काठमाडौँ — वैदेशिक रोजगारीका लागि अष्ट्रेलिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
धादिङको धुनिवेँशी नगरपालिका-८ जीवनपुर घर भई काठमाडौं महानगरपालिका-२ लाजिम्पाट बस्दै आएका २४ वर्षीय किशोर गर्तौलालाई दरबारमार्गबाट प्रहरीले पक्राउ गरेको हो ।
गर्तौलाले अष्ट्रेलिया पठाइदिन्छु भन्दै एक जना पीडितबाट १७ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।