इजरायलमा युद्ध छ, सरकार आफैं श्रमिक पठाउँदैछ

16 Apr, 2024

३ वैशाख, काठमाडौं । इजरायलको राजधानी तेल अविबलगायत क्षेत्रमा इरानले क्षेप्यास्त्र र ड्रोन आक्रमण भएपछि त्यहाँको नेपाली राजदूतावासले आइतबार बिहानैदेखि नेपालीहरूलाई अत्यावश्यक अवस्थामाबाहेक घरबाहिर ननिस्कन अनुरोध गर्‍यो ।

युद्धग्रस्त मुलुक इजरायलको नेपाली दूतावासले नेपालीहरुलाई सुरक्षा मापदण्ड पालना गर्न आग्रह गरिरहँदा सरकारले सोमबार नै २० जना नेपालीलाई रोजगारीका लागि इजरायल पठाउँदैछ ।

इरानको आक्रमणका बाबजुद इजरायल सुरक्षित रहेको दाबी गर्दै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र मातहतको वैदेशिक रोजगार विभागले आफूले छनोट गरेका श्रमिकलाई सरकारी तवरमै इजरायल पठाइरहेको छ ।

अहिले जीटूजी (सरकार–सरकारबीचको समझदारी) प्रक्रियाबाट नेपाली श्रमिकहरु केयर गिभरको काम गर्न धामधम इजरायल गइरहेका छन् । जबकी इजरायलको नेपाली दूतावासले जारी गरेको सूचनाले इजरायलको अवस्था सामान्य नरहेको स्पष्ट गर्छ ।

‘इजरायलमाथि इरानी हमला सुरू भएको सन्दर्भमा हालै इजरायली होम फ्रन्ट कमाण्डद्वारा सर्वसाधारणका लागि नयाँ निर्देशनहरू जारी भएका छन्’, दूतावासद्वारा जारी सूचनामा भनिएको छ, ‘आगामी सोमबार राति ११ बजेसम्म लागू हुने गरी शैक्षिक कृयाकलाप बन्द गर्ने र ठूलो स्तरको सभा/भेला नगर्ने भनी निर्देशन जारी भएको हुँदा आवश्यक सुरक्षाका लागि नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई स्थानीय सुरक्षा प्रोटोकलहरूको पालना गर्न, आफ्नो क्षेत्रका लागि जारी गरिएका अद्यावधिक सूचना बारेमा जानकार रहन र आफ्नो सुरक्षातर्फ विशेष ध्यान दिन, अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन तथा सुरक्षित आश्रयस्थलको सुविधा भएको स्थलको आसपासमै रहन समेत हार्दिक अनुरोध गर्दछौं ।’

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024