आठ जिल्लाका युवा वैदेशिक रोजगारीमा सबैभन्दा धेरै

26 Jul, 2024

आठ जिल्लाका युवाले वैदेशिक रोजगारीमा सबैलाई उछिनेका छन्। विशेष गरी मधेस प्रदेशका युवाले यसमा नेतृत्व लिएका हुन्। वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०८०/८१ मा सात लाख ४१ हजार २९७ जना रोजगारीका लागि बिदेसिएका छन्। त्यसमध्ये सबैभन्दा अगाडि धनुषाका युवा रहेका छन्।

धनुषापछि झापा, मोरङ, सिराहा, महोत्तरी, सुनसरी, रूपेन्देही र सर्लाहीका युवा रोजगारीको अग्रणी पंक्तिमा छन्। गत वर्ष पनि धनुषाले सबैलाई उछिनेको थियो। वैदेशिक रोजगारीमा जानेहरूको संख्या हरेक वर्ष बढे पनि अन्य जिल्लाभन्दा पछाडि नै छन्। श्रमविज्ञहरूका अनुसार तराईमा जनघनत्व बढी छ। जनघनत्वको अनुपातमा वैदेशिक रोजगारीमा जाने संख्या पनि बढी हुन्छ। त्यसैगरी ठूलो संख्यामा बेरोजगार युवा पनि त्यहीँ भएकाले तिनलाई रोजगारीको आवश्यकता हुन्छ।

वैदेशिक रोजगारीमा मलेसिया र खाडी मुलुकको प्रमुख दोस्रो भाषा हिन्दी भएकाले संवाद सहजताले पनि तराईमधेसका युवालाई तानेको श्रमविज्ञ गणेश गुरुङ बताउँछन्। ‘तराईका मानिसलाई हिन्दी भाषा सहजै आउँछ,’ गुरुङले नागरिकसँग भने, ‘खाडी मुलुकमा भाषा पनि मिल्दोजुल्दो भएकै कारण मदेसप्रदेशका बासिन्दा बिदेसिएका छन्। तराईको गर्मी वातावरणमा बसेका हुनाले पनि उनीहरूलाई खाडीको तापक्रम सहन सजिलो हुन्छ।’

मधेसका युवा पहिले कामका निम्ति भारतको हरियाणा र पञ्जाब जाने गर्थे । सन् २००० मा नेपाल सरकारले जिल्ला प्रशासन कार्यालयबाटै राहदानी दिने नीति लिएको र परराष्ट्र मन्त्रालय काठमाडौंको राहदानी विभागमा लाम लाग्नु नपरेपछि विदेश जान झनै सजिलो भएको हो।

‘हरियाणा र पञ्जाबभन्दा राम्रो सेवासुविधा र विकल्पसहितको देश मलेसिया र खाडी मुलुक भएपछि धेरै युवा विदेश जाने भए,’ गुरुङले भने, ‘मान्छेले नबुझेर पहाडी भूभागको जमिन सबै बाँझो राखेका छन्, त्यो गलत हो। अहिले तराईको जमिन पनि अत्यधिक बाँझो रहेको छ। तराईमा खेतीयोग्य जमिन धेरै छ, तर काम गर्ने जनशक्ति कम छ।’ उनका अनुसार पहिला मधेसमा एकै जनासँग धेरै जमिन हुन्थ्यो। त्यो विस्तारै विभिन्न पुस्तामा बाँडिँदा खण्डीकरण भएको छ। अहिले पहाडका मान्छे तराईको जमिन सस्तो ठानेर किनबेच गरिरहेका छन्। यसकारण पनि पहिलेजस्तो तराईमा खेतीपाती छैन। ‘सबै विदेश अनि कसले गर्ने ?’ गुरुङले भने, ‘तराईवासीको कृषिमा रुचि पनि घट्दै गएको छ।’

मधेस प्रदेशका मानिस मेहनती छन् र रुचिपूर्वक काम गर्छन्। तर, खेतीमा मेहनतअनुसार प्रतिफल नपाएपछि बिदेसिने बाटोमा लागेका छन्। ‘खेतीमा लगानीअनुसारको प्रतिफल ज्यादै न्यून भएर गयो,’ उनले भने, ‘यो जलवायु परिवर्तनले गर्दा पनि हो। बजारमा भएका बिचौलियाले गर्दा तराईबासीको मन मरेर गएको छ। खेतीबाट आउने नाफाभन्दा वैदेशिक रोजगारीमा जाँदा फलदायी भएकाले त्यहाँका युवावर्ग बिदेसिएका हुन्।’

गुरुङका अनुसार पहिला गुल्मी, अर्घाखाँची, म्याग्दी, कास्की र लमजुङका मानिस वैदेशिक रोजगारीमा जाने गरेका थिए। अहिले त्यहाँका अधिकांश मानिस बसाइँसराइ गरेर काठमाडौं उपत्यका आउने र फेरि अवसरका लागि अस्ट्रेलिया, अमेरिका र युरोपलगायत देशमा गएर उतै बस्न थालेका छन्।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीका अनुसार नेपालबाट विदेश जाने युवामध्ये सीप भएका मधेसमा धेरै छ। ‘मधेस प्रदेशका युवा धेरै मेहनती हुन्छन्,’ उनले नागरिकसँग भने, ‘तराईमा मेहनतअनुसार राम्रो आम्दानी नभएकै कारण खाडी पसेका हुन्। तराईका युवासँग सीप छ तर सीपअनुसारको मूल्यांकन नहुँदा विदेश गएका हुन्।’

अहिलेको शिक्षा प्रणालीले गर्दा पनि वैदेशिक रोजगार युवाहरूको रोजाइमा परेको संघका अध्यक्ष भण्डारीले बताए। वैदेशिक रोजगारीमा मधेसका युवाको प्रमुख गन्तव्यमा मलेसिया, साउदी अरब, कतार, संयुक्त अरब इमिरेट्स र कतार रहेका छन्। तराईका अत्यधिक मानिस गरिबीका कारण खाडी जानुपरेको ८ वर्षदेखि काठमाडौंमा बसेर अध्ययन गरिरहेका सर्लाहीका लोकेश झा बताउँछन्।

‘जग्गाजमिन धेरै भएका बाबुआमाले जग्गै बेचेर भए पनि छोरोछोरीलाई पढाउन भारत र काठमाडौंलगायत विभिन्न ठाउँमा पठाउने गर्छन्,’ उनले भने, ‘तराईमा राम्रा विद्यालय र अस्पताल छैनन्। बिहानबेलुका के खाने भन्ने परिवार थुप्रै छन्। उनीहरूलाई खानैका लागि धेरै ठाउँ धाउनुपर्ने हुन्छ। त्यसैले कमाउन विदेश जान्छन्।’

झाका अनुसार कृषिमा संलग्न व्यक्तिले पनि लगानीअनुसार उपलब्धि हासिल गर्न सकेका छैनन्। बजारमूल्य नपाए पनि सामान कम मूल्यमा बेच्नुपर्ने हुन्छ। उनी आफैं पनि यहाँ लोकसेवा पास गर्न नसकेर विदेश जाने तयारीमा रहेको बताउँछन्। विभागका अनुसार पछिल्ला वर्षमा वैदेशिक रोजगारीका लागि युएई नेपाली श्रमिकको पहिलो श्रम गन्तव्य बनेको छ। गत आव २०८०/८१ मा वैदेशिक रोजगारीमा विभागको तटथ्यांक अनुसार बढी एक लाख ९३ हजार ४३८ जना नेपाली युवा श्रम स्वीकृति लिएर युएई पुगेका छन्। युएईपछि क्रमशः साउदी अरेबिया, कतार, मलेसिया, कुवेत र बहराइन रहेका छन्।

गत वर्ष वैदेशिक रोजगारीमा धनुषा जिल्लाबाट मात्रै ३९ हजार १०९ जना गएका छन् । आव २०७९/८० मा धनुषाबाट ३९ हजार ५९७ जना बिदेसिएका थिए। वैदेशिक रोजगारीका लागि स्थानीय एजेन्टमार्फत जानेको संख्या अधिक रहेको र अधिकांश ऋण लिएर विदेश जाने गरेका छन्।

अधिकांश व्यक्तिगत सम्पर्कका आधारमा वैदेशिक रोजगारमा गएकाले ठगीको सिकार हुनुपरेको छ । सही जानकारी र सूचनाको अभाव, सीप नहुनु र एजेन्ट तथा म्यानपावर कम्पनीको चलखेलजस्ता चुनौतीले गर्दा वैदेशिक रोजगारीमा ठगीमा परेका अधिकांश युवा मधेस प्रदेशकै हुने गर्छन्। वैदेशिक रोजगारीमा ठगिने क्रम वृद्धि भए पनि धनुषा जिल्लाबाट राहदानी लिनेहरूको संख्यामा भने कमी आएको छैन।

पछिल्ला वर्षमा नेपाली युवा कामको खोजीमा युरोपेली मुलुकसमेत जान थालेका छन्। विभागको तथ्यांकअनुसार गत वर्ष क्रोएसिया, रोमानिया, साइप्रस, माल्टा, पोर्चुगललगायत मुलुकका लागि थुप्रै नेपालीले श्रमस्वीकृति लिएका छन्। श्रमस्वीकृति लिएको तथ्यांकमा भिजिट भिसामा गएर दुबईमा श्रम भिसा लिने र भारतको बाटो भएर वा अध्यागनसँग सेटिङ मिलाएर श्रम स्वीकृति नलिई युरोपेली देश जानेको संख्या सामेल छैन। वैदेशिक रोजगारीमा सबैभन्दा बढी पाँच लाख ३२ हजार १२३ जना दक्ष (सीपयुक्त व्यक्ति) विभिन्न देश पुगेका छन्।

त्यस्तै अदक्ष एक लाख ४५ हजार ५४७ जना, अर्धदक्ष ६० हजार १२३ जना, व्यावसायिक दुई हजार ७७२ जना र उच्चदक्ष ७३२ जना गत आव २०८०/८१ मा वैदेशिक रोजगारीमा पुगेका छन्। यो सबै वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर विभिन्न देश पुगेका नेपाली युवाको तथ्यांक मात्रै हो। अवैधानिक रूपमा विदेश पुगेका नेपालीको संख्या यसमा उल्लेख गरिएको छैन।

 Published on: 26 July 2024 | Nagarik

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024