इपिएसमा सिप बिल्डिङमा असफलको पुनः परीक्षा हुने

25 Dec, 2023

सन् २०२३ को सिप बिल्डिङ परीक्षामा असफल युवालाई उच्च अदालत पाटनले बिहीबार आदेश दिएपछि २०२४ को परीक्षामा पनि सामेल हुन पाउने अवसर मिलेको छ। वर्षको अन्त्यमा परीक्षा लिँदा सोही वर्ष सामेल हुन नपाउने व्यवस्था भएपछि उनीहरूले अदालतको ढोका ढकढक्याएका हुन्।

अदालतको आदेशसँगै रोजगार अनुमति प्रणाली (इपिएस) शाखाले उनीहरूको पुनः परीक्षाको तयारीलाई लिएर छलफल सुरु गरेको छ। इपिएस शाखा निर्देशक गुरुदत्त सुवेदीले अदालतको आदेश पाएपछि उनीहरूलाई फाराम भर्न दिने विषयमा एचआरडी कोरियासँग छलफल भइरहेको जानकारी दिए।

सन् २०२३ मा परीक्षा दिई अनुत्तीर्ण रहेका २८ हजारभन्दा बढी युवाले दोस्रो पटक पनि परीक्षा दिन पाउनुपर्ने माग गरेका थिए। कोरिया जान सन् २०२४ का लागि सन् २०२३ मै कोटा खुला गरिएको थियो।

सन् २०२३ मा उनीहरूले परीक्षा दिँदा ३७ अंक आउँदा पनि अनुत्तीर्ण भएका हुन्। इपिएसको नियममा हालै खुलेको उत्पादनमूलक क्षेत्रका लागि अनुत्तीर्ण ती सबै युवाले दोहोर्‍याएर परीक्षा दिन पाउनेछैन भन्ने थियो। त्यसको विरोधमा उनीहरूले आन्दोलन गर्नुका साथै उच्च अदालतमा मुद्दा दायर गरेका थिए।

धेरै वर्षदेखि कोरियाली भाषा पढेर तयारीमा रहेका युवा सन् २०२४ का लागि प्रकाशित कोटामा परीक्षा दिन नपाउने भनेपछि आक्रोशित भएका थिए।

भर्खरै खुलेको उत्पादनमूलक क्षेत्रका लागि फाराम भर्ने म्याद पुस २ देखि ६ गतेसम्म मात्र हो। त्यो म्याद शुक्रबार राति १२ बजेसम्म मात्र छ।

आन्दोनकारीले राखेको माग पूरा हुने भएको छ। तर, उनीहरूका लागि एउटा समयावधिको म्यादसहित छुट्टै व्यवस्था गरेर फाराम खुला गरिने व्यवस्थाबारे छलफल गरिँदै छ।’

विभागभित्रै कुटिए म्यानपावर व्यवसायी

एक म्यानपावर व्यवसायीमाथि वैदेशिक रोजगार विभाग परिसरभित्रै कुटपिट भएको छ। वैदेशिक रोजगारीका लागि कुवेत गएर फर्किएकी एक महिलाले केपी इन्टरनेसनल ओभरसिज म्यानपावरका सञ्चालक निर्मल राय अमातमाथि कुटपिट गरेकी हुन्।

ती महिला कुवेतमा आफू ठगिएको भन्दै वैदेशिक रोजगार विभागमा दिन पुगेकी थिइन्। उजुरीउपर छलफल गर्न विभागको कार्यकक्षमा उपस्थित भएका म्यानपावर व्यवसायी अमातमाथि ती महिलाले आफूलाई ठगेको आरोपमा हातपात गरेकी हुन्।

उजुरीबारे छलफल हुँदै गर्दा उजुरीकर्ताका मानिस हौं भनी महिलालगायत अन्य व्यक्तिले विभिन्न अपशब्द प्रयोग गर्दै सञ्चालक अमातलाई हातपात, कुटपिट र गालीगलोजसमेत गरेका थिए।

‘ती महिलालाई म्यानपावर व्यवसायीले आफ्नै खर्चमा टिकट काटेर नेपाल ल्याएको थियो तर विभागमा छलफल भइरहेकै बेला व्यवसायी अमातमाथि कुटपिट भएको हो,’ उनले भने।

संघले विभागभित्रै यस्तो गैरकानुनी कार्य गर्नेलाई कुनै पनि कारबाही नगर्नु गम्भीर र आपत्तिजनक रहेको जनाएको छ। गैरकानुनी कार्य गर्नेहरूलाई कडाभन्दा कडा कारबाही गर्नसमेत माग गरेको छ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024