आन्तरिक रोजगार प्रवर्द्धन दशकमा थप रोजगारी सिर्जना हुन्छ : श्रममन्त्री भण्डारी

11 Mar, 2025

होम कार्की

काठमाडौँ — श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सोमबार घोषणा गरिएको राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गर्ने बताएका छन् ।

पाँचौं रा‍ष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादनशील रोजगारी प्रवर्द्धनका लागि राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रम शुभारम्भ गरेका थिए ।

‘आन्तरिक श्रम बजारमा मर्यादित रोजगारी सिर्जनाका लागि यो एउटा यात्रा हो,’ श्रम मन्त्री भण्डारीले सम्मेलनमा सम्बोधन गर्दै भने, ‘मुलुकमा छाएको निराशा रोजगारीसँग जोडिएको छ । हामी बाध्यात्मक अवस्थामा वैदेशिक रोजगारीमा पठाइरहेका छौं । अगामी १० वर्षभित्र उद्यमशीलता बढाउँदै सरकारले श्रमशक्तिको न्यायोचित हिसाबले मूल्यांकन गर्नेछ ।’

उनले आन्तरिक रोजगार प्रवर्द्धन दशक (२०८२/०८३ देखि २०९१/०९२) मा निजी क्षेत्रको प्रवर्द्धन र विस्तारमार्फत थप रोजगारी सिर्जना गर्ने प्रतिबद्धता जनाए । यसका लागि उद्यमशीलता र रोजगारी सिर्जना गर्ने कार्यलाई प्रोत्साहन, साना तथा मझौला उद्योग प्रतिष्ठानका लागि प्रभावकारी आर्थिक र मौद्रिक वातावरण बनाइने उनको भनाइ छ । व्यापार प्रवर्द्धन सेवाको विस्तार, स्वदेशी वस्तु तथा सेवाको प्रयोग र प्रवर्द्धन, स्वरोजगार तथा उद्यमशीलता विकासको प्रवर्द्धन, स्टार्टअप स्किमलाई प्रोत्साहन गरिने मन्त्री भण्डारीले बताए ।

वित्तीय सहजीकरण, स्थानीय तहमा सार्वजनिक निजी साझेदारी स्थापना, श्रम बजारको मागबमोजिम निजी क्षेत्रसँगको सहकार्यमा प्राविधिक तथा व्यावसायिक शिक्षा/तालिम, एकीकृत श्रम बजार व्यवस्थापन प्रणालीको निर्माण तथा प्रयोग गरिने उनको भनाइ छ ।

श्रममन्त्री भण्डारीले निजी क्षेत्रमा काम गर्ने श्रमिकको सामाजिक सुरक्षाको सुनिश्चिता गरिने बताए । ‘ नेपालमा कम तलब हुँदाहुँदै सरकारी रोजगारीलाई मात्रै रोजगारी मानिरहेका छौं । किनभने सरकारी जागिरले पेन्सनलाई सुनिश्चित गरेको छ,’ उनले भने, ‘यसको विकल्पमा निजी क्षेत्रमा कार्यरत श्रमिकले पनि पेन्सन पाउने गरी सामाजिक सुरक्षा कोषलाई स्थापना गरिएको छ । यसमा सबै अनौपचारिक क्षेत्रलाई औपचारिक क्षेत्रतर्फ ल्याइरहेको छ ।’

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024