इजरायलमा कार्यरत नेपाली श्रमिकले इजरायल र प्यालेस्टिनी समूह हमासबीच बिहीबार बिहान भएको युद्धविरामको निरन्तरता चाहेको बताएका छन् । ‘हामी १६ महिनादेखि युद्धरत भूमिमा छौं । कतिखेर कहाँबाट कस्तो खालको आक्रमण हुन्छ भनेर हरेक दिन त्रासमा बसिराख्यौ,’ गैरआवासीय नेपाली संघ, इजरायलका अध्यक्ष श्रीकृष्ण भण्डारीले भने, ‘अब शान्तिको सास फेर्न पाउने वातावरण बनेको छ । यसले निरन्तरता पाओस् ।’
प्रवासी नेपाली मञ्च, इजरायलका उपाध्यक्ष शिवराज खड्काले युद्धको समयमा स्वतन्त्रपूर्वक हिँड्डुल गर्न रोकिएको बताए । ‘यहाँ हजारौँ नेपाली छन् । युद्धअघि हामीबीच भेटघाट हुन्थ्यो । सहज रूपमा हिँड्डुल गर्थ्यौं । जब इजरायल र हमासबीच आक्रमण सुरु भयो । हामी बाहिर हिँड्डुल गर्न डराउनुपर्ने स्थिति बन्यो,’ उनले भने, ‘नेपालीबीचको जमघट हुन छोड्यो । एक किसिमले होमसिक नै भएजस्तो भयो ।’
नेपालबाट परिवार र आफन्तले स्वदेश फिर्न निरन्तर दबाब दिएको उनले बताए । ‘यहाँ हामी सुरक्षित त थियौँ । तर घरपरिवारलाई त्यस्तो लागिरहेको थिएन । हामीलाई पैसा ठूलो होइन, घर फर्क भनिरहेका हुन्थे,’ उनले भने । खड्का बितेको समयलाई निकै कहालीलाग्दो बताउँछन् । ‘सोच्दै नसोचेको युद्ध भयो । १० जना नेपालीले ज्यान गुमाउनुपर्यो । एक जना अझै बन्धकमा छन्,’ उनले भने, ‘त्यो समय हाम्रा लागि निकै कहालीलाग्दो छ ।’
२० वर्षदेखि इजरायलमा कार्यरत सुनिल श्रेष्ठले आफूहरु मृत्युको नजिक पुगेर पटक–पटक जोगिएको बताए । ‘यो युद्धविरामले राहत दिएको छ । यसले स्थायी रूप पाइदिओस् । हामीजस्तो मृत्युको नजिक पुगेकालाई यसको वास्तविक अर्थ थाहा हुँदो रहेछ,’ उनले भने, ‘मैले २००५, १४ र २३–२४ को युद्धलाई नजिकबाट देखेँ, भोगेँ ।’
युद्धको कारण सेकेल (इजरायली मुद्रा) को मूल्य घट्नुको साथै महँगी निकै बढेको त्यहाँ कार्यरत नेपालीको भनाइ छ । ‘पहिला १ सय डलर साट्न ३ सय १० सेकेल भए हुन्थ्यो । अहिले ४ सय सेकेल नाघ्यो,’ भण्डारीले भने, ‘महँगी पनि ३० प्रतिशत बढेको छ ।’ दुई वर्षअघि इजरायल पुगेकी भक्तपुरकी मञ्जु थपलियाले अब बंकर जिन्दगी समाप्त हुने आशा राखेकी छन् । ‘बंकरमा लुक्न जाँदा त दिक्क लाग्छ । साइरन बज्यो कि बंकरतिर दौडिहाल्नुपर्छ । खतराको महसुस नभए पनि मानसिक रूपमा केही न केही असर पर्नेरहेछ,’ उनले भनिन्, ‘युद्धविराम भएको खबरले हामीलाई थप उत्साहित बनाएको छ ।’