इजरायलमा मृत्यु भएका विद्यार्थीका परिवारलाई कर्णाली सरकारले राहत दिने

12 Oct, 2023

हमास समूहको आक्रमणबाट इजरायलमा मृत्यु भएका विद्यार्थीका परिवारलाई कर्णाली प्रदेश सरकारले राहत स्वरूप तीन लाख रुपैयाँ दिने भएको छ।

बुधबार बसेको मन्त्रिपरिषदको बैठकले इजरायलमा मृत्यु भएका विद्यार्थीका परिवारलाई कर्णाली प्रदेश सरकारले तीन लाख रुपैयाँ दिने घोषणा गरेको हो।

‘असोज २० गते दक्षिण इजरायलमा प्यालेस्टाइनी समूह हमासले गरेको आक्रमणमा परी मृत्यु हुने कर्णाली प्रदेशका नागरिकका परिवारलाई तीन लाख रुपैयाँ प्रदान गर्ने घोषणा भएको छ। इजरायलमा जोखिममा रहेका नेपालीलाई छिटो उद्दारको लागि नेपाल सरकारलाई आग्रह गर्ने निर्णय भएको छ,’ कर्णाली प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीले भने।

कर्णाली प्रदेशबाट सल्यानका प्रवेश भण्डारीको इजरायलमा मृत्यु भएको थियो। हमासको आक्रमणबाट १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो। एक जना विद्यार्थी अझै बेपत्ता छन्।

यस्तै बुधबारको मन्त्रिपरिषद बैठकले कर्णाली प्रदेशमा भएको नेपाल बार एशोसिएनको नियमित वार्षिक साधारण सभा सम्पन्न गर्न सहयोग घोषणा गरिएको १५ लाख रुपैयाँ अनुमोदन गरेको उनले जानकारी दिए।

यो वर्षको वर्षायाममा वर्षा, हावाहुरी लगायतका प्राकृतिक प्रकोपबाट प्रदेशका विभिन्न जिल्लाहरूमा भएको बालीनाली तथा पशुपन्छीहरूको क्षतिपूर्तिस्वरूप कृषकलाई राहत प्रदान गर्न ६ करोड रुपैयाँ मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको छ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024