आजदेखि भिजिट भिसामा विदेश यात्रा गर्दै हुनुहुन्छ? यी हुन् आवश्यक पर्ने कागजात

24 Jan, 2024

आजदेखि भिजिट भिसामा विदेश भ्रमण गर्दा कम्तीमा पनि ६ महिनाको वैध अवधि भएको राहदानी हुनुपर्ने भएको छ। अध्यागमन विभागले भिजिट तथा पर्यटक भिसामा विदेश यात्रा गर्ने नेपाली नागरिकहरूका लागि सो नियम लागू गरेको हो।

विभागका अनुसार आजदेखि भिजिट भिसा वा पर्यटक भिसामा विदेश यात्रा गर्दा ६ बुँदे आवश्यक पर्ने कागजातहरू सार्वजनिक गरेको हो।

जस अन्तर्गत सम्बन्धित देशको भिसा वा अन–अराइभल भिसा प्राप्त हुने मुलुक भए प्रवेशाज्ञा चाहिने छ। यस्तै, भ्रमणमा जानेहरूले दुईतर्फी हवाई टिकट बुझाउनुपर्ने छ।

भिजिट भिसामा जाने भन्दै विदेशमा गएर समयमै नफर्किई अवैध रूपमा काम गर्ने भेटिएको भन्दै अध्यागमन विभागले कडाइ गर्दै सो नियम लागू गरेको हो।

भ्रमण अवधिभर होटल बुकिङ गरेको प्रमाण वा होटल बुकिङ नभई आफन्तसँग रहने भएमा एकाघरका तीन पुस्ताभित्रको नाता खुल्ने नागरिकता प्रमाणपत्र वा अन्य कुनै प्रमाणपत्र पेश गर्नुपर्ने, कसैको निमन्त्रणामा भएमा त्यसको पत्र वा ५०० अमेरिकी डलर बराबरको नगद सहटी भएको प्रमाण चाहिने, युएई, बहराइन, कुवेत, कतार, ओमान र साउदी अरेबियामा भिजिट भिसामा भ्रमण गर्दा अनुसूची २ बमोजिम स्वःघोषणा गर्नुपर्ने र त्यसमा भएको विवरणको प्रमाणको भार सम्बन्धित व्यक्तिमै रहने विभागले जनाएको छ।

विभागले भिजिट भिसामा जानेले समयमै स्वदेश फर्किन्छु भनेर स्वघोषणा गर्नुपर्ने पनि परामर्शमा उल्लेख गरेको छ।

विदेश जानुअघि उक्त देशको भाषा, संस्कृति र कानुनसम्बन्धी सामान्य जानकारी राखेर मात्र भ्रमण गर्न पनि विभागले अनुरोध गरेको छ।

भिजिट भिसामा नक्कली कागजात, झुट्टा विवरण समेत तयार पारी द्वन्द्धग्रस्त मुलुकहरूसम्म पुगेर अलपत्र पर्ने गरेको भन्दै अध्यागमन विभागले सचेत रहन अनुरोध गरेको छ।

भारत र बेलायती सेनामा सरकारको स्वीकृतिमा भर्ना हुने बाहेक अन्य देशका सेना वा सशस्त्र समूहमा भर्ना हुने गैरकानुनी र राष्ट्रहित विपरित भएको भन्दै यस्ता काममा जाने व्यक्तिहरूको उद्धार गर्न कठिन हुने भन्दै यसमा संलग्न नहुन अनुरोध गरेको छ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024