उदयपुरमा बढ्यो राहदानी बनाउने महिलाको संख्या

16 Aug, 2024

उदयपुरमा पछिल्लो समय राहदानी बनाउने महिलाको संख्या बढ्दै गएको छ।

जिल्ला प्रशासन कार्यालय उदयपुरका अनुसार अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष ०८९/८१ मा राहदानी बनाउने महिलाको संख्या झण्डै एक हजार जनाले बढी छ।

आर्थिक वर्ष ०७९/८० मा राहदानी बनाउने महिला संख्या २ हजार ६ सय ६ जना थियो भने ०८०/८१ मा ३ हजार ५ सय ६५ जनाले राहदानी बनाएका छन्। स्थानीय प्रशासन शाखाका कर्मचारी विमल राना मगरका अनुसार अघिल्लो वर्षको दाँजोमा पछिल्लो वर्ष ९ सय ५९ जना बढी महिलाले राहदानी बनाएका छन्।

अघिल्लो वर्ष जम्मा राहदानी बनाउने लाभग्राहीको संख्या १० हजार ६४ थियो। जसमा पुरुष राहदानी बाहक ७ हजार ३ सय ५८ हुँदा महिला ख्या २ हजार ६ सय ६ जना थिए। सो वर्ष राहदानी बनाएबापत प्रशासन कार्यालयले ५ करोड ६७ लाख ५ हजार ५ सय रुपैँया आमदानी गरेको लेखापाल भोजराज तिम्सिनाले बताए।

त्यसैगरी पछिल्लो आर्थिक वर्ष ०८०/८१ मा राहदानी बनाउने सेवाग्राही १० हजार ७ सय ८८ जना पुगेका प्रशासनको अभिलेखमा उल्लेख छ। जसमध्ये महिला ३ हजार ५ सय ६५ र पुरुष राहदानी बाहक ७ हजार २ सय २३ जना। ०८०/८१ मा राहदानी बनाए बापत कार्यालयले ५ करोड ६५ लाख ६५ हजार राजश्व संकलन गरेको लेखापाल तिम्सिनाले बताए।

सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद रेग्मीले पछिल्लो समय महिला राहदानी बाहक बढ्दै गएको बताए। खास गरी अध्ययनका लागि विदेश जाने युवायुवतीको संख्यामा वृद्धि हुँदै गएपछि राहदानी बनाउन पुरुषसँगै महिला पनि उत्तिकै आउने गरेका छन्। वैदेशिक रोजगारीमा जानका लागि राहदानी बनाउने महिलाहरु पनि बढ्दो क्रममा रहेको सहायक सिडिओ रेग्मीले बताए। तर, अहिलेको सन्दर्भमा राहदानी बनाउनेहरूमा धेरैजसो विद्यार्थी नै रहेका छन्।

कक्षा १२ उत्तीर्ण गरे लगत्तै उच्च शिक्षा अध्ययनको नाममा विदेशिने चाहने युवायुवती राहदानी बनाउन आउने गरेको उनले बताए। विदेशी विश्वविद्यालयमा अध्ययन गर्ने नाममा कमाऊ धन्दा गर्न जान कक्षा १२ उत्तीर्ण गर्नेवित्तिकै राहदानी बनाउन आउने गरेको पाइएको सहायक सिडिओ रेग्मीले बताए।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024