काठमाडौँ — इजरायलको राजधानी तेल अभिभस्थित एउटा कम्प्लेक्सभित्र होटलमा काम गरिरहेका कैलालीका रमेश जोशीको मोबाइल फोनमा मंगलबार साँझ एक्कासि ‘हाई अलर्ट’ को घण्टी बज्यो । उनले हत्तपत्त मोबाइल हेरे, जसमा दुई मिनेटभित्र घरमुनिको बंकरमा जान सचेत गराइएको सन्देश थियो । ‘पहिला–पहिला पनि मोबाइलमा आपत्कालीन सूचना आउँथ्यो तर मंगलबारको सूचना विशेष खालको थियो,’ उनले भने, ‘सामान्य बंकरमा नभई अन्डरग्राउन्ड नै जान भनिएको थियो ।’
इजरायलको हरेक घरमा बंकर अनिवार्य बनाउनुपर्छ । ठूलो घरमा तलैपिच्छे एउटा कोठामा बंकर हुन्छ । तर जमिनमुनिकै बंकरमा जान सूचित गरिएपछि ठूलै संकट आउन लागेको अड्कल भयो । कम्प्लेक्समा रहेका करिब तीन सय कामदार हस्याङफस्याङ गर्दै बंकरतर्फ दौडिए । ‘बंकर पुगेको दुई मिनेटमै इजरायलको आकाशमा मिसाइल (क्षेप्यास्त्र) आउन थाल्यो,’ जोशीले सुनाए, ‘निकै डरलाग्दो अवस्था थियो ।’ जोशीसहितले त्रासपूर्ण अवस्थामा स्थानीय समयअनुसार साँझ साढे ७ बजेदेखि दुई घण्टा बंकरमा बिताएका थिए ।
क्षेप्यास्त्र तेल अभिभबाट करिब १६ सय किलोमिटरको दूरीमा रहेको इरानको तेहरानबाट प्रहार गरिएको थियो । ती क्षेप्यास्त्र १ सय २५ किलोमिटर दूरीमा रहेको इजरायल–लेबनानको सीमा क्षेत्रबाट हेजबुल्लाह र ८५ किमि दूरीमा रहेको गाजापट्टीबाट हमास लडाकुले प्रहार गरेको जस्तो कमजोर थिएन । इरानी सञ्चारमाध्यमका अनुसार तेहरानले मंगलबार नयाँ क्षेप्यास्त्र ‘फताह–१’ प्रयोग गरेको थियो । तीव्र गतिको उक्त क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीबाट समेत जोगिने दाबी छ ।
हेजबुल्लाह प्रमुख हसन नसरल्लाह र हमासका राजनीतिक प्रमुख इस्माइल हनियाहको हत्याको प्रतिक्रियामा इरानले इजरायलमाथि मंगलबार करिब दुई सय क्षेप्यास्त्र प्रहार गरेको थियो । हसनको गत शुक्रबार र इस्माइलको गत जुलाई ३१ मा हत्या गरिएको थियो । इजरायली सेनाले हेजबुल्लाहविरुद्ध जमिनबाट आक्रमण सुरु गरेको केही घण्टामै मंगलबार इरानले क्षेप्यास्त्र प्रहार गरेको थियो । इरानले प्रहार गरेका क्षेप्यास्त्रमध्ये ९९ प्रतिशतलाई आकाशमै नष्ट गरिदिएको र केही इजरायल तथा वेस्ट बैंकमा झारिदिएको इजरायली सुरक्षा बल (आईडीएफ) ले दाबी गरेको छ । आईडीएफका अनुसार इरानको क्षेप्यास्त्र आक्रमणमा एक जनाको मृत्यु भएको छ भने केही घाइते छन् ।
१८ वर्षदेखि इजरायलको नतानियामा ‘केयरगिभर’ का रूपमा कार्यरत गीता सुवेदीले मंगलबारको रातलाई जीवनकै सबैभन्दा अत्यासलाग्दो रूपमा सम्झिइन् । ‘मैले मंगलबार साँझ जे भोगें, त्यस्तो पहिले कहिल्यै भएको थिएन,’ उनले भनिन्, ‘इजरायल नै थर्किने गरी लगातार साइरन बजिरह्यो । छिनछिनमा विस्फोटको ठूलो आवाज आउँथ्यो । आधा घण्टा त निकै अत्यासलाग्दो भयो ।’
सुवेदीका अनुसार मंगलबार साँझ आकाश आगोको झिल्काले ढाकेको जस्तो देखिएको थियो । ‘लेबनान र गाजापट्टीबाट मिसाइल आउँदा खासै डर हुँदैनथ्यो । इरानबाट आएको मिसाइलको त आवाज नै अर्को थियो । बम बारुदमुनि बसिरहेको जस्तो लाग्यो,’ उनले भनिन् । सुवेदीले गत वर्ष अक्टोबर ७ मा पनि आफू आत्तिएको तर यसपालि झनै डरलाग्दो भएको बताइन् । गत अक्टोबर ७ मा हमासले इजरायलमाथि आक्रमण गर्दा १० नेपालीसहित करिब १२ सय जनाको मृत्यु भएको थियो ।
इजरायलमा कार्यरत बेनु भट्टराईले आकाशबाट तारा झरे जसरी मंगलबार सुलुलु क्षेप्यास्त्र खसिरहेको आफूले देखेको बताइन् । ‘साइरन बजेपछि म बाहिर निस्किएकी थिएँ । आकाशभरि छ्याप्पै मिसाइल देखिए । मिसाइल जमिनमा झरेर पड्किँदा म बसेको घर नै हल्लिएको थियो,’ उनले सुनाइन्, ‘घरमा बंकर छैन । टेबुलमुनि लुकें ।’
इजरायलमा करिब ४५ सय नेपाली ‘केयरगिभर’ का रूपमा कार्यरत छन् । त्यसमा सबैभन्दा बढी महिला छन् । कृषि क्षेत्रमा काम गर्दै सिक्न गएका सबै विद्यार्थी गत वर्षको हमास हमलापछि स्वदेश फिरेका थिए । त्यसपछि कृषि क्षेत्रमा नयाँ श्रमिकलाई औपचारिक रूपमा लगिएको छैन ।
गैरआवासीय नेपाली संघ इजरायलका अध्यक्ष श्रीकृष्ण भण्डारीले नेपालीहरू सुरक्षित भए पनि त्रासमा बस्नुपरेको बताए । बाहिरी क्षेत्रबाट प्रहार गरिएको क्षेप्यास्त्रलाई रोक्ने वा निस्तेज पार्ने इजरायलको सुरक्षा प्रणालीमा विश्वास गरेर बस्नुपर्ने अवस्था रहेको उनको भनाइ छ । ‘मंगलबारको आक्रमणले हामी सबै डराएका छौं । इजरायलले हामीलाई सुरक्षा दिन्छ भन्ने सबै नेपालीको बुझाइ छ । तर मंगलबारको जसरी मिसाइल फेरि पनि आइरह्यो भने घर फर्कनुपर्ने हुन्छ ।’ गत वर्ष हमासले अप्रत्याशित हमला गर्दा इजरायलको सुरक्षा प्रणालीले काम गरेको थिएन ।
इजरायलमा ‘आइरन डोम’, ‘डेभिड्स स्लिङ’ र ‘तीर प्रणाली’ मार्फत क्षेप्यास्त्रको प्रतिरक्षा गरिन्छ । एकैपटक ११ सय क्षेप्यास्त्रलाई निस्तेज पार्न सक्ने दाबी गरिएको छ । ‘इजरायलको यही प्रतिरक्षा प्रणाली देखेर हामीलाई बस्न आँट आएको हो,’ नतानियामा रहेकी सुवेदीले भनिन्, ‘अब इरान–इजरायलको तनाव कसरी अगाडि बढ्छ, यसले हाम्रो रोजगारीको भविष्य तय गर्छ ।’
नतानियाबाट करिब दुई सय किलोमिटरको दूरीमा रहेको लेबनानको बेरुतमा घरेलु श्रमिकका रूपमा कार्यरत माया तामाङ पनि आत्तिन थालेकी छन् । उनी बेरुत–राफिक हरिरी अन्तर्राष्ट्रिय विमानस्थल नजिकै कार्यरत छिन् । इजरायली सेनाले लेबनानमा रहेको हेजबुल्लाहलाई निसाना बनाई क्षेप्यास्त्र प्रहार गरिरहेको छ । उसले दक्षिणी लेबनानमा ‘ग्राउन्ड अपरेसन’ पनि तीव्र बनाएको छ । इजरायली सेनाले त्यहाँका ५१ वटा गाउँ खाली गरी उत्तरतिर जान स्थानीय बासिन्दाका लागि सूचना जारी गरेको छ । त्यस क्षेत्रबाट एक लाख मानिस बेरुत पुगिसकेका छन् । इजरायलले बेरुतको मध्यसहरमै बुधबार राति क्षेप्यास्त्र प्रहार गरेको थियो, जसमा ६ जना मारिए । इजरायलले १८ वर्षपछि मध्यबेरुतमा क्षेप्यास्त्र हानेको हो ।
बेरुत आसपासमा कम्तीमा एक हजार नेपाली महिला घरेलु श्रमिक रहेको अनुमान छ । ‘हिजोअस्तितिर खासै डर लाग्दैनथ्यो । अब साह्रै डर लाग्न थाल्यो,’ तामाङले कान्तिपुरसँग भनिन्, ‘रातभरि ढ्याङ–ढ्याङ मिसाइल झरेको आवाज आउँछ । घर थर्केको थर्क्यै छ । एयरपोर्टतिर धूवैधूवाँ देखिन्छ ।’ जोखिम बढ्दै गए स्वदेश फर्कने तामाङले बताइन् । ‘यूके–क्यानडातिरका मानिसलाई निकालिसकेको सुन्छु । अब भारतीय र नेपाली बाँकी छौं । हामीलाई पनि नेपाल सरकारले निकाल्छ कि ?’ उनले भनिन्, ‘भारतबाट प्लेन आयो भने त्यसैमा नेपालीलाई पनि लैजान्छ भन्छन् ।’
१६ वर्षदेखि बेरुतमा कार्यरत स्याङ्जाकी सरु गुरुङले रातको समय बिताउन कठिन हुने गरेको बताइन् । ‘बुधबार राति खाना खाएर कोठामा नै बसिरहेकी थिएँ । एक्कासि १५ मिनेटको दूरीमा रहेको घरमाथि क्षेप्यास्त्र खस्यो । घरहरू हल्लिए,’ उनले भनिन्, ‘हरेक रात कुनै न कुनै घरमा क्षेप्यास्त्र खसिरहेको छ । ठूलठूलो आवाज आउँछ । यहाँ जुन घरलाई निशाना बनाइएको हुन्छ, त्यही घर खाली गर्न केही मिनेट अगाडि मात्रै मोबाइलमा म्यासेज आउँछ । आफू सुतेका बेला म्यासेज आउँछ कि भन्ने डर लाग्छ, निद्रा नै पर्दैन ।’
लेबनानस्थित अवैतनिक नेपाली महावाणिज्यदूत मोहम्मद गोजायलले नेपाली श्रमिकको बाहुल्य रहेको लेबनानको उत्तरी क्षेत्रमा कुनै घटना नभएको बताए । ‘लेबनानको दक्षिणी क्षेत्रमा इजरायली सैन्य कारबाही तीव्र छ, उत्तरी क्षेत्र शान्त छ,’ उनले भने, ‘वर्तमान अवस्थाबारे हामीले विभिन्न माध्यमबाट सूचना प्रवाह गरिरहेका छौं । नेपालीलाई कुनै सहयोग चाहिए सम्पर्कमा आउन भनेका छौं । अहिलेसम्म नेपालीले कुनै आपत्कालीन सहयोग खोजेका छैनन् । सबैजसोले वर्तमान सुरक्षाको स्थिति र आइपर्न सक्ने जोखिम र तयारीबारे सोधपुछ गरिरहेका छन् । हामी अहिलेको स्थितिलाई नजिकबाट अनुगमन गरिरहेका छौं ।’
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार विभिन्न देशले आफ्ना नागरिकलाई लेबनानबाट बाहिर निकाल्ने प्रयास गरिरहेका छन् । अमेरिका, क्यानडा, फ्रान्स, चीनलगायत देशले आफ्ना नागरिकलाई लेबनान छाड्न आग्रह गरेका छन् । ती देशले आफ्ना नागरिकका लागि सरकारी चार्टर उडान र व्यावसायिक उडानको बन्दोबस्त मिलाइरहेका छन् । उनीहरूले उद्धारका लागि साइप्रस र टर्कीलाई ट्रान्जिट बिन्दुका रूपमा हेरिरहेका छन् । अमेरिकाले आफ्ना नागरिक उद्धार गर्न दर्जनौं अमेरिकी सेना साइप्रसमा तैनाथ गरेको छ । लेबनानमा झन्डै ८६ हजार अमेरिकी नागरिक छन् । बेलायतले बिहीबार बेरुतबाट एक सय ५० नागरिकलाई उद्धार सुरु गरेको छ । उसले साइप्रसबाट चार्टर उडान गर्ने तयारी गरेको छ ।
अस्ट्रेलियाले ५ सय जनालाई उद्धार गर्न व्यावसायिक सिट सुरक्षित गरिसकेको छ । चीनले दुई सय नागरिकलाई उद्धार गरिसकेको छ । क्यानडाले ८ सय जनाको सिट सुरक्षित गर्नुका साथै चार्टर उडानका लागि साइप्रस, ग्रिस र टर्कीसँग सम्झौता गरेको छ । स्पेन, नेदरल्यान्ड्स, दक्षिण कोरियालगायतका देशले पनि आफ्ना नागरिकलाई स्वदेश ल्याउन लेबनानमा सैन्य विमान तैनाथ गरिरहेका छन् ।
परराष्ट्र मन्त्रालयले लेबनानमा कार्यरत नेपालीले उद्धार गर्न नभनेको र उनीहरूले चाहेको अवस्थामा सरकार उद्धार गर्न तत्पर रहेको जनाएको छ । ‘अहिलेसम्म लेबनानमा कार्यरत नेपाली सुरक्षित छन् । उहाँहरूले उद्धार चाहियो भन्नुभएको छैन,’ परराष्ट्रका प्रवक्ता अमृतबहादुर राईले भने, ‘उहाँहरूले उद्धार चाहनुभयो भने सरकार उद्धार गर्न तयार छ ।’ प्रवक्ता राईले उद्धारका लागि सबै तयारी भने गरिएको बताए ।