सीता शर्मा
काठमाडौँ, जेठ १३ गते । असार १ गतेदेखि भैरहवाबाट पनि श्रम स्वीकृतिसम्बन्धी सम्पूर्ण सेवा सुरु हुने भएको छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट जेठ २ देखि अन्तर्राष्ट्रिय उडान सुरु भएसँगै वैदेशिक रोजगारीमा जानेका लागि श्रम स्वीकृतिका सम्पूर्ण काम भैरहवाबाट सुरु गर्न लागिएको हो ।
उक्त सेवा सञ्चालनका लागि वैदेशिक रोजगार विभागले ताहाचलस्थित वैदेशिक रोजगार कार्यालय काठमाडौँले दिँदै आएको सेवालाई आफ्नो शाखा स्थापना गरेर त्यहीबाट वैदेशिक रोजगारीमा जान आवश्यक पर्ने सम्पूर्ण सेवा उपलब्ध गराउने गरी तयारी गरेको जनाइएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको रोजगार व्यवस्थापन महाशाखाका सहसचिव राजिव पोखरेलले भैरहवाबाट अन्तर्राष्ट्रिय उडान सुरु भएसँगै रोजगारीका लागि विदेश जानेलाई सहज गराउने उद्देश्यले परीक्षणका रूपमा श्रमका सेवा दिने तयारी गरेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “ताहाचलकै एउटा युनिट गएर विमानस्थल परिषद्मै रहेर श्रम स्वीकृतिका सेवा परीक्षणका रूपमा सुरु गर्छ, परीक्षण सफल भएमा त्यसको आवश्यकता र मागका आधारमा विस्तार गरेर व्यवस्थित गर्दै लग्छौँ ।’
वैदेशिक रोजगारीमा जानुपूर्व गर्नुपर्ने सम्पूर्ण सेवा प्रदायक संस्थाजस्तो स्वास्थ्य परीक्षण गर्ने संस्था, अभिमुखीकरण तालिम दिने संस्था, खाडी मुलुकका लागि भिसा सेन्टरका शाखा, वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीका शाखा जेठ महिनाभित्र भइसक्ने उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार लुम्बिनी प्रदेशमा यसअघिदेखि नै सञ्चालनमा रहेको श्रम कार्यालयले विदेश जानेबाहेक स्वदेशमा काम गरिरहेका श्रमिक सुरक्षासम्बन्धी सेवा दिनेछ ।
भैरहवामा श्रम स्वीकृतिको सेवा सुरु भएसँगै वैदेशिक रोजगारीका लागि राजधानीमै आउनुपर्ने बाध्यता पनि हट्नेछ भने काठमाडौँमा रहेको हालको चापमा कमी आउने सहसचिव पोखरेलको भनाइ छ । सहसचिव पोखरेलले भैरहवा श्रम स्वीकृतिका काम सुरु गरेसँगै सोही खालको सेवा पोखरामा पनि सञ्चालन गरिने जानकारी दिनुभयो । उहाँका अनुसार पोखरामा अन्तर्राष्ट्रिय उडान सुरु गरेपछि श्रम स्वीकृतिका सबै सेवा पोखराबाट पनि दिन थालिनेछ ।
नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको जजिरा एयरवेजले साताको तीन दिन सेवा सुरु गरिसकेको छ । यो विमान कम्पनीले वैदेशिक रोजगारीको मुख्य गन्तव्यका रूपमा रहेका खाडी मुलुक र नेपाललाई जोड्ने उद्देश्यले नै सेवा सुरु गरेको हो । यसबाहेक एयर अरेबिया, भियतनाम, कम्बोडिया, थाइल्यान्डको स्माइल, ओमानको सलाम एयरलगायतका विदेशी एयरलाइन्स र नेपाली विमान सेवा कम्पनी नेपाल वायुसेवा निगम, हिमालय एयरलाइन्स र बुद्ध एयरले पनि भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्न चासो देखाएका छन् । आगामी दशैँसम्ममा भैरहवाबाट दैनिक दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय उडान हुने अपेक्षा गरिएको छ ।