इजरायल-हेजबुल्लाह भीषण युद्ध, बढ्यो नेपालीको सुरक्षा चासो

25 Sep, 2024

काठमाडौँ — इजरायल–लेबनानको सीमा क्षेत्रमा युद्ध चर्किंदै गएपछि लेबनानमा कार्यरत नेपालीहरूको सुरक्षालाई लिएर चासो बढेको छ । केही दिनयता इजरायल र लेबनानको लडाकु समूह हेजबुल्लाहबीच युद्ध जारी छ ।

लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार इजरायलको आक्रमणबाट लेबनानको दक्षिण भेगमा कम्तीमा ५ सय ५८ जनाको मृत्यु भएको छ भने १ हजार ६ सय जना घाइते भएका छन् । उक्त आक्रमणविरुद्ध इरान समर्थित लडाकु समूह हेजबुल्लाहले इजरायलको उत्तरी भेगमा पनि आक्रमण बढाइरहेको छ ।

युद्धका कारण लेबनानको दक्षिणी भेगबाट हजारौं विस्थापित भएका छन् । इजरायल र हेजबुल्लाहबीच बढ्दो तनावका कारण लेबनानमा रहेका नेपालीहरूको सुरक्षालाई लिएर चासो बढेको हो । इजिप्टस्थित नेपाली दूतावासका अनुसार लेबनानमा करिब ७ सय नेपाली छन् । तिनीहरूमध्ये अधिकांश घरेलु कामदार छन् भने बाँकी होटल र कारखानामा काम गर्छन् ।

नेपाली सेनाका अनुसार युनाइटेड नेसन्स इन्टरिम फोर्स इन लेबनान (युनिफिल) मिसनअन्तर्गत विभिन्न देशका ९ हजार ५ सय ३२ शान्ति सैनिक तैनाथ रहेकामा नेपाली सेनाबाट मात्रै करिब ८ सय ५० जना छन् । लेबनानको मुख्य सहर बेरुतमा १५ वर्षदेखि कार्यरत अशोक थापाले इजरायल र हेजबुल्लाहबीच भइरहेको युद्धबाट पर्न सक्ने जोखिमबारे आफूहरू सचेत रहेको बताए । ‘इजरायलले आक्रमण गरेको क्षेत्र हामी बसेको ठाउँबाट पुग्न दुई घण्टा लाग्छ । त्यो ठाउँमा मुस्लिम समुदायको बाहुल्य छ । यहाँ नेपाली रहेको सूचना हामीसँग छैन,’ उनले कान्तिपुरसँग फोनमा भने, ‘हामी बेरुतमा सामान्य जीवन बिताइरहेका छौं । नियमित काम गरिरहेका छौं ।’

उनले नेपालीहरूबीच एकआपसमा समन्वय बढिरहेको बताए । ‘को कुन ठाउँमा छौं । सुरक्षित र असुरक्षित के छ भनेर सूचना आदानप्रदान गरिरहेका छौं । जबसम्म बेरुतको मुख्य सहरमा तनाव बढ्दैन तबसम्म हामी आत्तिहाल्नुपर्ने अवस्था छैन,’ उनले भने, ‘हामीलाई कम्पनीले पनि तनाव लिनु पर्दैन भनेर आडभरोसा दिइरहेको छ ।’

थापा बेरुतको मुख्य सहरबाट १० किलोमिटर टाढा बस्छन् । ‘यहाँ बम पड्केको आवाज सुनिँदैन । हामीले पनि मोबाइलमा भिडियो हेरेर थाहा पाउने हो । बेला–बेला आकाशमा फाइटर विमानले धूवाँको मुस्लो फालेर जान्छ । त्यो आकाशमा नै पड्किन्छ । यसले हामीलाई सचेत भने बनाइरहेको छ,’ उनले भने, ‘कम्पनीले हामीलाई यो युद्धको वास्ता गर्नु पर्दैन । केही पनि हुँदैन । खानेकुरा भने ल्याएर राख्नु भनेको छ ।’

बेरुतमै रहेकी चन्द्रा जोशीले युद्ध भइरहेको लेबनानको सुर, न्याकुरा, साइदा, जुनुव, हेर्मेल र तर्सिस भन्ने स्थानमा नेपाली नरहेको बताइन् । ‘हाम्रो रोजगारदाताले युद्धबारे हामीसँग खासै कुरा गर्दैन । लेबनानमा यस्तो हुन्छ । यता युद्ध हुँदैन । उता बोर्डरतिर मात्रै हुन्छ भन्छन्,’ उनले भने, ‘युद्धसम्बन्धी समाचार आएको विषय हामीलाई भन्दैन । हामी पुग्दा न्युज च्यानल परिवर्तन गर्छन् । हामीलाई डराउनु पर्दैन भन्छन् । हामीले सोध्यो भने मात्रै युद्धका विषयमा जवाफ दिन्छन् ।’

१० वर्षदेखि लेबनानको ब्रुमानामा कार्यरत रसुवाकी श्रेय थोकरले ‘आफूलाई मालिकले नडराउनु, केही हुँदैन’ भन्ने गरेको बताइन् । ‘तिमीलाई डर लाग्छ भने टिकट काटेर पठाइदिन्छु । हामी बसेको ठाउँमा बम र रकेट आउँदैन भन्छन्,’ थोकरले कान्तिपुरसँग भनिन्, ‘केही भए साहुसाहुनीले पठाइदिने कुरा छ । म त ढुक्कले काम गरिरहेको छु ।’

गत जुलाईमा इजरायलले बेरुतमा हमला गरेर हेजबुल्लाहका वरिष्ठ सैन्य कमान्डर फुआद शुक्रलाई मारिदिएपछि इजरायल–हेजबुल्लाहबीच तनाव बढिरहेको छ । सीमा वारपार लडाइँ भइरहेपछि दुवैतर्फ आफ्नो घरबाट विस्थापित हुनेको संख्या बढिरहेको छ । इजरायलले उत्तरी क्षेत्रबाट विस्थापित भएका १० औं हजारलाई पुनःस्थापना गर्न लेबनानमा आक्रमण बढाउने नीति लिएको छ । लेबनानको दक्षिण भेगबाट लाखभन्दा बढी मानिस विस्थापित भई बेरुत आसपासका क्षेत्रमा आइरहेका छन् । उनीहरूलाई विद्यालयहरूमा राखिएको छ ।

लेबनानको राजधानी बेरुतस्थित पाकैजैद्यमा १७ वर्षदेखि कार्यरत मञ्जु मोक्तानले बेरुतको जनजीवन दिनानुदिन जटिल बन्दै गएको अनुभव सुनाइन् । ‘म बस्ने ठाउँदेखि पूरै मुस्लिम बस्ती छ । त्यही भएर मास्तिर जे पनि हुन सक्छ भनिएको सुन्छु । धेरैजसो मानिसहरू यो ठाउँ छोडेर पहाडतिर सरिसके । हामी पनि सर्ने तरखरमा छौं,’ उनले भने, ‘हिजो राति एकछिन तनावमा थियौं । हामी बस्ने एरियामा पनि हान्ने भो भनेर न्युज निस्केछ । सबैतिर हेर्दा त्यो समाचार फेक भेटेपछि हामी यहीं बस्यौं । नभए सबै सामान प्याक गरिसकेका थियौं । अलि असुरक्षा बढ्यो भने गाउँको घर जानु भन्ने सल्लाह भएको छ ।’

उनले आफूले चाहेको समयमा लेबनान छोड्न रोजगारदाताले अनुमति दिने बताइन् । ‘म एउटै परिवारको सदस्यको हैसियतमा बसिरहेको छु । बुबा–आमा (रोजगारदाता) ले डर लाग्छ भने नेपाल जान सक्छौ भनिरहेका छन्,’ उनले भनिन्, ‘म नेपाल जाँदिन भनिदिएँ । जे होला, होला ।’ घरेलु कामदारका रूपमा बेरुतमै रहेकी माया तामाङले आफूहरूलाई पनि डर लागिरहेको बताइन् । ‘बेरुतको मुख्य सहरबाट १५–२० मिनेट टाढा छौं । डरलाग्दो त भइरहेको छ । खोइ के हुने हो, थाहा नै छैन,’ उनले भनिन् ।

मंगलबार पनि इजरायलले बेरुतको दक्षिणी भेग घोबेरी क्षेत्रमा आक्रमण गर्दा ६ जना मारिएका थिए । यसअघि पनि इजरायलले राजधानी बेरुतमा हेजबुल्लाहका वरिष्ठ नेतृत्व लक्षित हमलाहरू गरेको थियो । इजरायल आक्रमणको गतिलाई अझ बढाउने पक्षमा देखिएको छ । ‘हेजबुल्लाहलाई छुट दिइनु हुँदैन,’ इजरायल रक्षा बलको जनरल स्टाफ चिफ हर्जी हेलेवीको भनाइ छ, ‘हामी आक्रामक अपरेसनलाई गति दिनेछौं । सबै संरचनाहरूलाई कडा पार्नेछौं ।’

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024