एकैपटक ७१ देशमा वैदेशिक रोजगारी खुला गरिँदै

5 Jun, 2023

सरकारले दौंत्य सम्बन्ध भएका सबै मुलुकमा वैदेशिक रोजगारी खुला गर्ने तयारी गरेको छ। योजनाअनुसार नेपालीहरू वैदेशिक रोजगारीका लागि थप ७१ सहित जम्मा १७९ वटा देशमा जान पाउने दाबी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गरेको छ।

नेपालसँग द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापित भएका सबै देशमा सरकारले खुला गरेपनि सबै देशबाट नेपाली श्रमिकको माग आउँछ भन्ने सुनिश्चित भने छैन तर कसैले माग ल्याएमा श्रम स्वीकृति दिन नरोक्ने सरकारी तयारी छ।

आइतबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै श्रम मन्त्रालयले प्रतिबन्धमा रहेको इराकमा समेत वैदेशिक रोजगारी खुला गर्न गृहकार्य भइरहेको बताएको छ। सोही सम्मेलनमा श्रम मन्त्रालयले इराकको अवस्था विगतको जस्तो नभएको भन्दै नयाँ परिवेश मूल्यांकन गरेर वैदेशिक रोजगारीका लागि खुला गर्ने योजना जानकारी गराए।

दाैत्य सम्बन्ध जहाँ–जहाँ कायम भएका छन्, ती सबै देश वैदेशिक रोजगारीका लागि खुला गरिने मन्त्रालयका सचिव एकनारायण अर्यालले बताए। नेपालले अहिलेसम्म १७९ देशसँग दौत्य समबन्ध कायम गरेको छ। सचिव अर्यालले भने, ‘दौत्य सम्बन्ध कायम भएका संसारका सबै मुलुकका लागि श्रम स्वीकृति दिन काम कारबाही अघि बढेको छ।’

‘मन्टेनेग्रोबाट समेत नेपाली श्रमिकको माग भएको छ, किन बन्द गरिरहने?’ सचिव अर्यालले भने,‘ हिजोको जस्तो अवस्था आज इराकमा छैन, इराकमा पुनर्निर्माणका कामहरू भइरहेका छन् र त्यहाँबाट श्रमिकको माग छ, आजको इराकको अवस्था मूल्यांकन गर्नुपर्यो।’

सरकारी घोषणा अनुसार वैदेशिक रोजगारी खुला गरेमा यीसहित ७१ वटा मुलुक एकैपटक नेपालबाट वैदेशिक रोजगारीमा जान पाइने देशका रूपमा सूचीकृत हुनेछन्।

वैदेशिक रोजगारीका लागि प्रायः नेपाली खाडी मुलुक जाने गरेको पाइन्छ। धेरै स्वदेशीहरू कामको सिलसिलामा कलकारखानाका कामदार, सरसफाइ गर्ने कामदार, घरेलु कामदार निर्माण क्षेत्रका कामदार र सुरक्षागार्डका रूपमा विदेशमा जाने गरेका छन्।

म्यानपावरमार्फत्‌ नभई व्यक्तिगत प्रयासमा विदेश जानेमा वेटर, भान्से, र परामर्शदाता लगायतका रूपमा पनि जाने गरेको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाएको छ। मागअनुसार सम्बन्धित देशमा नेपाली कामदारहरू जाने गरेको विभागका अधिकारीहरू बताउँछन्।

‘जहाँबाट जति धेरै कामदारको माग आउँछ त्यहीं नै धेरै जाने हुन्,’ वैदेशिक रोजगार विभागका अधिकारीहरूले भने। नेपाली कामदारहरू जाने गरेका अधिकांश काम कम तलब एवं सुविधा हुने खालका भएको अधिकारीहरू पनि स्वीकार्छन्।

वैदेशिक रोजगारीका लागि १११ देश खुला भए पनि अफगानिस्तान, लिबिया र इराक वैदेशिक रोजगारीमा जान नपाउने गरी कालोसूचीमा राखिएको छ। आन्तरिक गृहयुद्धमा फसेका यी देशहरूमा पनि अब नेपाली श्रमिक पठाउने गृहकार्यमा सरकार छ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024