इजरायलबाट उद्धार गरिएका सात नेपाली गड्डाचौकी नाकाबाट घर फर्किए

19 Oct, 2023

द्वन्द्वग्रस्त इजरायलबाट उद्धार गरेर भारतको राजधानी नयाँदिल्ली हुँदै सातजना नेपाली महेन्द्रनगर आइपुगेका छन् । बिहीबार बिहान ९ बजेतिर दिल्ली हुँदै उनीहरू नेपाल आइपुगेका हुन् ।

इजरायलको तेलअभिभबाट मंगलबार बिहान ९ बजे भारतीय स्पाइस जेट विमानमार्फत १८ जना नेपालीलाई उद्धार गरेर ल्याइएको थियो । जसमध्ये सातजना गड्डाचौकी नाका भएर नेपाल प्रवेश गरेका हुन् । पाँचजना दिल्लीबाट काठमाडौं आएका थिए । दुईजना आफ्नै खर्चमा घर फर्किए भने एकजना मुम्बई गएका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख कमल थापाले इजरायलबाट दिल्ली पुगेकामध्ये सातजना मात्रै गड्डाचौकी नाका भएर महेन्द्रनगर आइपुगेको बताए । कैलालीको टीकापुर नगरपालिका– १ का नन्दसिंह भुल, मोरङ उर्लाबारी– ६ का निश्चल श्रेष्ठ, काठमाडौंका राजकुमार मानन्धर, श्वेता गुरुङ, ममता थापा, दिलकुमारी अधिकारी र लक्ष्मण दियाल नेपाल आइपुगेका हुन् । उनीहरूलाई प्रहरीले महाकाली यातायात कम्पनीसँग समन्वय गरेर निश्चित गन्तव्यसम्म पुर्‍याउने भएको छ । कञ्चनपुर प्रहरी प्रमुख थापाले टीकापुर र मोरङका दुईजना युवकलाई महाकाली यातायात कम्पनीको बसमार्फत गन्तव्यमा पठाइने बताए ।

काठमाडौंका पाँचजनालाई महाकाली यातायातको सवारीसाधनमार्फत धनगढी एयरपोर्टसम्म पुर्‍याइने भएको छ । महाकाली यातायात कम्पनीका अध्यक्ष डम्बरदत्त पन्तले दिल्ली रुटबाट महेन्द्रनगर पुगेका सातैजना नेपालीलाई निश्चित गन्तव्यमा पुर्‍याइएको बताए । प्यालेस्टाइनी हमास समूहले इजरायलमा आक्रमण गरेपछि त्यहाँ रहेका नेपाली नागरिक त्रसित भएर फर्किने क्रम जारी छ ।

सातजना नेपालीलाई दिल्लीस्थित नेपाली दूतावासले सवारीसाधन प्रबन्ध गरेर महेन्द्रनगर पुर्‍याएको थियो । २० असोजमा हमास समूहले इजरायलमाथि हमला गर्दा सुदूरपश्चिम विश्वविद्यालयका १० विद्यार्थीको निधन भएको थियो । भीमदत्त नगरपालिका– ३ भाँसी महेन्द्रनगर कञ्चनपुरका विद्यार्थी विपिन जोशी अझ बेपत्ता छन् । जोशीलाई हमास समूहले अपहरण गरेको आशंका गरिएको छ ।

इजरायलमा असुरक्षित महसुस गरेपछि मातृभूमि फर्किएँ : श्वेता गुरुङ

द्वन्द्वग्रस्त मुलुकबाट मातृभूमि आइपुगेका नेपाली नागरिकले खुसी व्यक्त गरेका छन् । उनीहरूले आफूहरू बसेको स्थानमा द्वन्द्व नचर्किए पनि त्रासले स्वदेश फर्किएको बताएका छन् । १४ वर्षदेखि इजरायलमा कार्यरत काठमाडौंको टोखा नगरपालिका– ८ की श्वेता गुरुङले मातृभूमि आइपुगेपछि खुसी व्यक्त गरिन् । उनले आफू १४ वर्षदेखि इजरायलको जेरुसेलममा कार्यरत भएको बताउँदै पहिलोपटक ठूलो क्षति भएको अनुभव सुनाइन् । त्यहाँ बस्न असुरक्षित भएपछि स्वदेश फर्किएको उनले बताइन् । ‘१४ वर्षदेखि इजरायलमा कार्यरत थिएँ । अहिलेसम्म यति ठूलो क्षति भएको देखिेको थिइनँ । सन् ०१२ र ०१४ मा पनि भइराखेकै थियो, तर यति ठूलो अहिलेसम्म भएको थिएन,’ उनले भनिन्, ‘आफ्नो भूमि नेपाल सकुशल आइपुगियो, खुसीको सीमा नै छैन, धन्यवाद नेपाल सरकार ।’

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024