असोज महिनामा रेमिट्यान्स भित्रिनेमा कीर्तिमानी

20 Nov, 2023

चालु आर्थिक वर्षको असोज महिनामा रेमिट्यान्समा कीर्तिमानी कायम हुँदै एक खर्ब ३७ अर्ब रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले असोज महिनामा हालसम्मै उच्च अर्थात कीर्तिमानी रकम रेमिट्यान्स बापत पठाएका हुन्।

नेपाल राष्ट्र बैङ्कले शुक्रबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (आर्थिक वर्ष २०८०/८१) को तीन महिनाको तथ्याङ्कमा आधारित प्रतिवेदन अनुसार चालु आवको तीन महिनासम्मको अवधिमा तीन खर्ब ६५ अर्बभन्दा धेरै रेमिटन्यास भित्रिएको हो।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको साउन र भदौ महिनाको तुलनामा असोज महिनामा रेमिट्यान्स २० अर्बभन्दा धेरै रकम भित्रिएको छ। नेपालीहरूको महानपर्व दसैँ कार्तिकको पहिलो साता भएपनि विदेशीमा रहेका नेपालीले दसैँ खर्च वापतको रकम असोज महिनामा पठाएकाले पनि रेमिट्यान्स बापत उच्च रकम भित्रिएको हो।

नेपाल राष्ट्र बैंक अनुसार चालु आवको साउन महिनामा एक खर्ब १६ अर्ब र भदौ महिनामा एक खर्ब १४ अर्ब रुपैयाँ रेमिट्यान्स आएको थियो। तर,असोज महिनामा भने अन्य दुई महिनाको तुलनामा झण्डै २० अर्बभन्दा धेरै रकम रेमिट्यान्स स्वदेशमा आएको छ। नेपाल राष्ट्र बैङ्कको दशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (आर्थिक वर्ष २०८०/८१ को तीन महिनाको तथ्याङ्कमा आधारित प्रतिवेदनले पनि आर्थिक वर्ष २०७९/८० को तीन महिनाको अवधिमा भन्दा चालु आवको तीन महिनाको अवधिमा रेमिट्यान्स ३० प्रतिशतले बढेर तीन खर्ब ६५ अर्ब ३४ करोड रुपैयाँ पुगेको जनाएको छ। ‘अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स १६.८ प्रतिशतले बढेको थियो,’ प्रतिवेदनमा भनिएको छ। ‘तर, चालु आवको तीन महिनाको अवधिमा भने ३० प्रतिशतले बढेको छ।’

नेपाल आएको रेमिट्यान्स नेपाली रुपैयाँ मात्रै होइन,अमेरिकी डलरमा पनि वृद्धि भएको छ। चालु आवको तीन महिनाको अवधिमा अमेरिकी डलरमा पनि रेमिट्यान्स २५.९ प्रतिशतले वृद्धि भएर २ अर्ब ७६ करोड अमेरिकी डलर पुगेको छ। यद्यपि गत आवमा भने अमेरिकी डलरमा रेमिट्यान्स भने ७.९ प्रतिशतले बढेको थियो।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024