इजरायलले कहिले लैजान्छ छनोट भएका केयरगिभर?

29 Jun, 2022

निर्मला घिमिरे

इजरायलले नेपालबाट दीर्घकालीन सहायक श्रमिक (केयरगिभर) लैजान रोक लगाएपछि छनोट भएकाहरू पनि लामो समयदेखि जान पाएका छैनन्।

तेल अभिभस्थित नेपाली दूतावासका अनुसार इजरायलको परराष्ट्र मन्त्रालयमा जारी कर्मचारी युनियनको आन्दोलनका कारण नेपाली कामदार लैजान रोक लगाएको हो।

वैदेशिक रोजगार विभागले एक हजार एक सय ७५ जना केयरभिगर लैजान सिफारिस गरेको छ। जसअनुसार आठ सय २१ जना महिला र तीन सय ५४ जना पुरूषको अन्तिम नामावली प्रकाशित भइसकेको छ।

तर हालसम्म दुई सय ९७ जना नेपाली मात्र इजरायल पुगेका छन्। बाँकी कामदार जान नपाउँदै इजरायलले भिसा दिन बन्द गरेपछि उनीहरू झण्डै चार महिनादेखि रोकिएका हुन्। अब भने इजरायलले फेरि नेपालबाट केयरगिभर लैजाने इच्छा देखाएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बताएको छ।

अब एक साता पछिबाट नेपालीहरू लैजान सुरू गर्ने गरी अनौपचारिक जानकारी प्राप्त भएको मन्त्रालयका एक अधिकारीले बताए।

ती अधिकारीका अनुसार इजरायल जानेहरूले कोभिड विरुद्ध बुस्टर डोज लगाएको हुनुपर्नेछ। त्यस्तै, कोभिड नभएको प्रमाणित हुने रिपोर्ट पनि साथमा लिनुपर्नेछ। केयरगिभरले त्यहाँ वृद्धवृद्धाहरूको हेरचाह गर्नुपर्ने हुँदा विशेष कडाई गरिनेछ।

इजरायलले म्यानपावर कम्पनी र बिचौलियारहित भर्ना प्रक्रियामार्फत नेपाली कामदार लैजान थालेको थियो। नेपालीहरू एकल ट्रान्जिट उडानमार्फत इजरायल पुग्छन्। त्यहाँ जाँदा लाग्ने शुल्क रोजगारदाताले नबेहोरेको खण्डमा कामदार आफैंले बेहोर्नुपर्ने सम्झौतामा उल्लेख छ।

इजरायल जाने नेपालीले टिकट शुल्कबापत करिब ७० हजार रूपैयाँ तिर्नुपर्छ। भिसा शुल्क तीन हजार लाग्छ। भिसा अवधि पाँच वर्षको हुन्छ। कमाइ मासिक दुई लाख रूपैयाँ हाराहारी हुने उल्लेख छ।

विगतमा पनि नेपालीहरूलाई इजरायल रोजगारीमा पठाउन पटक-पटक प्रयास भएको थियो। चार वर्षअघि नै केयरगिभरमा पठाउन थालिएकोमा निरन्तरता पाउन सकेको थिएन। त्यति बेला नमूना प्रोजेक्टका रूपमा तीन सय नेपाली पठाउने गरी इजरायलसँग सम्झौता गरिएको थियो। विभागको तथ्यांक हेर्दा करिब एक सय नेपाली मात्रै उक्त सम्झौताअन्तर्गत इजरायल पुगेको देखिन्छ।

केयरगिभरसँगै इजरायलले कृषि तथा निर्माण क्षेत्रमा पनि नेपाली कामदार लैजान चाहेको छ। यसका लागि छुट्टै सम्झौता गर्न इजरायल सरकार सकारात्मक रहेको विभागले बताएको छ।

इजरायलको प्राविधिक सहयोगमा नेपालमा कृषि सेन्टर फर एक्सिलेन्स स्थापना गर्न सम्झौता पनि भइसकेको छ। यसबाट इजरायली प्रविधि भित्र्याएर देशको कृषि क्षेत्रको विकासमा टेवा पुग्ने सरकारको विश्वास छ। इजरायल र नेपालबीच त्यहाँ केयर गिभर लैजाने गरी २०७७ असोज १४ गते श्रम सम्झौता भएको हो।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024