११ कात्तिक, काठमाडौं । सरकारले आन्तरिक रोजगारी प्रवर्द्धन गर्न श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा छुट्टै महाशाखा स्थापना गर्ने तयारी गरेको छ ।
श्रम मन्त्रालयले आफ्नो संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएन्डएम सर्भे) का क्रममा आन्तरिक रोजगार महाशाखा स्थापना गर्ने तयारी गरेको हो ।
अहिले पनि मन्त्रालयमा रोजगार व्यवस्थापन महाशाखा छ । यस अन्तर्गत वैदेशिक रोजगार शाखा र रोजगार समन्वय तथा सूचना शाखा छन् ।
महाशाखाले आन्तरिक रोजगार प्रर्वद्धनसम्बन्धी राष्ट्रिय नीति, कानुन, मापदण्ड, नियमन र आन्तरिक एवम् वैदेशिक रोजगारसम्बन्धी ऐन नियमहरुको तर्जुमा, संशोधन, विधेयक तथा नियमावलीहरु तयार गरी पेश गर्ने जिम्मेवारी पाएको छ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका रोजगारसम्बन्धी प्रतिवेदन संकलन, प्रकाशन तथा वितरण, श्रमशक्ति, श्रम बजार, आन्तरिक तथा वैदेशिक रोजगार एवं बेरोजगारी सम्बन्धी अध्ययन, अनुसन्धान, तथ्यांक सङ्कलन, विश्लेषण लगायत सूचना विश्लेषणका काम पनि यही महाशाखाबाटै हुँदै आएको छ ।
विद्युतीय श्रम तथा रोजगार सूचना प्रणालीको स्थापना र व्यवस्थाप, श्रमशक्ति सर्वेक्षण, रोजगार सूचना सेवा तथा श्रमिक आपूर्ति काम, र आन्तरिक तथा वैदेशिक रोजगारको सूचना एवम् तथ्यांक अद्यावधिक गर्ने र प्रदेश तथा स्थानीय सरकारसँग समन्वयको जिम्मेवारी पनि रोजगार व्यवस्थापन महाशाखाले पाएको छ ।
महाशाखाले आन्तरिक रोजगारीको क्षेत्रमा कार्यरत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरकारी तथा गैरसरकारी संस्थाहरुको लगत राख्ने, आन्तरिक रोजगारी प्रवर्द्धन गर्ने उद्देश्यले वैदेशिक सहायतामा सञ्चालित कार्यक्रम तथा आयोजनाहरुको सञ्चालन, समन्वय, अनुगमन तथा मूल्याकन गर्ने काम गर्दै आएको छ ।
त्यस्तै वैदेशिक रोजगारीबाट फर्केका कामदारहरुको दक्षता उपयोग गर्न राष्ट्रिय आवश्यकता अनुसारका नीति तथा रणनीति तर्जुमा गरी कार्यान्वयन गर्न पेश गर्ने काम पनि यही महाशाखाबाट हुँदै आएको छ ।
आन्तरिक रोजगार प्रवर्द्धनका लागि निजी तथा गैरसरकारी क्षेत्रसंगको सहकार्य एवं समन्वय, न्यूनतम रोजगार प्रत्याभूतसम्बन्धी नीति, योजना तथा कार्यक्रम तर्जुमा, कार्यान्वयन, अनुगमन तथा मूल्यांकनसहित श्रम, रोजगारी, बेरोजगारी, वैदेशिक रोजगारी तथा रोजगारका अवसरसम्बन्धी अध्ययन, अनुसन्धान र विश्लेषण गर्ने काम पनि रोजगार व्यवस्थापन महाशाखाकै हो ।
तर, यो महाशाखा मूलतः वैदेशिक रोजगारीका काममा संलग्न हुनु परेपछि मन्त्रालयले नयाँ महाशाखा स्थापना गर्ने गरी ओएण्डएम तयारी गरिरहेको श्रम मन्त्री शरतसिंह भण्डारीले जानकारी दिए ।
‘रोजगारी सिर्जना गर्ने मूल जिम्मा यो मन्त्रालयलाई छैन, तर श्रम बजारका अवसरहरुको सिर्जना गर्न आवश्यक समन्वय गर्ने काम नयाँ महाशाखा निर्माण पछि अझै प्रभावकारी हुन्छ’, उनले भने, ‘विशेषतः देशभित्रै युवालाई रोजगारी दिलाउन श्रम मन्त्रालयले जे जति गर्न सक्छ, त्यसका लागि छुट्टै महाशाखा बनाउन लागेका हौं ।’
यो पछि वैदेशिक रोजगार हेर्नसमेत छुट्टै महाशाखा स्थापना हुने देखिएको छ । सरकारले वैदेशिक रोजगार मामिला हेर्ने र आन्तरिक रोजगार हेर्ने मामिला हेर्ने गरी सहसचिवको नेतृत्वमा छुट्टाछुट्टै महाशाखा तयार गर्न लागेको हो ।
सरकारले पटक–पटक वैदेशिक रोजगारीबाट फर्कनेहरूलाई रोजगारीमा आवद्ध गर्ने, कृषियोग्य क्षेत्रमा रोजगारी सिर्जना गर्ने, जमिनको उपलब्धता, पुँजी, प्रविधि र बजारको व्यवस्था गर्दै रोजगारी प्रवद्र्धन गर्ने बताउँदै आएको छ ।
वर्षैसाल नीति तथा कार्यक्रम र बजेटमार्फत हुने घोषणा कार्यान्वयन भने हुन सकेको छैन । देशबाहिर रोजगारीका अवसरहरू खुम्चिँदै जाने, असुरक्षा पनि हुँदै जाने र मुलुकभित्रै आर्थिक तथा रोजगारमूलक गतिविधि बढाउन सकिने स्थिति भएकाले मन्त्रालयमा छुट्टै महाशाखा बनाएर काम गर्न लागिएको मन्त्रालयका एक अधिकारीले बताए ।
उनका अनुसार सरकारले अघिल्लो वर्षबाट नै बेरोजगारलाई न्यूनतम रोजगारीको ग्यारेन्टी गर्ने भन्दै ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ असफलजस्तै भएकाले नयाँ अवधारणका काम गर्न मन्त्रालयकै संरचनात्मक परिवर्तन र्गा लागिएको उनले बताए ।
‘स्थानीय तहमा रोजगारी सिर्जना गर्नेगरी कार्यक्रम सुरु भएको छैन, देशशभित्रै रोजगारी सिर्जनाका लागि अन्तरमन्त्रालय समन्वयको काम भएको छैन’, उनले भने, ‘विशेष कार्यक्रम ल्याएर वा मन्त्रालयहरूले सञ्चालन गर्ने रोजगरा सम्बद्ध कार्यक्रममा बेरोजारलाई जोड्ने गरी काम गर्न यस्तो महाशाखा आवश्यक देखिएको हो ।’
कृषिजन्य उद्यम व्यवसाय, स्वास्थ्य पूर्वाधार तथा अन्य ग्रामीण विकासका पूर्वाधारसम्बन्धी आयोजना र प्रधानमन्त्री रोजगारी कार्यक्रम लगायतबाट रोजगारी सिर्जना गर्न नयाा महाशाखाले अधिकतम प्रयत्न गर्नसक्ने अधिकारीहरुको दाबी छ ।
श्रम मन्त्रालयले रोजगारी सर्जना गर्ने भन्दा पनि सम्भाव्य क्षेत्रहरूको पहिचान गरेर कसरी उत्पादनशील रोजगारी सिर्जना गर्नेभन्ने पक्षबाट मन्त्रालयले प्राथमिकतामा साथ काम गर्ने योजना बनाएको छ ।
व्यवसायिक कार्ययोजनाका आधारमा स्वरोजगार बन्न चाहानेलाई पनि सरकारले ल्याएका प्रोत्साहनका लागि विभिन्न कार्यक्रमहरुलाई प्रभावकारी बनाइने अधिकारीहरुको दाबी छ ।
मन्त्रालयका सहायक प्रवक्ता तथा उपसचिव कविराज उप्रेती आन्तरिक रोजगारीलाई बढावा दिने गरी मन्त्रालयमा छुट्टै महाशाखा स्थापनाको कामलाई पहिलो प्राथमिकतामा राखिएको बताउँछन् ।
‘आन्तरिक रोजगारीका क्षेत्रमा आवश्यक काम गर्न मन्त्रालयले छुट्टै महाशाखा बनाउन खोजेको हो’, उनले भने, ‘यसअनुसार छिट्टै मन्त्रालयको संगठन तथा व्यवस्थापन सर्वेक्षण टुंगिन्छ ।’