आजदेखि सातै प्रदेशबाट सबैखाले श्रम स्वीकृति

9 Jan, 2023

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार कार्यालयले आजदेखि सातवटै प्रदेशबाट सबैखाले श्रम स्वीकृति लिन सकिने व्यवस्था मिलाएको छ।

वैदेशिक रोजगारमा जान चाहनेका लागि काठमाडौंबाट मात्रै प्रदान हुँदै आएको संस्थागत र व्यक्तिगत श्रम स्वीकृति सेवा आजदेखि सातवटै प्रदेशबाट प्रदान गरिन लागिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभाग बुद्धनगरले जनाएको छ।

यसै सिलसिलामा श्रम तथा रोजगार कार्यालय विराटनगर र जनकपुरबाट पनि आजदेखि संस्थागत र व्यक्तिगत श्रम स्वीकृति प्रदान गर्न लागेको विभागले जनाएको छ।

यसअघि पुनः श्रम स्वीकृति मात्रै हुँदै आएका कार्यालयबाट आजदेखि संस्थागत र व्यक्तिगत श्रम स्वीकृति पनि प्रदान हुने वैदेशिक रोजगार विभागका सूचना अधिकारी कृष्णप्रसाद भुसालले जानकारी दिए। उनले अनुसार वैदेशिक रोजगार कार्यालय पोखरा र बुटवलबाट केही समयअघिदेखि नै संस्थागत, व्यक्तिगत र पुनः श्रम स्वीकृति सेवा प्रदान हुँदै आएको छ।

उता श्रम तथा रोजगार कार्यालय सुर्खेत र कैलालीको धनगढीबाट पनि पुनः श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृति प्रदान हुन थालेको छ।

श्रम स्वीकृति लिनका लागि भौतिक रूपमा कार्यालयमै उपस्थित हुनुपर्ने र विभिन्न झन्झट हुने समस्यालाई हटाउँदै अनलाइनमार्फत नै सबैखाले श्रम स्वीकृति लिन सकिने व्यवस्था गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।

कम्प्युटर प्रणालीबाट नै निर्धारण हुने मिति र समयका आधारमा स्वीकृति प्रदान गर्ने प्रणाली भएकाले समयमै आवेदन नदिने र अन्तिम समयमा श्रम स्वीकृति लिन खोज्दा समस्या हुँदै आएको विभागको भनाइ छ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024