इरानद्वारा इजरायलमाथि आक्रमण : नेपाली नागरिक सुरक्षित

15 Apr, 2024

काठमाडौँ, वैशाख ३ गते । इजरायलस्थित नेपाली राजदूतावासले इजरायलमा कार्यरत नेपाली नागरिक सुरक्षित रहेको प्रस्ट पारेको छ । द्वितीय सचिव कुमारबहादुर श्रेष्ठले इरानले इजरायलका विभिन्न क्षेत्रमा लक्षित गरी क्षेप्यास्त्र आक्रमण गरे पनि नेपाली नागरिकलाई कुनै किसिमको क्षति नभएको जानकारी दिनुभएको हो ।

उहाँले इजरायलका विभिन्न सहरमा कार्यरत नेपालीलाई स्थानीय सुरक्षा निर्देशिका पालना गर्न, सम्बन्धित क्षेत्रका सन्दर्भमा जारी सुरक्षासम्बन्धी सूचनाप्रति जानकार रहन सूचित गरिएको बताउनुभयो । उहाँले टेलिफोनमार्फत भन्नुभयो, “इजरायलमाथि भएको आक्रमणका क्रममा कुनै पनि हताहतीको जानकारी आएको छैन । आक्रमणपछि यहाँ कार्यरत नेपाली साथी हाम्रो सम्पर्कमा आउनुभएको छ तर बलियो आन्तरिक सुरक्षा व्यवस्थापनका कारण त्यस्तो कुनै क्षति हुन पाएन भन्ने जानकारी दिनुभएको छ ।”

उहाँले आफ्नो सुरक्षामा विशेष ध्यान दिन र अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन पनि आग्रह गरिएको बताउनुभयो । उहाँले कुनै समस्या भए दूतावासमा सम्पर्क गर्न आग्रह गर्नुभयो । उहाँका अनुसार इरानको आक्रमणलगत्तै इजरायली होम फ्रन्ट कमान्डले सर्वसाधारणका लागि विशेष निर्देशन जारी गरी शैक्षिक क्रियाकलाप, सभा तथा भेला नगर्न सूचित गरेको छ ।

‘हामी सुरक्षित छौँ’

नेपाली जनसम्पर्क समिति इजरायलका उपसभापति अनु थापाले नेपालीको अवस्था सामान्य रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “इजराजलमा नेपाली विभिन्न क्षेत्रमा कार्यरत हुनुहुन्छ । इरानले आक्रमण गरेको क्षेत्रमा धेरै हुनुहुन्न । जति कार्यरत हुनुहुन्छ उहाँहरू सुरक्षित हुनुहुन्छ ।”

द्वितीय सचिव श्रेष्ठका अनुसार इजराजलमा कार्यरत करिब चार हजार पाँच सय नेपालीमध्ये इरानले निशाना बनाएको क्षेत्रमा एक सय जनाभन्दा बढी नेपाली कार्यरत रहेको जानकारी दूतावासलाई प्राप्त भएको छ । इरानले इजरायलका विभिन्न क्षेत्रमा शनिबार राति ड्रोन र क्षेप्यास्त्र आक्रमण गरेको थियो ।

यसैबिच नेपाल सरकारले वार्ता र कूटनीतिक संवादबाट कुनै पनि द्वन्द्व र विवाद समाधान गर्न सकिने प्रस्ट पारेको छ । सरकारकातर्फबाट परराष्ट्र मन्त्रालयले आइतबार वक्तव्य जारी गर्दै पश्चिम एसियामा बढ्दो तनाव र शत्रुताको अन्त्य शान्तिपूर्ण समाधानमार्फत हुनुपर्नेमा जोड दिएको छ ।

नेपाल सरकारले पश्चिम एसिया क्षेत्रको बढ्दो तनाव र द्वन्द्वको विकासक्रमलाई नजिकबाट नियालिरहेको जनाउँदै त्यस्ता घटनाको वृद्धिप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ ।

वक्तव्यमा भनिएको छ, “नेपाल सरकार विवादको शान्तिपूर्ण समाधानमा दृढ विश्वास गर्दछ र बल प्रयोगको निन्दा गर्दछ । त्यसैले सम्बन्धित सबै पक्षलाई अधिकतम संयम अपनाउन र वार्ता एवं कूटनीतिक माध्यमबाट शान्ति स्थापना गर्न आह्वान गर्दछौँ ।”

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024