इजरायलमा रहेका नेपाली भन्छन्, ‘यस्तो क्षेप्यास्त्र पहिले कहिल्यै देखेको थिएन’

3 Oct, 2024

काठमाडौँ — इजरायलमा मंगलबार साँझ ७ : ३० बज्दै थियो । इजरायल नै थर्किने गरी लगातार साइरन बजिरह्यो । जब इजरायलको आकासमाथि बाहिरी क्षेप्यास्त्रको प्रवेश हुन्छ, तब क्षेप्यास्त्र खस्ने क्षेत्रमा साइरन बज्न सुरु हुन्छ ।

तर, मंगलबार बजेको साइरन निश्चित क्षेत्र मात्रै थिएन । इजरायलभरि नै बजिरह्यो ।

‘म इजरायलमा २००६ देखि कियरगिभरको हैसियतमा काम गरिरहेको छु । मैले मंगलबार साँझ जे भोगे, त्यसअघि कहिले भोगेको थिइनँ,’ इजरायलको नतानिया क्षेत्रमा कार्यरत गीता सुवेदीले इकान्तिपुरसँग भनिन्, ‘हामीलाई आधा घण्टासम्म निकै अत्याइदियो । साइरन बजेको बज्यै गर्‍यो । विस्फोटको ठुल्ठुला आवाजहरु आइरहेको थियो । त्यो बेला अब गइएछ जस्तो लाग्यो ।’

इरानले इजरायलमाथि आक्रमण गरिरहँदा सुवेदीलाई बम र बारुदमुनि आफू बसिरहेको जस्तो लागेको थियो । ‘लेवनान र गाजापट्टीबाट क्षेप्यास्त्र आउँदा खासै डर हुदैन्थ्यो । सामान्य नै लागेको थियो । जब इरानबाट क्षेप्यास्त्र आएको थियो । त्यो बेलाको आवाज नै अर्को थियो,’ उनले भनिन्, ‘मेरो त मुटुले ठाँउ नै छाडेको थियो । बम बारुदमुनि बसेको जस्तो लाग्यो । आगोको झिल्कोले पुरै आकास ढाकेको जस्तो देखियो ।’

इजरायलमा कार्यरत बेनु भट्टराईले आकासबाट तारा झरे जसरी सुलुलु क्षेप्यास्त्र झरिरहेको आफूले देखेको बताइन् । ‘साइरन बजेपछि म यसो बाहिर निस्किएको थिएँ । आकासभरि सुलुलु तारा जतिकै छ्याप्पै क्षेप्यास्त्र देखियो । त्यो क्षेप्यास्त्र ड्याम्म ड्याम्प पड्कियो,’ उनले भनिन्, ‘हाम्रो घर पुरै हिल्लियो । म बस्ने घरमा बंकर छैन । टेवुलमुनि गएर लुकेँ ।’

इजरायलले लेवनानमा स्थलगत आक्रमण सुरु गरेको साँझ इरानले इजरायलमाथि आक्रमण गरेको थियो । दुईसातादेखि इजरायल हिजबुल्लाहमाथिको आक्रमणलाई तीव्रता दिइरहेको छ । इजरायलको आक्रमणबाट हिजबुल्लाह र हमासको वरिष्ठ राजनीतिक र शैन्य अधिकारीहरु मारिइसकेका छन् ।

इरानद्वारा इजरायलभर कम्तीमा एकसय ८० वटा क्षेप्यास्त्र पठाएको इजरायली रक्षा बल (आइडिएफ)को अनुमान छ । जसमध्ये अधिंकाश क्षेप्यास्त्र आकासमा नष्ट गरिदिएको र केही इजरायल र वेष्ट बैंकको भुमिमा झारिदिएको आइडिएफको दाबी छ । आइडीएफका अनुसार इरानको क्षेप्यास्त्र आक्रमणमा एकजनाको मृत्यु भएको र केही घाइते भएका छन् ।

‘क्षेप्यास्त्र आउनुभन्दा अगाडि सतर्क हुन भन्दै पहिला सामान्य जानकारी आउँथ्यो । हिजो (मंगलबार) मोवाइलमा आपतकालीन अलर्ट गरिएको सूचना आयो । यो इरानले क्षेप्यास्त्र पठाउनुअघि दुई मिनेट अगाडि मात्रै थियो । हामीलाई सामान्य बंकरमा नभई घरमुनि (अण्डरग्राउण्ड)मा नै जान भनिएको थियो’, तेलअभिभमा कार्यरत रमेश जोशीले भने, ‘हिजो चाँहि अलि भयवह अवस्था बन्यो ।’

उनले आफूहरु दुई घण्टा बंकरमुनि बसेको बताए । ‘म एउटा कम्पलेक्समा रहेको होटलमा काम गर्छु । हाई अलर्टको सुचना आएपछि हामी जमिनमुनिको बंकरमा गएर दुई घण्टा बस्यौँ । बंकरमा झन्डै तीनसय जना थियो । हरेक तलामा राखिएको सानो बंकरमा नबस्न भनिएको थियो,’ उनले भने,‘अण्डरग्राउडमा बस्दा कोहीसँग सर्म्पक हुदैन ।’

इजरायलले आफूहरुलाई अबको ७२ घण्टा सतर्क भएर बस्न सुचना आएको उनले बताए । ‘बुधवारदेखि यहाँ नयाँ वर्ष सुरु भएको छ । यसबेला जरुरी कामबाहेक बाहिर ननिस्किनु भनिएको छ । आफूलाई चाहिने खाद्यान्य, दुध लिएर बस्नु भनेको छ,’ उनले भने ।

उनले एकठाँउबाट अर्को ठाँउमा जाने बेला आपतकालीन सूचना आउँदा बंकर नभेटिने चुनौती रहेको बताए । ‘यहाँ जो घरमै बसेर काम गर्छन् । उनीहरुलाई त्यति धेरै चुनौती छैन । तर बाहिर भएको बेला साइरन बजेमा नजिकै बंकर नहुँदा ठुलो समस्या हुनसक्छ,’ उनले भने ।

गैरआवासीय नेपाली संघ, इजरायलका अध्यक्ष श्रीकृष्ण भण्डारीले नेपालीहरु सुरक्षित भए पनि त्रासमा बस्नुपरेको बताए ।

‘अहिलेसम्म त नेपालीहरु सुरक्षित छन् । तर मंगलबारको जसरी दैनिक इरानबाट आक्रमण भयो भने फर्कनुपर्ने हुन्छ,’ उनले भने, ‘हिजोको आक्रमणले हामी सबै डराएका छौं । इजराइयले हामीलाई सुरक्षा दिन्छ भन्ने मानसिकता सबै नेपालीमा छ । तर, हिजो जसरी क्षेप्यास्त्र आयो । त्यस्तो मैले कहिले देखेको थिएन । साँचिकै डरलाग्दो थियो ।’

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024