आन्तरिक रेमिट्यान्स खुला गर्न दबाब

7 Sep, 2023

काठमाडौँ — नेपाल राष्ट्र बैंकले सात महिनाअघि रोक लगाएको आन्तरिक रेमिट्यान्स कारोबार खुला गर्न सरोकारवालाले लबिइङ सुरु गरेका छन् । उक्त कारोबार बन्द हुँदा मुलुकभित्रै एक स्थानबाट अर्को स्थानमा पैसा पठाउने सुविधाबाट वञ्चित भएको भन्दै उनीहरूले यसलाई खुला गर्न अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंकलगायत निकायमा दबाब दिन थालेको स्रोतले बताएको छ ।

‘विगतमा आन्तरिक रेमिट्यान्सको नाममा हुन्डीमार्फत नेपाल भित्रिएको रकम एक स्थानबाट अर्को स्थानमा पठाउने गरेको भेटिएपछि राष्ट्र बैंकले बन्द गरेको थियो,’ स्रोतले भन्यो, ‘त्यतिबेला सञ्चालनमा रहेका केही रेमिट्यान्स कम्पनीहरूमध्ये कुल कारोबारको करिब ७० प्रतिशतले आन्तरिक रेमिट्यान्स कारोबार गर्दै आएका थिए । अहिले ती रेमिट्यान्स कम्पनी र हुन्डी कारोबारीहरूले खुलाउन दबाब दिएका हुन सक्छन् ।’ सुनलगायत विभिन्न प्रकारका अनौपचारिक कारोबारको भुक्तानी हुन्डीमार्फत हुँदै आएको र आन्तरिक रेमिट्यान्स बन्द हुँदा यस्तो भुक्तानी पनि प्रभावित भएकाले खुला गर्न निरन्तर लबिइङ चलिरहेको स्रोतको दाबी छ ।

हुन्डीमार्फत विदेशबाट आएको ‘कालो धन’ लाई नेपालमा आन्तरिक रेमिट्यान्सका रूपमा ‘सेतो’ बनाउने क्रम बढेपछि गत माघमा नेपाल राष्ट्र बैंकले रेमिट्यान्स कम्पनीलाई आन्तरिक कारोबारमा बन्देज लगाएको थियो । उक्त निर्देशनपछि रेमिट्यान्स कम्पनीले नेपालको एक स्थानबाट अर्को स्थानमा पैसाको ओसारपसार (आन्तरिक रेमिट्यान्स) गर्न पाएका छैनन् । जसअनुसार रेमिट्यान्स कम्पनी र उसका सब–एजेन्टमार्फत हुँदै आएको आन्तरिक रेमिट्यान्सका रूपमा रकम स्थानान्तरणको काममा रोक लगाइएको छ । यो व्यवस्थाले विदेशबाट नेपालमा आएको रेमिट्यान्स सम्बन्धित परिवारसम्म पुर्‍याउन भने बाधा नपुग्ने राष्ट्र बैंकले प्रस्ट्याएको छ । राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन ०७९ मार्फत गत माघमा उक्त रोक लगाएको थियो ।

रोक लगाउनुअघि एक व्यक्तिले एक दिनमा बढीमा २५ हजार रुपैयाँसम्म आन्तरिक रेमिट्यान्सका रूपमा पैसा पठाउन पाउने व्यवस्था थियो । त्यसअघि यस्तो कारोबारको सीमा प्रतिदिन र प्रतिकारोबार १ लाख रुपैयाँ रहेकामा ०७८ फागुनमा उक्त सीमा घटाएर प्रतिदिन बढीमा २५ हजार बनाइएको हो । राष्ट्र बैंकको उक्त नीतिले धेरै रेमिट्यान्स कम्पनी पनि प्रभावित भएका छन् । केही रेमिट्यान्स कम्पनीले आफ्नो वार्षिक कुल कारोबारको ७० प्रतिशतसम्म आन्तरिक रेमिट्यान्सको कारोबार गर्दै आएका थिए । सोही कारण रेमिट्यान्स कम्पनीहरूलाई उनीहरूको मुख्य काम (विदेशबाट स्वदेशमा रकम भित्र्याउने) मा केन्द्रित गराउन पनि आन्तरिक रेमिट्यान्स कारोबारमा रोक लगाइएको राष्ट्र बैंकका अधिकारीहरू बताउँदै आएका थिए ।

हुन्डीमार्फत विदेशबाट रकम आउने र रेमिट्यान्स कम्पनीमार्फत नेपालका विभिन्न स्थानमा पुग्न थालेपछि राष्ट्र बैंकले रेमिट्यान्स कम्पनीहरूलाई आन्तरिक रेमिट्यान्सको कारोबारमा रोक लगाएको थियो । हुन्डीमार्फत रेमिट्यान्स भित्रिँदा विदेशी मुद्रा नेपाल आउँदैन, विदेशमै रहन्छ । तर नेपालमा रहेका हुन्डी एजेन्टले सम्बन्धित व्यक्ति (पैसा प्राप्त गर्ने परिवार) सम्म वित्तीय प्रणालीमार्फत पैसा पुर्‍याउँछन् । यस प्रक्रियामा हुन्डी कारोबार सञ्चालक र रेमिट्यान्स कम्पनीहरूको मिलेमतो रहेको राष्ट्र बैंक स्रोतको दाबी छ । यस प्रक्रियाका लागि हुन्डी कारोबारीहरूले पिन कोडसहित नै सम्बद्ध घरपरिवारलाई पैसा पठाइरहेका हुन्छन् ।

रोक लगाउनुअघि विदेशमा हुन्डी एजेन्टलाई विदेशी मुद्रा दिएपछि त्यस दिनको विनिमय दरअनुसार नेपालमा रहेका एजेन्टले रेमिट्यान्स कम्पनीको आउटलेटमा नगद जम्मा गरिदिन्थे । त्यो पैसा सम्बन्धित व्यक्तिकै बैंक खातामा जम्मा हुन्थ्यो  । विदेशबाट पैसा पठाएको बनाउन रेमिट्यान्स कम्पनीहरूले एउटा ‘पिन कोड’ उपलब्ध गराउँथे । हुन्डी कारोबारीले त्यो ‘पिन कोड’ विदेशबाट रकम पठाउने व्यक्तिलाई उपलब्ध गराएपछि उसले आफ्नो परिवारका सदस्यलाई दिन्थे । त्यही कोडमार्फत परिवारका सदस्यले बैंकमा गएर रकम बुझ्दै आएका थिए । परिवारले बैंकमार्फत विदेशबाट रकम आएको ‘रिसिप्ट’ नै पाउँथे । यसरी हुन्डीलगायत अनौपचारिक रूपमा आएको कालो धन नेपालमा आएर बैंकिङ प्रणालीमार्फत सेतो भइरहेको पाइएपछि उक्त कारोबार बन्द गरिएको राष्ट्र बैंकले दाबी गर्दै आएको छ ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024