउन ५ गते । बाजुराका ११ जना महिला तथा बालबालिकाको कञ्चनपुरस्थित गड्डाचौकी नाकाबाट उद्धार गरिएको छ ।

दलालहरूले बाजुरादेखि ललाई फकाइ गरेर भारतका विभिन्न ठाउँमा लैजाने क्रममा शान्ति पुनर्स्थापना केन्द्र गड्डाचौकीले गड्डाचौकी नाकाबाट उनीहरूको उद्धार गरिएको हो ।

रोजगारीको प्रलोभन देखाएर बाजुरादेखि भारतमा लैजाने क्रममा गड्डाचौकी नाकाबाट बाजुराका ११ महिला तथा बालबालिकाहरूको उद्धार गरिएको शान्ति पुनर्स्थापना केन्द्र गड्डाचौकीले जनाएको छ ।

बाजुराको गौमुलका तीन, बडिमालिका एक, खप्तड छेडेदहका चार, त्रिवेणीका दुई, बुढीगङ्गाका तीन जना गरी जम्मा आठ महिला चार बालक गरी एघार जनाको उद्धार गरिएको शान्ति पुनर्स्थापना केन्द्र गड्डाचौकीका सुपरभाइजर मनीषा न्यौपानेले बताउनुभयो ।

उहाँले भन्नुभयो, “भारतमा राम्रो नोकरी दिलाई दिन्छु भन्ने आस देखाएर उनीहरूलाई घरदेखि भारतमा लैजाने क्रममा सोधपुछ गर्दा ती महिला र बालकको उद्धार गरिएको हो ।”

अहिले उनीहरूलाई प्रहरी प्रशासनको सहयोगमा आफन्तकोमा जिम्मा लगाइदिएको सुपरभाइजर न्यौपानेले बताउनुभयो ।

बाजुराको हिमाली, स्वामिकार्तिक, जगनाथ, बुढीनन्दा, बडिमालिका, गौमुल, बडिमालिका बुढीगङ्गा, त्रिवेणी र खप्तड छेडेदह गाउँपालिका अधिकांश स्थानीय कामको खोजीमा भारतका विभिन्न ठाउँमा जाने गर्दछन् ।

अभिभावक भारतमा गएको सिको बालबालिकाहरूले गर्दै गएपछि उनीहरू मानव बेचबिखनमा पर्ने गरेका छन् ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024